Butwal Today

बाबु योगेन्द्र ! अब आँसु नझार

९ फाल्गुन २०८२, शनिबार
अ+
अ-

मायाको संसारमा परेर तिमी छटपटिएका आवाजहरू सञ्चार माध्यमबाट सुनियो र देखियो ।

के गर्ने बाबु जो पर्‍यो, उसैले हो पीडा भोग्ने । अरूका लागि त यसरी पर्नेहरू हसिँमजाकका पात्र हुने हुन् । तिमीले साँचो प्रेम गरेछौ, प्रेम मात्र गरेनछौ, उनलाई पढाएर फल्नाकी विद्वान् श्रीमती भनेर नाम राख्नका लागि अमेरिका पनि पठाएछौँ, तर उनीबाट तिमीलाई धोका भएछ भन्ने बुझियो ।

तिम्रो कुरोको प्रतिक्रियाका लागि आएको उनको कुरो पनि सञ्चार माध्यमबाट नै सुनियो । उनले सात जन्मको कसमले गरिने विवाहको प्रेमलाई अलि हल्का पाराले लिएको जस्तो देखियो । म पैसा तिरिदिन्छु, तर मलाई डिभोर्स दिनुपर्छ रे ।

हैट् त्यो चार–चार वर्षको प्रेम फेरि श्रीमानबाट यसरी विश्वासका साथ अमेरिका पठाएको सारा कुरा उनले बिर्सिएर अति हल्का भएको देख्दा हामीलाई पनि तिमीले बोलेका कुरामा विश्वास लागेको छ ।

तर पनि तिमीले पनि अलि बढी शङ्का गर्‍यौ– कि खै अब यस बारेमा उनले पनि भन्लिन् कि । तिमी प्रति साँच्चै माया रहेछ भने पक्कै तिमी यहाँ बौलाए पनि उनले तिमीलाई खोज्दै आउन पनि सक्लिन् । यो कुरो दैवलाई नै थाहा होला ।

हेर बाबु योगेन्द्र ! संसारको सृष्टिकी कारण, चराचर जगत्की आमा नै नारी हुन् । ती नारीमा पृथ्वीमा जस्तो सहन सक्ने शक्ति हुन्छ । ती नारीमा कोमलता हुन्छ । उनका मायामा भगवान् पनि झुकेको हुन्छ ।

उनका मायाका कारणले सृष्टिको सुरुवात हुन्छ । तर तिम्रो जीवनमा त्यस्तो नभएको जस्तो देखियो । ती नारी तिम्रो मायाको सृष्टिलाई सुरुवात गर्न भन्दा पनि तिम्रो अन्त्य भएर आइछिन् क्यारे । अब उनका ठाउँमा उनै ठिक तिम्रा ठाउँमा तिमी नै ठिक भन्ने तरिकाले लाग्नुपर्छ । अब पिर गर्नुहुन्न । यस किसिमका मायाबाट तिमी मात्र ठगिएका होइनौ ।

वैदेशिक रोजगारमा गएका अधिकांश पुरुषहरू ठगिएका छन् । उनीहरूको बिचल्ली भएको छ । आउँदा न श्रीमती छिन् न सम्पत्ति । के गर्ने माता भगवती पनि यिनै नारी हुन् भने पूतना पनि यिनै नारी हुन् । दैवले पनि यिनको बारेमा जान्न सक्दैन भने हामीले कसरी जान्ने हो र यिनको बारेमा । त्यसैले अब कत्ति पनि आँसु नझार बाबु ।

केही समय अघि दाङतिरकी एक जना शिक्षिका जसको विवाह नेपाली मूलका भारतीयसँग भएको थियो, उनले ती बाबुलाई पनि तिमीलाई भन्दाअझै बढी नै तड्पाएकी मैले प्रत्यक्ष रूपमा देखेको थिएँ । ती पुरुषका अश्रुधारा वगिरहँदा उनको त्यो बोलिमा अति रुखोपनको प्रस्तुति दिएको मेरै आँखाले देखेको थियो ।

