© 2026
काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले आगामी निर्वाचनले नेपालका सबै समस्या समाधान गर्ननसक्ने उल्लेख गर्दै पहिले सबै पक्षबीच सहमति गरेरमात्र निर्वाचनमा जान उपयुक्त हुने धारणा व्यक्त गरेका छन्।
उनले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बुधबार जारी गरेको भिडियो सन्देशमा नेपाल अहिले इतिहासकै सबैभन्दा दर्दनाम स्थितिमा रहेको उल्लेख गर्दै वर्तमान अवस्थामा चुनावले मात्र समाधान ननिस्कने जिकिर गरेका हुन्।
‘अहिलेको चुनावले मात्र सबै समस्याको समाधान निस्कँदैन, पहिला सबै पक्षबीच सहमति गरेरमात्र चुनावमा जानु उपयुक्त हुन्छ,’ उनले भिडियो सन्देशमा भनेका छन्।
उनले सबै पक्षबीच सहमति गरेर चुनावमा जानु उपयुक्त हुने उल्लेख गर्दै फागुन २१ गतेका लागि निर्धारित निर्वाचन सार्न सरकारसँग परोक्ष रूपमा आग्रह गरेका छन्।
८ मिनेट लामो भिडियो सन्देशमा पूर्वराजा शाहले प्रजातन्त्र स्थापनामा सघाउने राजा त्रिभुवन तथा सहिदहरूप्रति पनि श्रद्धासुमन अर्पण गरेका थिए।
उनले झापा बसाइपछि काठमाडौँ फर्कने क्रममा आफूलाई स्वागत गर्ने समूहप्रति धन्यवाद पनि प्रकट गरे। ‘देशको अस्तित्व र अस्मिता नै संकटमा परेको महसुस भएको छ, संघर्षको आडमा गरिएका परिवर्तनले नेपाल र नेपालीलाई के दियो भन्ने आत्मसमीक्षा गर्नुपर्ने समय अहिले आएको छ,’ उनले भने।
सद्भाव र एकताको राजनीतिक संस्कृतिको प्रबर्द्धन गर्न उनले सबै पक्षसँग भिडियोमा आग्रह पनि गरेका छन्।
‘आवधिक निर्वाचन एक स्वभाविक प्रक्रिया भए पनि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेरमात्र निर्वाचनमा जानु उचित हुने र निर्वाचनप्रति कुनै द्वन्द्व र अशान्ति नहोस् भनेर राष्ट्रिय सहमति र समझदारी गरेर निर्वाचनमा जाँदा नै सही बाटो हुने थियो,’ उनले भनेका छन्।