Butwal Today

कपिलवस्तु–३ मा दलबदलको चक्र: पुराना नेता, नयाँ झण्डा

६ फाल्गुन २०८२, बुधबार
अ+
अ-

चन्द्रौटा । प्रतिनिधि सभा सदस्य निर्वाचनले चुनाबी माहोल तात्दो छ । कपिलवस्तु–३ का चन्द्रौटा, कृष्णनगर, विजयनगरलगायतका गल्लीहरू, चिया पसलमा चलिरहेका राजनीतिक बहस, गाउँ–टोलमा बढ्दो भेटघाट र घरदैलो अभियानले जताततै चुनाबी चर्चा छन् ।

यो क्षेत्र केवल उम्मेदवारको प्रतिस्पर्धा मात्र होइन, दल फेरबदल, नयाँ राजनीतिक शक्तिको उदय र साना दलको प्रभावले बनेको जटिल चुनावी अंकगणितको प्रयोगशाला जस्तै बनेको छ ।

निर्वाचन आयोगका अनुसार जिल्लामा सबैभन्दा धेरै उम्मेदवार कपिलवस्तु–३ मा छन् । तर मतदाता भने अन्य दुई निर्वाचन क्षेत्रको भन्दा कम छन् । कपिलवस्तु क्षेत्र नम्बर–३ बाट दलका १३ र २३ जना स्वतन्त्र गरि ३६ जना प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रतिस्प्रर्धामा छन्। कुल १ लाख १८ हजार ४ सय ४ मतदाता रहेका छन् । धेरै उम्मेदवार दर्ता भएको क्षेत्रमध्ये यो क्षेत्र विशेष चर्चाले रोचक बनेको छ ।

पुराना अनुहार, नयाँ राजनीतिक दल

मुख्य प्रतिस्पर्धाको केन्द्रमा नेकपा (एमाले) का उम्मेदवार बिरेन्द्रकुमार कनौडिया र नेपाली कांग्रेसका अभिषेक प्रताप शाह छन् । यी दुई नेताबीचको प्रतिस्पर्धा कपिलवस्तु–३ का मतदाताका लागि नयाँ होइन । तर यसपटक राजनीतिक समीकरण नै फरक छ। ०६३ सालदेखि राजनीतिमा प्रवेश गरेका शाह ०७४ सालमा कांग्रेस प्रवेश गरेका हुन् ।

उनी पहिलोपटक ०६३ सालमा प्रतिनिधिसभा सदस्य मनोनित भएका थिए । २०६४ र ०७० मा मधेशी जनअधिकार फोरमबाट संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए । कांग्रेस प्रवेश गर्नुअघि उनी फोरमको सहमहामन्त्री थिए। उनी २ दशकदेखि राजनीतिक मैदानमा छन् ।

कनोडिया विगतमा कांग्रेसका प्रभावशाली नेता थिए । कांग्रेसबाट तत्कालीन जिल्ला विकास उपसभापति, संविधान सभा सदस्य र लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित कनोडिया अहिले एमालेबाट उम्मेदवार बनेका छन् ।

गत माघ ६ गते उम्मेदवारी दर्ता हुनुभन्दा दुई दिनअघि मात्रै उनी एमाले प्रवेश गरेका थिए। प्रदेशसभामा निर्वाचित भइसकेका उनी अन्तिम समयमा एमाले प्रवेश गरेपछि स्थानीय राजनीतिमा हलचल मच्चिएको थियो । दल परिवर्तनले उनका समर्थक र विरोधी दुवै बढाएको छ ।

कतिपयले यसलाई “रणनीतिक निर्णय” मानेका छन् भने केहीले “राजनीतिक अवसरवाद” का रूपमा व्याख्या गरेका छन् । उनी चिनी उद्योगसँग जोडिएका व्यवसायी पनि हुन् ।

उखु किसानको भुक्तानी विवादको प्रसंग पुनः चुनावी बहसमा उठ्न थालेको छ, जसले चुनावी एजेन्डालाई थप संवेदनशील बनाएको छ । तर यसमा उनले उखु किसानको कसैलाई एक रुपैया दिन बाँकी नरहेको दाबी गर्दै आएका छन् । किसानलाई आफूले पेश्की स्वरुप दिएको पैसा पाउन नसकेको बताउँछन् । अहिलेपनि उनी प्रभावशाली नेताको रुपमा प्रतिस्पर्धामा रहेको स्थानीयको भनाइ छ ।

नयाँ शक्तिको उदय, साना दलको प्रभाव

यसपटकको निर्वाचनमा सबैभन्दा चासोको विषय बनेको छ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सक्रियता । रास्वपाबाट उम्मेदवार बनेका प्रकाश रजौरिया विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चुनाव लडेका अनुभवी नेता हुन् ।

केही साताअघि एमाले प्रवेश गर्ने तयारीमा रहेका रजौरिया एकाएक रास्वपा प्रवेश गरेको विषयले नागरिकमा उत्सुक्ता जागेको छ । उम्मेदवार रजौरियाको गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा भएको विध्वंसकारी घटनामा संग्लन रहेको भिडियो समेत सार्वजनिक भएको थियो ।

२०७९ को निर्वाचनमा उनले उल्लेखनीय मत प्राप्त गरेका थिए । त्यो मत आधार अहिले रास्वपाको ब्रान्डसँग जोडिँदा नयाँ सम्भावना छ ।

कपिलवस्तु क्षेत्र नम्बर–३ को चुनावी गणितमा साना दलहरूको प्रभाव कम आँक्न सकिने अवस्था छैन । जनता प्रगतिशील पार्टी, जनमत पार्टी लगायतका दलहरूले विगतमा उल्लेखनीय मत पाएका थिए । तमलोपाबाट संविधानसभा सदस्य बनेका ईश्वर दयाल मिश्र त्यसअघि ०४९ को स्थानीय निर्वाचनमा कांग्रेसबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए । ०७० मा एमालेको चुनाब चिन्ह लिएर र ०७४ मा जनता प्रगतिशील पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन लडेका थिए । यसपालि राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी (चकिया) बाट चुनावमा उत्रिएका छन् ।

उनी राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा चुनावी मैदानमा होमिएका हुन् । बहुकोणीय प्रतिस्पर्धामा केहि हजार मत पनि निर्णायक बन्न सक्छ । यहि कारण साना दल र स्वतन्त्र उम्मेदवारहरू ‘किङमेकर’ बन्ने सम्भावना रहेको स्थानीयको विश्लेषण छ ।

चुनाबी गठबन्धन र विभाजन

तत्कालीन माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को सहकार्यबाट बनेको नेपाली कम्युनिष्ट पार्टीबाट एहसान अहमद खाँ उम्मेदवार छन् । उम्मेदवार बनेका उनी ०७९ मा लुम्बिनी प्रदेश सभा ३ (१) पराजित भएका थिए। ०७४ मा बहुजन शक्तिबाट कपिलवस्तु–३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थिए । त्यसबेला पराजय भोगेपछि उनले विजयीको माला पहिरिन अर्को पार्टी खोज्न थाले । उनी ०७६ मा नेकपा माओवादीमा प्रवेश गरेका थिए । यस्तै राप्रपाबाट प्रेम शंकर शुक्ल मैदानमा छन्। अनेक राजनीतिक ध्रुवीकरण, दल अदल–बदल र गठबन्धनको फेरबदलले मतदातालाई अनेक विकल्प दिएको छ । तर यसले परिणामलाई अझ अनिश्चित बनाएको आँकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?