Butwal Today

रुपन्देही–२: विकासको यात्रामा जनताको निर्णय

८ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

अबको १३ दिनपछि रुपन्देही २ का मतदाता सामु ऐतिहासिक अवसर आउँदै छ ।

त्यो ऐतिहासिक अवसरको सदुपयोग यहाँका मतदाताले कसरी गर्छन् ? रुपन्देही २ का मतदाताले मात्रै होइन, देशले नै व्यग्र चासोका साथ प्रतीक्षा गरिरहेको छ । रुपन्देही २ सामान्य निर्वाचन क्षेत्र होइन, यो क्षेत्रमा हुने जीत हारले सिंगो राष्ट्रिय राजनीतिलाई प्रभावित गर्ने हैसियत राख्छ ।

चर्चा झापा ५ र सर्लाही ४ को मात्रै होइन, रुपन्देही २ ले पनि सम्भावित देशको नेतृत्वकर्तालाई जिताएर पठाउने आँट र हैसियत राखेकोले यो क्षेत्र आम चासोको विषय बनिरहेको छ ।

तसर्थ रुपन्देही २ का मतदातासामु अत्यन्त छोटो समयमा सघन विवेक पु¥याउने बेला आएको छ । त्यही भएर पनि फागुन २१ नजिकिँदै जाँदा रुपन्देही क्षेत्र नं. २ को हरेक टोल, हरेक चोक, हरेक चिया पसल, हरेक पाटीघर र घर आँगनमा एउटै प्रश्न गुन्जिरहेको छ—अबको दिशा के हो ? कसलाई जिम्मा दिने भविष्य ? कसलाई सुम्पिने विकासको यात्रा ?

चुनाव त पाँच वर्षमा आउँछ, तर सबै चुनाव उस्तै हुँदैनन् । केही चुनाव केवल औपचारिक हुन्छन्, केही इतिहास र भविष्यको आधार तय गर्ने मोड । यस पटकको निर्वाचन त्यही आधार निर्माण गर्ने घडी बनेको छ रुपन्देही २ मा ।

हामी आम नागरिकका रूपमा अनुभव गर्छौँ, रुपन्देही केवल भूगोल होइन, परिवर्तन, सङ्घर्ष र आन्दोलनको साक्षी भूमि हो । यहाँका सडक, पुल, स्वास्थ्य संरचना, शिक्षा संस्था, उद्योग र सार्वजनिक संरचना हाम्रो दैनिक जीवनसँग जोडिएका छन् । यही परिवर्तनको निरन्तरतामा विकासको अर्को अध्याय जोडिएको छ ।

विगतका वर्षहरूमा बारम्बार जोडिएको नाम हो—विष्णुप्रसाद पौडेल । हामीले प्रत्यक्ष अनुभव गरेका छौँ, सडक बनाउनु मात्र होइन, सडकले व्यापार, रोजगारी र सामाजिक जीवनलाई गति दिएको छ ।

बुटवल–बेलहिया सिक्स लेन सडक हाम्रो व्यापारिक र जीवनयापनको जीवनरेखा बनेको छ । बेलहियासँगको सहज पहुँचले हाम्रो व्यापारलाई नयाँ सम्भावना दिएको छ । हामी किसान, व्यवसायी र आम नागरिकले बुटवल–नारायणगढ, बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक खण्डको फाइदा लिइरहने छौँ । पूर्व–पश्चिम यातायात सहज भएपछि सामानको ढुवानी छिटो हुने भएको छ, यात्रुहरूले समय बचाउने छन्, व्यापारिक लागत घट्ने छ ।

बुटवल–पोखरा स्तरोन्नतिले पहाड र तराईको सम्बन्ध थप मजबुत बनाउने छ । तिनाउ नदीमाथि निर्माणाधीन सिग्नेचर ब्रिजले शहरको सौन्दर्य मात्र होइन, आत्मविश्वास पनि बढाएको छ ।

स्थानीय अनुभवले देखाउँछ, रूपन्देहीको विकासले निजी क्षेत्रलाई पनि उत्साहित बनाएको छ । तिनाउ नदीको दायाँ बायाँ– क्षेत्रहरूमा केवलकार सञ्चालन भएका छन् । यस क्षेत्रका व्यवसायीहरूले लगानी बढाएका छन्, दर्जनौं पाँचतारे होटल स्थापना भएका छन्, जसले पर्यटन र रोजगारी दुवैलाई नयाँ उचाइदिएको छ ।

ज्योतिनगरको पहिरो रोकथामका लागि अरबौँको बजेट छुट्टाइएको छ, जसले स्थानीय बासिन्दाको सुरक्षा सुनिश्चित गरेको छ । कालिकापथको निर्माणले सडक दायाँबायाँ रहेका प्रत्येक सटर व्यवसायलाई रूपान्तरण गरेको छ—त्यहाँ सयौंले स्थायी रोजगारी पाएका छन् ।

