Butwal Today

नेपाल नालन्दा मा.वि.को तीन दशक पूरा

७ फाल्गुन २०८२, बिहीबार
अ+
अ-

भैरहवा ।

सिद्धार्थनगर–९ मा अवस्थित नेपाल नालन्दा माध्यमिक विद्यालयले आफ्नो ३०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बिहीबार आयोजित विशेष समारोहमा विद्यार्थी, अभिभावक, शिक्षक तथा अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

विद्यालयले कक्षा १२ सम्मको अध्ययन–अध्यापन सञ्चालन गर्दै आइरहेको छ । वार्षिकोत्सवका अवसरमा शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षामा उत्कृष्ट उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । शैक्षिक क्षेत्रसँगै अतिरिक्त गतिविधि, खेलकुद तथा विभिन्न सिर्जनात्मक विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई समेत प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजकले जानकारी दिए । समर्पण र योगदानका लागि शिक्षकहरूलाई पनि विशेष सम्मान गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक युवराज पोख्रेलले संस्थाले गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै आएको बताए । उनका अनुसार विद्यालयले पाठ्यपुस्तकमा सीमित ज्ञान मात्र नभई व्यवहारिक सीप, नैतिक मूल्य र अनुशासनमा आधारित शिक्षालाई समेत उत्तिकै महत्व दिँदै आएको छ । विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर विभिन्न सहपाठ्य तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिँदै आएको उनले उल्लेख गरे ।

आधुनिक प्रविधियुक्त कक्षाकोठा, सिर्जनात्मक गतिविधि र खेलकुद कार्यक्रममार्फत विद्यार्थीको प्रतिभा प्रस्फुटनमा विद्यालयले जोड दिएको छ । साथै नेतृत्व विकास, सामाजिक उत्तरदायित्वबोध र अनुशासन निर्माणलाई पनि शैक्षिक उपलब्धिसँगै अघि बढाइएको बताइएको छ ।

कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य, नाटक तथा अन्य सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै उपस्थित अभिभावक र अतिथिहरूलाई मन्त्रमुग्ध बनाएका थिए । रंगीन सांस्कृतिक कार्यक्रमले समारोहलाई थप जीवन्त र उत्साहपूर्ण बनाएको थियो ।

अभिभावक र समुदायको सक्रिय सहभागिताले विद्यालय र समाजबीचको सम्बन्ध अझ सुदृढ भएको विश्वास व्यक्त गरिएको छ । ३० वर्षको यात्रालाई स्मरण गर्दै विद्यालयले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?