© 2026
लमही ।
दाङ क्षेत्र नं. १ मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी सरगर्मी तीव्र बनेको छ ।
राजनीतिक रूपमा उर्वर भूमि मानिने देउखुरी क्षेत्रअन्तर्गत पर्ने गढवा गाउँपालिकाका चार प्रमुख उम्मेदवार चुनावी मैदानमा उत्रिएपछि प्रतिस्पर्धा थप रोचक बनेको हो ।
नेपाली काँग्रेसका योगेन्द्र चौधरी, नेपाली कम्यनिष्ट पार्टीका मेटमणि चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक र राष्ट्रिय प्रजातन्त्र पार्टीका विनय बिसी चारै जना गढवा गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।
स्थानीय स्तरमा सबैको प्रभाव रहेको मानिए पनि कसैका लागि पनि जित सहज नरहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
यस क्षेत्रमा नेकपा एमालेबाट ६८ वर्षीय रेवतीरमण शर्मा घिमिरे पनि प्रमुख प्रतिस्पर्धीका रूपमा छन् ।
त्यसै गरी राष्ट्रिय जनमोर्चाका गणेशप्रसाद आचार्य र नेकपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीसहित कुल १४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मेटमणि चौधरी यसअघि निर्वाचित सांसद हुन् । २०७९ सालको निर्वाचनमा तत्कालीन नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार बनेका उनले २६ हजार ५ सय ७६ मत प्राप्त गर्दै एमाले नेतृ शान्ता चौधरीलाई पराजित गरेका थिए ।
यसअघि पनि दुई पटक निर्वाचन जितिसकेका उनी अनुभवी उम्मेदवारका रूपमा चिनिन्छन् । यस पटक भने वामपन्थी मत विभाजन हुने सम्भावना देखिएको छ । विप्लव नेतृत्वको समूहका उम्मेदवार तथा कुलप्रसाद केसीको स्वतन्त्र उम्मेदवारीका कारण उनको मत प्रभावित हुन सक्ने आंकलन गरिएको छ ।
नेपाली काँग्रेसले सह–महामन्त्री योगेन्द्र चौधरीलाई पहिलो पटक उम्मेदवार बनाएको छ । थरुहट आन्दोलनदेखि सक्रिय रहेका चौधरी क्षेत्रीय रूपमा प्रभावशाली नेता मानिन्छन् । सरकारी सेवा त्यागेर राजनीतिमा आएका उनले थारु तथा मधेसी समुदायमा राम्रो पकड बनाएको काँग्रेसको दाबी छ ।
यसअघि उनले अन्य दलबाट निर्वाचन लडे पनि सफलता हात पार्न सकेका थिएनन् । काँग्रेसले यस पटक उनलाई जिताउन विशेष रणनीति अपनाएको बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक दोस्रो पटक चुनावी मैदानमा छन् । २०७९ सालको निर्वाचनमा उनले १३ हजार ७ सय ९८ मत प्राप्त गरेका थिए । समानुपातिकतर्फ पार्टीले ११ हजारभन्दा बढी मत ल्याएको थियो ।
जेन–जी आन्दोलनपछि नयाँ राजनीतिक शक्तिप्रति जनताको आकर्षण बढेको भन्दै पाठक यस पटक जित्ने दाबी गर्छन् । तर पुराना दलहरूका अनुसार मत परिवर्तन ठूलो हुने सम्भावना कम रहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका ३२ वर्षीय विनय बिसी युवा उम्मेदवारका रूपमा मैदानमा छन् । लामो समयदेखि पार्टी संगठनमा सक्रिय उनी दुई कार्यकाल क्षेत्रीय अध्यक्ष रहिसकेका छन् । गढवामा सामाजिक क्षेत्रमा सक्रिय रहेका बिसी पहिलो पटक प्रतिनिधिसभा चुनाव लड्दै छन् ।
राप्रपाका एजेन्डा हिन्दु राष्ट्र पुनर्स्थापना, संवैधानिक राजसंस्था, राष्ट्रियता तथा धर्म संस्कृति संरक्षण लाई आधार बनाएर उनी प्रचारमा जुटेका छन् । जित कठिन देखिए पनि मत प्रतिशत बढ्ने अपेक्षा गरिएको छ ।
२०७९ सालमा दाङ क्षेत्र नं. १ मा कुल १ लाख ३३ हजार ७३४ मतदाता रहेका थिए, जसमध्ये ७३ हजार १४७ मत सदर भएको थियो । हाल थप ५ हजार २६८ मतदाता वृद्धि भएको निर्वाचन कार्यालयले जनाएको छ ।
अघिल्लो निर्वाचनको समानुपातिक मत परिणाम अनुसार एमाले १७ हजार ९६९, काँग्रेस १५ हजार ६७, माओवादी केन्द्र ११ हजार ४५२ र राष्ट्रिय प्रजातन्त्र पार्टी १ हजार ७९८ मतसहित रहेका थिए ।