त्यसैले तिमी पनि त्यसरी अलि असभ्य भएर प्रस्तुति दिन बाध्य भएहौला । ती पुरुषले सँगै बसौँ भन्दा पनिती शिक्षिकाको माग अनुसार तुरुन्त डिभोर्स हुने प्रकृयामा छ । अम्मलका नाममा खैनी चुरोट पनि नखाने ती बाबु ती नारीबाट तिरस्कृत भएको देख्ने जो कोही अचम्ममा परिन्छ । त्यस्तै यस्तै प्रकारले एउटा तिमीलाई परेको भन्दा पनि भयानक सत्य घटनाको कथा मैले भन्दछु सुन ।

एक जना हाम्रा दाजु हुनुहुन्थ्यो । उहाँ जन्मजात शाकाहारी भएकाले चितवनतिर धेरै केटी भेटिए पनि खानपान मिलाउने भनी स्याङ्जातिर गएर विवाह गर्नुभयो । आफू अग्लो राम्रो नै हुनुहुन्थ्यो ।

बोलीमा नरमता थियो । तर उहाँले विवाह गरेर ल्याएकी ती भाउजूको बोलीमा पनि कठोरता एवम् दाइको भन्दा शरीर पनि सानो थियो । तर पनि ती हाम्रा दाजुले उनलाई धेरै माया गर्नुहुन्थ्यो । धेरै मायाका कारणले होला आफ्नो जागिरको कमाई थोरै भए पनि भाउजूलाई पढाउनका लागि काठमाडौँ लैजानुभयो । ऋण धन गरेर उनलाई योग्य गराउनुभयो ।

अझ अचम्म त के थियो भने चितवन एउटा शैक्षिक केन्द्र भए तापनि उहाँले आफ्नी श्रीमतीलाई अझै अब्बल बनाउनका लागि काठमाडौँ नै लैजानुभयो । उहाँका घरको स्थिति आर्थिक दृष्टिकोणले त्यति राम्रो थिएन ।

घरमा उहाँका बुबाको पनि जागिर थिएन भने विरामीका कारणले हजूरआमा ९ वर्षदेखि ओछ्यानमा नै हुनुहुन्थ्यो । भाइलाई पढाउनु पर्ने थियो । तर पनि उहाँले श्रीमती पढाउनका लागि धेरै ऋण धन गर्नुभयो । जब पढेर सरकारी स्तरमा ती भाउजूको नाम निस्कियो अनि ती त उहाँसँग सन्तुष्ट नभएको भन्दै डिभोर्सका लागि अदालत पो पुग्नुभयो ।

उहाँहरूले धेरै सम्झाउन खोज्दा पनि भाउजूले मान्नुभएनछ । त्यत्रो पढाएका परिवारसँग त उहाँले उल्टो अझै सम्पत्ति पनि माग गरी मुद्दा दिनुभएछ । त्यो परिवारसँग पाँच लाखको पनि सम्पत्ति नभएको अवस्थामा पच्चीस लाख त नगद मागियो ।

त्यो परिवारले दिन नसकेर दस वर्षसम्म त्यत्तिकै बस्यो । भाउजुका परिवारसँग ती दाजुका परिवारले धेरै हारगुहार गर्यो । तर कसैले पनि सुन्दै सुनेनन् । ती भाउजूका पिताजीले नै पच्चीस लाख माग गर्नुभयो । भाउजूको माइती परिवार मासु नखाने त थियो । तर पुरा दश वर्षसम्म दाजुहरूका परिवारका आँसु खायो ।

आफुलाई धार्मिक भनेर हिँड्नेहरू पनि त्यो दाजुलाई परेको अन्याय विरुद्ध चुप बसे ।ती भाउजूलाई प्रयोग गर्ने उहाँकै नालनाता रहेछन् । तिनै नाताहरूले उहाँलाई हाम्रा तीदाजुसँग डिभोर्स गराएर प्रयोग गर्ने योजनामा रहेछन् ।