यसैले हामी प्रत्यक्ष अनुभूति गर्छौँ, विकास केवल योजना र नारा होइन, वास्तविक जीवनमा असर गर्ने शक्ति हो । हामीले सुनेका छौँ, सडकमात्र होइन, सुरुङमार्गले जीवन नै बचाउँछ । सिद्धबाबा सुरुङमार्गले पहाडतर्फ जाने यात्रुका लागि जोखिम कम गर्ने छ । गाउँ–गाउँबाट दैनिक उधारो र व्यापारमा जानेहरूले अनुभव गर्नेछन्—पहिले यात्रामा दुर्घटनाको डर थियो, अहिले सुरुङमार्गले जीवन र समय दुवै जोगाएको छ ।

तिनाउ र दानव नदीमा बनेका पक्की पुलहरूले वर्षौंदेखिको त्रास घटाएका छन् । अब बालबालिकालाई स्कूल पठाउन डर लाग्दैन, महिला र वृद्ध सुरक्षित यात्रा गर्छन् ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो गौरव बनेको छ । यो केवल संरचना होइन, विश्वसँग जोडिने ढोका हो । हामीले देखेका छौ, लुम्बिनीको अन्तर्राष्ट्रिय पहिचान यसबाट अझ मजबुत भएको छ ।

लुम्बिनी विकास गुरुयोजना अन्तर्गत संरचनागत विस्तार, अन्तर्राष्ट्रिय मठ–मन्दिर क्षेत्रको विकास, बौद्ध विश्वविद्यालयको सुदृढीकरणले धार्मिक पर्यटनको सम्भावना बढाएको छ । स्थानीय व्यवसायीहरूले भन्छन्, “विदेशी पर्यटक आएपछि हाम्रो होटल, रेष्टुरेन्ट र साना पसलमा ग्राहक बढेको छ ।”

बेलहियास्थित एकीकृत जाँचचौकीले सीमा व्यवस्थापन आधुनिक बनाएको छ । बुटवलमण्डपको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्थायी औद्योगिक प्रर्दशनी स्थल निर्माण र प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रले उत्पादन र रोजगारीमा नयाँ दिशा दिएको छ । निजी क्षेत्र उत्साहित भएसँगै, व्यापारी र लगानीकर्ताले बुटवल–नारायणगढ वरिपरिको क्षेत्रमा पूँजी लगानी बढाएका छन् ।

स्वास्थ्य क्षेत्रमा पनि ठूलो परिवर्तन देखिन्छ । हामी आम नागरिकले प्रत्यक्ष देखेका छौ, बुटवलमा निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पतालले हजारौँ बिरामीलाई राहत दिनेछ । तिलोत्तमा मेडिकल कलेज, सैनामैनाको ट्रमा सेन्टर र स्तरोन्नति सहितका स्वास्थ्य चौकीहरूले उपचारलाई घर आँगनमा पु¥याएका छन् ।

हामी महिलाहरू, वृद्ध, बालबालिकासम्मले अनुभव गरेका छौँ— अब सामान्य उपचारका लागि काठमाण्डौं धाउनुपर्ने बाध्यता घटेको छ ।

शिक्षा क्षेत्रमापनि कोरिया–नेपाल पोलिटेक्निक इन्स्टिच्युटले सीपमूलक शिक्षा र रोजगारीलाई जोडेको छ । बुटवल बहुमुखी क्याम्पस, लुम्बिनी वाणिज्य क्याम्पस र कालिका क्याम्पसले गुणस्तरीय शिक्षाको वातावरण सिर्जना गरेका छन् ।

हामी आमाबुबा–आमाले देखेका छौँ, युवाहरू केवल प्रमाणपत्रको लागि होइन, वास्तविक क्षमतामा आफूलाई तयार गर्दैछन् । कृषि र सिँचाइ क्षेत्र हाम्रो जीवनको आधार बनेको छ । तिनाउ–दानव तटबन्ध, सिँचाइ परियोजना, कृषिउपज तथा थोक बजार केन्द्रले किसानलाई राहत दिएका छन् । बाढी नियन्त्रणसँगै शहर सुरक्षित बनेको छ ।

हामीले किसान साथीहरूबाट सुनेका छौँ—“पहिले पानी नपुगेर बाली सुक्थ्यो, अब नियमित सिंचाइले खेत हराभरा छन् ।” कालीगण्डकी–तिनाउ डाइभर्सन र लामिरह बहुउद्देश्यीय बाँधले दीर्घकालीन जल–ऊर्जा सुरक्षाको आधार तयार पारेको छ । सेमलार कृषि बजारले किसान र उपभोक्ताबीचको दूरी घटाएको छ ।

