© 2026
गुल्मी ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले जिल्ला सुरक्षा समिति गुल्मीद्वारा शुक्रबार नमुना अभ्यास (डेमोस्ट्रेशन) प्रदर्शन गरिएको छ ।
जिल्लाको छत्रकोट गाउँपालिका–४ स्थित श्रृङ्गा जनता माध्यमिक विद्यालय परिसरमा आयोजित अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा जिल्ला निर्वाचन कार्यालयको संयुक्त सहभागिता रहेको थियो ।
निर्वाचनका लागि सुरक्षार्थ खटिने सुरक्षा निकायबिच समन्वय, सम्भावित जोखिमको पहिचान र नियन्त्रणका उपायबारे व्यवहारिक अभ्यास गरिएको थियो ।
अभ्यासको प्रारम्भमा मतदान स्थलको लेआउट अनुसार सुरक्षाकर्मीको तैनाथी प्रस्तुत गरिएको थियो ।
मतदान सुरु हुनुअघि शङ्कास्पद वस्तु फेला परेको परिकल्पना अनुसार नेपाली सेनाको बम डिस्पोजल टोली परिचालन गरी उक्त वस्तु निष्क्रिय पार्ने प्रक्रिया प्रदर्शन गरिएको थियो ।
सो क्रममा मतदान अधिकृत, नेपाल प्रहरी र सेनाबिच समन्वय, चारैतिरबाट सुरक्षा घेरा हालेर नियन्त्रणमा लिने तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने अभ्यास गरिएको थियो ।
त्यसपछि मतदान स्थलमा भीड बढ्दै गएर अराजक गतिविधि सृजना भएको अवस्थाको अभ्यास गरिएको थियो । सुरुमा नेपाल प्रहरी र निर्वाचन प्रहरीले भीडलाई सम्झाई बुझाइ गरी नियन्त्रणमा लिने प्रयास गरेको देखाइएको थियो ।
परिस्थिति नियन्त्रण बाहिर जाने सङ्केत देखिएपछि सशस्त्र प्रहरी बलको मोबाइल र स्ट्राइकिङ टोली परिचालन गरी अश्रुग्याँस प्रयोगबाट भीडलाई तितरबितर पारिएको थियो ।
अभ्यासका क्रममा केही अराजक समूहले बुथ कब्जा गर्ने प्रयास गरेको परिकल्पना अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा संवेदनशील क्षेत्रको सुरक्षामा कडाइ गरिएको पनि प्रदर्शन गरिएको थियो ।
स्थिति थप तनावग्रस्त बनेपछि ‘रुल अफ इन्गेजमेन्ट’ अनुसार न्यूनतम बल प्रयोगको सिद्धान्त अवलम्बन गर्दै हवाई फायर र आवश्यक परे घुँडामुनि गोली प्रहार गर्ने अवस्था समेत अभ्यासमा समेटिएको थियो ।
यसैबिच, कडाइका साथ सुरक्षा व्यवस्था मिलाएर मतदाताले शान्तिपूर्ण रूपमा लाइनबद्ध भई मतदान गरेको दृश्य समेत प्रस्तुत गरिएको थियो ।
मतदानको समय सकिएपछि मतपेटिका सुरक्षित रूपमा सङ्कलन, मुचुल्का उठाउने र सम्भावित अवरोधलाई ध्यानमा राखी सुरक्षाकर्मीको एस्कर्टिङमा सम्बन्धित स्थानतर्फ ढुवानी गर्ने प्रक्रिया पनि अभ्यासमा समावेश गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे जिल्लामा निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्नका लागि निर्वाचन अवधिमा उत्पन्न हुनसक्ने विषम परिस्थितिलाई मध्यनजर गर्दै सबै सुरक्षा निकायहरू तयारी अवस्थामा रहेको बताए ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।