विवाह नहुँदैको सम्बन्ध रहेछ उहाँसँग । यता हाम्रा दाजु चिन्ताले विभिन्न प्रकारका रोगका शिकार हुनुभयो तर ती भाउजू त्यस्तै किसिमका उहाँका मान्छेहरूलाई लिएर रमाउँदै हिड्नुभयो । अन्त्यमा केही सिप नलागेर आफु रित्तै भएर आफ्ना पिताजीले दिएको जग्गा दिएपछि मात्र ती भाउजूले दाजुलाई डिभोर्स दिनुभयो ।

दश वर्षसम्म यति तड्पाउनु भयो कि न डिभोर्स दिने न घर आउने । उहाँहरूको अवस्था देख्दा अति नै कठोर हृदय भएका मानिसहरू पनि रोए तर सिल्लीपनमा रहेका राक्षसी वृत्तिमा गएकी तीभाउजूका माइती र भाउजूलाई नै कुनै दुःखको अनुभूति भएन ।

भाउजूका माइतीका दाजुभाइ र आफ्ने सहोदर दाजुभाइले पनि सरकारी जागिर भन्ने थाहा नपाएका तथा नदेखेका अवस्थामा ती भाउजूलाई हाम्रा दाजुले आफुले ऋण धन गरी जागिर खान सक्ने योग्य बनाउनुभएको थियो । तर अन्त्यमा सम्पत्तिसहित ती भाउजू छुट्टिभिन्द भइ छाडिन् ।

त्यसैले बाबु हेर यस्तो खालको काँचो अन्याय त उहाँहरूलाई भयो भने तिमीलाई नि केही पर्न सक्छ । तर पनि अब चिन्ता नगर । त्यसले तिमीलाई माया गरिन भने अब तिमीले चिन्ता लिएर आफ्नो शरीर सुकाउनुको अर्थ छैन ।

कमसेकम तिनले तिम्रो लगानीको पैसो त फिर्ता गर्छु भनेकी छिन् नि । अब पूर्वजन्ममा तिमीले तिनीहरूको खाएको रहेछु अहिले तिर्न पर्‍यो भनेरै चित्तबुझाई गर । आफ्नो भविष्य बनाऊ । राजा भर्तृहरिलाई त धोका भएको थियो भने सर्वसाधारण हामी तिमीलाई धोका नहुने भन्ने त भएन नि पक्कै । राजा भर्तृहरिले आफ्नी रानीलाई साह्रै धेरै माया गर्थे ।

त्यसैले उनले कुनै ऋषिबाट पाएको अमर हुने फल आफ्नी रानीलाई दिएछन् । ती रानीले फेरि राजालाई माया नगरेर मन्त्रीलाई पो माया गर्ने रहिछन् । त्यसैले रानीले फेरि त्यो फल आफ्ना प्रिय मन्त्रीलाई दिइछन् ।

ती मन्त्रीले फेरि रानीलाई माया नगरेर शहरकी वेश्यालाई माया गर्ने रहेछन् । त्यसैले त्यो फल मन्त्रीले पनि वेश्यालाई दिएछन् । वेश्याले फेरि मन्त्रीलाई माया नगरेर राजालाई माया गर्ने रहिछन् ।

त्यसैले त्यो फल राजालाई लगेर दिइछन् । राजासँग त्यो फल पुनः आउँदा अचम्म मानेर अनुसन्धान गर्दा त झसङ्गै पो भएछन् । अनि त्यतिधेरै माया गर्ने रानीले दिएको धोकाले गर्दा जोगी भएर राजकाज त्यागेछन् ।

त्यसैले बाबु यो मायाबाट हामी सर्वसाधारण जनता मात्र नभएर सर्वशक्तिमान् राजा पनि हुने रहेछन् । यी संसारमा घटिरहेका घटनाले गर्दा पनि तिमीले पनि अब चित्त बुझाएर आफ्नो भविष्यको चिन्तन गर ।

उनले तिमीलाई साँच्चै धोका दिएर गएकी भए परमेश्वरले पनि राम्रै दण्ड सजाय दिनेछ । किनकि भनिएको छ – कलि, आजको भोलि । अस्तु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?