संस्कृति र पहिचान पनि विकाससँग जोडिएको छ । जितगढी किल्लाको संरक्षण, पुरानो बटौली क्षेत्रको जगेर्ना र संग्रहालय स्थापनाले हाम्रो इतिहास जोगाएको छ । हामी बालबालिकासँग भ्रमण गर्दा देख्छौं—नयाँ पुस्ता इतिहाससँग जोडिएको अनुभूति पाउँछ । सिद्धार्थ क्रिकेट रंगशालाले युवामा ऊर्जा थपेको छ ।

सुकुम्बासी बस्ती व्यवस्थापन र फोहोर प्रशोधन केन्द्रले सामाजिक र वातावरणीय जिम्मेवारीलाई व्यवहारमा उतारेको छ ।
हामी नागरिकका रूपमा बुझ्दछौं, नेतृत्वको मूल्यांकन केवल सत्तामा हुँदा हुँदैन ।

प्रतिपक्षमा हुँदापनि विकासको आवाज उठाउन सक्ने क्षमता आवश्यक छ । सत्ता होस् वा प्रतिपक्ष, विकास रोकिनु हुँदैन भन्ने अडानले रूपन्देहीमा स्थिरताको अनुभूति दिएको छ । राजनीति उत्तेजनामा होइन, परिणाममा देखिनुपर्छ भन्ने सन्देशले मतदाताको मन जितेको छ ।

आज रुपन्देही–२ का मतदाता भावनाले मात्रहोइन, अनुभवले बोलिरहेका छन् । हामीले बाटो देखेका छौँ, पुल चढेका छौँ, अस्पताल पुगेका छौँ, विमानस्थलबाट उडेका छौँ । विकासको अनुभूति गरेका छौँ । त्यसैले चुनावी दिन नजिकिँदै जाँदा एउटा आत्मविश्वास देखिन्छ—जसले काम गरेको छ, उसैले निरन्तरता पाउनुपर्छ भन्ने धारणा । यो विकास क्रमिक होइन न त संयोग नै; अनुभव, नीति, समन्वय र निरन्तरताको परिणाम हो ।

अधुरा सपना पूरा गर्न स्थिरता र निरन्तरता आवश्यक छ । रूपन्देहीलाई भाषणभन्दा परिणाम चाहिएको छ, वाचाभन्दा काम चाहिएको छ । सपना देख्ने मात्र होइन, पूरा गर्न सक्ने नेतृत्व चाहिएको छ । हामी आमनागरिकको दृष्टिबाट बुझ्छौं—यो चुनावमा विकासको पक्षधरलाई मतदान गर्नु नै हाम्रो साझा जिम्मेवारी हो ।

फागुन २१ मा मतदान केन्द्रमा पुग्ने प्रत्येक मतदाता केवल मतपत्रमा छाप लगाउने छैनन् । उनीहरू विगतको मूल्याङ्कन र भविष्यको सुनिश्चितता गर्नेछन् । कामले बोलेको नेतृत्व र विकासले बनाएको पहिचानको आधारमा निर्णय हुनेछ । रूपन्देहीलाई विकासको रोडमोडल बनाउन हरेक मतदाताले आफ्नो मत सुरक्षित राख्नेछ ।

स्थानीय टोलका बुज्रुकहरूले भन्छन्, “हामीले देखेका छौँ—जब सडक, पुल, अस्पताल, विद्यालय र उद्योग एकैसाथ अघि बढ्छ, तब मात्र स्थायी विकास सम्भव हुन्छ ।” हाम्रो युवा पुस्ता पनि भन्छ—“हामीलाई भाषणहोइन, काम चाहिएको छ । भविष्य सुरक्षित गर्न अनुभवी नेतृत्व आवश्यक छ ।” महिलाहरू र किसानले पनि यही धारणा व्यक्त गर्छन्—“हामीले अनुभव गरेका छौँ, विकासले निरन्तरता पाउनु पर्छ ।”

विकासलाई न त कुनै पार्टी, न कुनै समूह, न उमेर, न कुनै भाषण, न कुनै विरोधले रोक्न सक्छ ? यही अनुभव र भरोसाको आधारमा हामी प्रत्यक्ष देख्छौं—रुपन्देही–२ का मतदाताले यसपटक विकासको पक्षधरलाई मतदान गर्नेछन् । युवा, वृद्ध, महिला, किसान, व्यापारी—सबैको आशा एउटै सूत्रमा बाँधिएको छ ।

यही भरोसा, यही अनुभव र यही स्थिरताले यसपटकको निर्वाचनमा स्पष्ट विजयको संकेत दिएको छ । अब समय आएको छ—भविष्य सुरक्षित गर्न, अनुभवले प्रमाणित नेतृत्वलाई निरन्तरता दिन ।

विकासका फेहरिस्त आफै बोल्छन । रुपन्देही २ का मतदाताले निश्चितरूपमा विवेक पु¥याउनेछन् । क्षणिक ललिपपको लोभमा रुपन्देही २ ले सधैभरी पछुताउनु पर्ने अवस्था आउने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?