© 2026
बुटवल ।
राष्ट्रिय स्वाधीनताका लागि नागरिक मञ्च नेपालद्वारा जितगढी किल्लामा आयोजित आसन्न निर्वाचन र राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा रुपन्देही–२ का नेकपा उम्मेदवार विश्वदीप पाण्डेले वर्तमान निर्वाचनलाई “संकीर्ण र फराकिलो राष्ट्रियताबीचको प्रतिस्पर्धा” का रूपमा व्याख्या गरेका छन्।
फागुन ७ अर्थात् प्रजातन्त्र दिवसको सन्दर्भ जोड्दै पाण्डेले २००७ सालको राणा शासनविरुद्धको आन्दोलनलाई स्मरण गरे। “रैतीबाट नागरिक बन्ने संघर्षले नै आजको नागरिक सर्वोच्चता, संविधानवाद र विधिको शासन सम्भव बनाएको हो,” उनले भने। सबै लोकतान्त्रिक आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपाङ्ग र निर्वासन भोगेकाप्रति सम्मान व्यक्त गरे।
ऐतिहासिक स्थल जितगढी किल्लामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले नेपाली पुर्खाले सीमित साधनका बाबजुद अंग्रेज शक्तिलाई परास्त गरेको प्रसंग स्मरण गरे। “नेपालको स्वाधीनता कुनै एक नायकको देन होइन, आम नागरिकको सामूहिक साहस, बलिदान र आत्मविश्वासको परिणाम हो,” उनले बताए। उनका अनुसार राष्ट्रियता भाषा, संस्कृति, इतिहास र साझा मनोविज्ञानबाट निर्माण हुन्छ। “आफूप्रतिको गौरव राष्ट्रियता हो, अरूप्रतिको घृणा राष्ट्रवाद हो,” भन्दै उनले संकीर्ण सोचबाट टाढा रहन आग्रह गरे।
पाण्डेले पञ्चायतकालीन ‘एक भाषा, एक भेष’ अवधारणालाई संकीर्ण राष्ट्रियताको उदाहरणका रूपमा उल्लेख गरे। माओवादी जनयुद्ध, दोस्रो जनआन्दोलन र मधेश आन्दोलनले राष्ट्रियतालाई बहुसांस्कृतिक र समावेशी बनाएको दाबी गर्दै उनले संघीयता, समावेशिता, समानुपातिकता, सामाजिक न्याय र धर्मनिरपेक्षता वर्तमान संविधानको मूल मर्म भएको बताए।“आजको निर्वाचन फराकिलो राष्ट्रियता जोगाउने कि संकीर्ण सोचतर्फ फर्कने भन्ने विषयमा जनताको फैसला हो,” उनले भने।
आफ्नो चुनावी एजेन्डा उल्लेख गर्दै पाण्डेले बुटवललाई आईटी हब बनाउने, कृषिको व्यावसायीकरण र बजारीकरणमार्फत गाउँमै रोजगारी सिर्जना गर्ने तथा सक्षम जनशक्ति निर्माण गर्ने योजना अघि सारे। “जनता सक्षम भए मात्रै दिगो राष्ट्रियता सम्भव हुन्छ,” उनको भनाइ थियो। वैदेशिक हस्तक्षेपबारे उनले सचेत रहन आग्रह गर्दै बलियो अर्थतन्त्र, सामाजिक एकता र सक्षम नागरिक नै त्यसको प्रतिरक्षा हुने बताए। “विदेशी हस्तक्षेपको नाममा आफ्ना कमजोरी ढाकछोप गर्ने प्रवृत्तिबाट पनि सावधान हुनुपर्छ,” उनले भने।