© 2026
भैरहवा ।
निर्वाचनको माहोल तातिँदै जाँदा शिक्षा क्षेत्रका मुद्दा पनि चुनावी बहसको केन्द्रमा उभिएका छन्। रुपन्देही क्षेत्र नम्बर–३ का उम्मेदवारहरूलाई निजी विद्यालय सञ्चालकहरूले शिक्षा नीतिको स्थिरता, समान व्यवहार र प्रशासनिक सहजताबारे स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेका छन्।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिद्धार्थनगरको आयोजनामा “प्याब्सनसँग उम्मेदवार” कार्यक्रममा सहभागीहरुले मानव बिकास भनेको शिक्षा हो जब सम्म शिक्षामा लगानी हुदैन तब सम्म नागरिक सचेत हुन सक्दैनन भन्ने धारण राखेका थिए । कार्यक्रममा निजी तथा आवासीय विद्यालयहरूले भोगिरहेका समस्या र आगामी नीतिगत दिशाबारे खुला छलफल गरिएको थियो।
कार्यक्रममा निजी विद्यालय सञ्चालकहरूले बारम्बार परिवर्तन हुने शिक्षा नीति, स्थानीय तहअनुसार फरक–फरक अभ्यास, शुल्क निर्धारणसम्बन्धी अन्योल, कर तथा प्रशासनिक झन्झट, शिक्षक–कर्मचारी व्यवस्थापनका चुनौती तथा कोभिड–१९ पछिको आर्थिक असर जस्ता विषय उठाएका थिए। उनीहरूले शिक्षा क्षेत्रलाई दीर्घकालीन र स्थिर नीति आवश्यक रहेको धारणा राखेका थिए ।
उम्मेदवारहरूले शिक्षा क्षेत्रको जटिलता स्वीकार गर्दै व्यवस्थित र स्थिर नीति निर्माणका लागि सरोकारवालासँग सहकार्य गर्ने प्रतिबद्धता जनाए। निजी र सरकारी विद्यालयबीच समन्वय र समान व्यवहार हुनुपर्ने विषयमा पनि उनीहरूले सकारात्मक धारणा व्यक्त गरेका थिए ।
प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदयकुमार मल्लिकले यस्तो संवाद कार्यक्रम गत स्थानीय तह निर्वाचनदेखि सुरु गरिएको जानकारी दिए। शिक्षा क्षेत्रका मुद्दा प्रत्यक्ष रूपमा उम्मेदवारसमक्ष राख्न र निर्वाचित भएपछि प्रतिबद्धता कार्यान्वयन गराउन यस्तो कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो।
रुपन्देही क्षेत्र नम्बर–३ मा कुल ३६ जना उम्मेदवार रहे पनि कार्यक्रममा ७ जना उम्मेदवार सहभागी भएका थिए। कार्यक्रममा नेकपाका फैज अहमद, एमालेका बासुदेव घिमिरे, कांग्रेसका शुशिल गुरुङ, जनमतका बिशाल गुप्ता, स्वतन्त्रका जेबी गुप्ता, जनमोर्चाका बद्रे आलम मुसलमान र राष्ट्रिय जनमुक्तीका मोजिब अली मुसलमान सहभागी भएका थिए। आयोजकका अनुसार, कार्यक्रमले शिक्षा एजेन्डालाई चुनावी प्राथमिकतामा स्थापित गर्ने प्रयास गरेको छ।