Butwal Today

प्रधानमन्त्री सुशीला कार्की बुटवलमा, सुरक्षा निकायसँग छलफल

९ फाल्गुन २०८२, शनिबार
अ+
अ-

बुटवल: प्रधानमन्त्री सुशीला कार्की बुटवल आइपुगेकी छिन्। शनिबार कार्कीले लुम्बिनी प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुख, निर्वाचनमा खटिने सुरक्षाकर्मी, सरोकारवालाहरूसँग बुटवलमा छलफलको कार्यक्रम तय भएको छ।

चुनावी माहोल बुझ्न र आवश्यक सुरक्षा रणनीति तयार गर्न प्रधानमन्त्री सुशीला कार्की शुक्रबार बुटवल आइपुगेकी हुन्। गण्डकी प्रदेशको मुस्ताङस्थित मुक्तिनाथको दर्शन गरी स्थानीय स्तरमा चुनावी अवस्था बुझ्दै प्रधानमन्त्री कार्की शुक्रबार नै बुटवल आएकी थिइन्।

प्रधानमन्त्री कार्कीले शुक्रबार नै पोखरामा गण्डकी प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरूसँग चुनावी तयारी, संवेदनशीलता र आवश्यक रणनीतिको विषयमा जानकारी लिनुका साथै छलफल गरेकी थिइन्।

प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले चुनावी वातावरणको समग्र रूपमा अध्ययन, निरीक्षण, निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारीको मनोबल वृद्धि, सरकारको चुनावी सन्देश तल्लो तहसम्म पुर्‍याउने र निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने माहोल तयार गर्नका लागि प्रधानमन्त्रीको अध्ययन निरीक्षणको कार्यतालिका अनुसार बुटवल आइपुगेको बताए।

‘शुक्रबार मुस्ताङसहित गण्डकी प्रदेशस्तरीय निरीक्षण र छलफल सकेर बुटवल आइपुगेका हौं,’ उनले भने, ‘शनिबार बुटवलमा चुनावी तयारी र सुरक्षा योजनाको विषयमा लुम्बिनी प्रदेश स्तरीय छलफल हुनेछ।’

यसअघि प्रधानमन्त्री कार्कीले कोशी प्रदेशका सोलुखुम्बु, ताप्लेजुङ, भोजपुर, इटहरीलगायतका जिल्लामा पुगेर चुनावी तयारी अध्ययन गरेर फर्केको र अन्य प्रदेशमा पनि पुग्ने गरी तयारी भएको उनले बताए। प्रधानमन्त्री कार्की शुक्रबार बुटवलस्थित नेपाली सेनाको मध्यपश्चिम पृतनाको कार्यालयमा बस्ने र शनिबारको छलफल सकेर काठमाडौं फर्किने रावलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?