© 2026
काठमाडौँ ।
चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन प्रचारप्रसारसहित गीतसङ्गीतको महत्त्वपूर्ण भूमिका हुने बताए ।
मर्मस्पर्शी सन्देशमूलक र कालजयी गीतसङ्गीत प्रस्तुत भएका चलचित्रको रोजाइमा पर्ने गरेको उहाँहरूको अनुभव छ । पछिल्लो समय ‘भिडियो सेयरिङ साइट’ टिकटकमा समेत गीतसङ्गीत लोकप्रिय हुने गरेको छ । ‘प्रेम गीत’, ‘नाई नभन्नु ल’, ‘म यस्तो गीत गाउँछु’ लगायतका धेरै चलचित्र गीतसङ्गीतकै कारण सफल भएका प्रशस्तै उदाहरण छन् ।
सङ्गीतकार अर्जुन पोखरेलले चलचित्र उद्योगमा गीतसङ्गीतलाई प्रचारप्रसारको सशक्त माध्यमका रूपमा लिइए पनि यसतर्फ लगानी गर्न कन्जुस्याइँ गर्दा अपेक्षा गरिएअनुसार गुणस्तरीय चलचित्र बन्न नसकेको बताए ।
“चलचित्रमा हुने गीतसङ्गीत जति सुन्दर भयो त्यति नै चर्चा हुन्छ । गीतअनुसारको दृश्य हुनु जरुरी छ । एकल रूपमा आउने गीतभन्दा चलचित्रका गीत भव्य र फरक हुनुपर्छ । तर, पछिल्लो समय त्यसतर्फ निर्माताकै ध्यान गएको देखिँदैन”, सङ्गीतकार पोखरेलले भने ।
उनले सङ्गीत दिनुभएको ‘स्टुपिड मन’, ‘प्रेम गीत’, ‘ऐश्वर्य’, ‘म यस्तो गीत गाउँछु’ सफल हुनुको कारण गीतसङ्गीत मानिएको छ । तर, पछिल्लो समय गीतसङ्गीतलाई चलचित्रकै दृश्य राखेर पनि सार्वजनिक गर्ने गरिन्छ ।
“केही समयदेखि प्रेमकथानक चलचित्र निर्माणमा कमी आएको छ, यसले गर्दा पनि प्रेमिल गीत कम निर्माण भएका छन् । तर, जे जस्तो गीत भए तापनि त्यसलाई प्रचारको रूपमा लिएर तयार गरियो भने त्यसले चलचित्रलाई फाइदा नै पुग्छ”, सङ्गीतकार पोखरेलले भने ।
निर्देशक पुर्नेन्दु झाको पनि चलचित्रको पहिलो प्रचार नै गीतमार्फत हुने बुझाइ छ । गीतसङ्गीतकै कारण आम दर्शकलाई चलचित्रको बारेमा जानकारी हुने गरेको उनको भनाइ छ ।
“चलचित्रको प्रचारप्रसार गीतमार्फत सुर हुने प्रचलन छ । किनकि यसले पहिलो प्रभाव पार्छ । त्यसपछि अन्य श्रव्य दृश्यलगायतका सामग्री सार्वजनिक गर्ने गरेका छौँ”, निर्देशक झाले भने ।
उनले आफू निर्देशित पहिलो चलचित्र ‘संरक्षण’ को गीतको लागि होलीको माहौल सिर्जना गरेका थिए । गीतसङ्गीत लोकप्रिय नभएका चलचित्रहरू असफल पनि भएका छन् । केही थोरै चलचित्र छन्, जसमा गीतसङ्गीतको आवश्यकता देखिएको छैन ।