Butwal Today

भूमि आयोगमा जग्गा प्राप्तिका लागि ११ लाख निवेदन

९ फाल्गुन २०८२, शनिबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रिय भूमि आयोगमा जग्गा पाउन निवेदन दर्ता गर्ने भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीको सङ्ख्या ११ लाख पुगेको छ । जग्गा माग गर्नेमा भूमिहीन दलित र भूमिहीन सुकुम्वासी तीन लाख र अव्यवस्थित बसोबासी आठ लाख रहेका आयोगले जनाएको छ ।

आयोगका विज्ञ सदस्य टेकबहादुर शाहले एकद्वार प्रणालीबाट लगत सङ्कलनका लागि स्थानीय तहसँग समन्वय र सहकार्य गरिएको जानकारी दिए । आयोग मातहतका जिल्ला समिति, सम्बन्धित पालिका तथा वडा तहसँग समन्वय गरी सबैको प्रमाणीकरण गरिने उनले बताए। भूमिहीन सुकुम्वासीको व्यवस्थापन राज्यको दायित्व भएकाले लगत सङ्कलन थालिएको उनको भनाइ छ ।

भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको सिफारिस गर्ने क्रममा स्थानीय तहले राम्रोसँग अध्ययन तथा मापदण्डको प्रक्रिया पूरा गरेपछि मालपोत कार्यालयमा जमिन भए÷नभएको लगत परीक्षण गरिने विज्ञ सदस्य शाह उल्लेख गरे । यी प्रक्रिया पूरा गरेका भूमिहीन सुकुम्बासीलाई आयोग मातहतका जिल्ला समितिले लालपूर्जाका लागि भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयलमा सिफारिस गर्ने उनले जानकारी र्दिए ।

निवेदन दर्ता गरेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारको प्रमाणीकरणका लागि आयोगले स्थानीय तहसँग समन्वय गरी काम गरिरहेको जनाएको छ । “उनीहरूलाई व्यवस्थापन गर्दा जङ्गल तथा सार्वजनिकस्थल, सांस्कृतिक सम्पदालगायत अतिक्रमण गरी बनाइएका बस्ती दिइने छैन । भूमिहीन सुकुम्बासी भन्नाले देशभर कहीँकतै जमिन नभएका परिवार तथा परिवारको आयआर्जन, स्रोत वा प्रयासबाट जग्गाको प्रबन्ध गर्न असमर्थ व्यक्ति र निजप्रति आश्रित परिवारका सदस्यलाई बुझिन्छ”, विज्ञ सदस्य शाहले भने ।

अव्यवस्थित बसोबासी भन्नाले देशको कुनै स्थानमा जमिन भएर पनि अन्यत्र कतै दशकौँदेखि आवादी गरी बसेका, जग्गा जमिन उनीहरूको नाममा दर्ता नभएका परिवारलाई परिभाषित गरिएको छ । अर्थात् कम्तीमा १० वर्षदेखि आवाद कमोत गरी घरटहरा बनाई बसोबास गरेका व्यक्ति र निजप्रति आश्रित परिवारका सदस्य उक्त वर्गमा पर्ने विज्ञ सदस्य शाहले जानकारी दिए । उनीहरूलाई तोकेको राजस्व लिएर पुर्जा वितरण गरिन्छ ।

भूमिहीन दलित राष्ट्रिय दलित आयोगद्वारा दलित भनी सूचीकृत समुदायका भूमिहीन सुकुम्बासीलाई मानिएको छ । सुकुम्बासी व्यवस्थापनका क्रममा भूमिहीन दलितलाई प्राथमिकता राखिने आयोगले जनाएको छ । आयोगले काम सम्पन्न गर्दासम्म कूल सङ्ख्या बढ्ने अनुमान गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?