चितवन ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारमध्ये १९ जनाले बैङ्क कारोबारका लागि निर्वाचन कार्यालयबाट अनुमति लिएका छन् ।
जिल्लामा उम्मेदवार रहेका ६४ जनामध्ये उनीहरूले बैङ्किङ कारोबारका लागि अनुमति लिएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी नेत्रराज श्रेष्ठका अनुसार बैङ्किङ कारोबारका लागि सिफारिस लिनेमा १८ जना राजनैतिक दलका उम्मेदवार हुन भने एक जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
उनका अनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बैङ्किङ खाता अनिवार्य गरिएसँगै यसका बारेमा बुझ्न र सिफारिसका लागि आवश्यक प्रक्रियाबारे जानकारी लिन उम्मेदवार र उम्मेदवारका प्रतिनिधिहरू कार्यालय आउन थालेका हुन । उनले भने, “बैङ्किङ खाता खोल्ने विषयमा जानकारी लिन आउने क्रम बढ्दो छ ।”
निर्वाचन आयोगले राजनीतिक दल एवं उम्मेदवारबाट हुने निर्वाचन प्रचारप्रसारको लागि प्राप्त हुने स्वैच्छिक आर्थिक सहयोगको रकम र त्यसको प्रचारप्रसारको लागि राजनीतिक दल एवं उम्मेदवारहरूले गर्ने खर्चलाई मितव्ययी, पारदर्शी बनाई निर्वाचनमा सुशासन कायम गर्न बैङ्किङ खाता खोल्नुपर्ने प्रावधान ल्याएको हो ।
यस्तै जिल्लामा रहेका ११ जना उम्मेदवारले आफ्नो घोषणापत्र आयोगमा बुझाएका छन् । श्रेष्ठका अनुसार तीन जना स्वतन्त्र उम्मेदवार र आठ जना राजनीतिक दलका उम्मेदवारले आफ्नो घोषणापत्र बुझाएका हुन् । आयोगले फागुन ३ गतेसम्म उम्मेदवारहरूले आफ्नो घोषणापत्र आयोगमा बुझाउन आग्रह गरेको थियो ।
यसैबिच प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सामग्रीहरू निर्वाचन कार्यालयमा आउन थालेका छन् । आयोगले जिल्ला निर्वाचन कार्यालयहरूमा सामग्री पठाउन सुरु गरेको हो । चितवनमा एक हजार २५० मतपेटिका आइपुगेको श्रेष्ठले जानकारी दिए । अब निरन्तर रूपमा निर्वाचनका सामग्री आउने उनले जानकारी दिए।
जिल्लाका १६२ मतदान स्थल र ४९४ मतदान केन्द्र रहेका छन् । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा चार लाख ४२ हजार ८२ जना मतदाता छन् । यसमा दुई लाख १७ हजार ३१४ पुरुष र दुई लाख २४ हजार ७६६ महिला एवं दुई तेस्रो लिङ्गी छन् । रासस