Butwal Today

प्रहरीले उठायो २ करोड बढी राजश्व

७ फाल्गुन २०८२, बिहीबार
अ+
अ-

बुटवल ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गएको एक महिनामा करिब २ करोड बढी राजश्व सङ्कलन गर्न सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नेतृत्व परिवर्तनसँगै भन्सार चोरी तस्करी नियन्त्रण तथा दैनिक चेकिङलाई कडाइ गरेका कारण राजश्व सङ्कलन गर्न सफल भएको हो ।

गएको एक महिनामा भन्सार चोरी तस्करी नियन्त्रण अन्तर्गत गरेको कारबाहीबाट १ करोड ३६ लाख राजश्व सङ्कलन भएको छ । आवश्यक कागजपत्र साथमा नराखेको मापसे गरेर लापसे गरेर सवारी चलाएको भन्ने सूचनाको आधारमा गरेको सवारी साधनहरूको चेकिङ गरेको थियो ।

जसमा ३ हजार ४५ वटा सवारी चेकजाँच गर्दा कारबाही स्वरूप ५१ लाख ८६ हजार ५ सय जरिवाना गरेको हो । प्रहरीले भन्सार चोरी तस्करीमा संलग्न रहेका ७ जनालाई पक्राउ गरी कारबाही गरेको हो ।

भन्सार चोरी तस्करीमा संलग्न ३४ वटा मोटरसाइकल, एउटा छोटा हात्ती गाडी समेत नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बेलहिया पठाएको हो ।

रूपन्देही जिल्लाभित्र एक महिनामा ७१ वटा सडक दुर्घटना भएकोमा १ सय ३७ जना मानिसहरू घाइते भएका छन् भने ६ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

भारतबाट अवैध रूपमा चोरी तस्करी भएर नेपाल भित्रिएको २ सय ९७ वटा कुखुरा र कुखुरा ओसारपसारमा संलग्न रहेका ११ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएर कारबाही गरी ६ लाख ६६ हजार ५ सय बराबरको राजश्व समेत उठाउन सफल भएको छ ।

प्रहरीले एक महिनामा लागू औषध ओसार पसारमा संलग्न भएको भन्दै २१ जना विरुद्ध मुद्दा दर्ता गरेर कारबाही सुरु गरेको छ ।

प्रहरीले गाँजा २ केजी ८ सय ग्राम, ३२ ग्राम ४ सय ३० मिलिग्राम ब्राउनसुगर, नुफीन ३१ एम्पुल, टिटि स्पास्मो १० पत्ता, कोडीड १० बोत्तल, बरामद गरेको हो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयले एक महिनामा ज्यान सम्बन्धी मुद्दामा १० वटा आत्महत्या, ६ वटा चोरी, ६ वटा सङ्गठित तथा आर्थिक अपराधमा ३९ वटा, सामाजिक अपराधमा २६ वटा, महिला बालबालिका सम्बन्धितमा ४ वटा, सवारी सम्बन्धी १२ वटा, विविध ३८ वटा गरी कुल एक सय १५ वटा मुद्दा दर्ता गरी काम भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले बताए ।

जनताको शान्ति सुरक्षा, खुल्ला सिमानाबाट हुने भन्सार चोरी तस्करी नियन्त्रण, समाजमा हुने गलत क्रियाकलापको रोकथाम, लागू औषधको रोकथाम तथा संलग्नहरूलाई कडा कारबाही सञ्चालन गरिरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?