काठमाडौँ । शेर्पा समुदायले आज विभिन्न कार्यक्रमका साथ ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन् । ‘ल्हो’ अर्थात् वर्ष र ‘छार’ अर्थात् नयाँ भन्ने अर्थ लाग्ने ल्होसारलाई शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउने परम्परा छ ।
पर्वको अवसरमा गाउँघर तथा टोलका बाटोघाटो र पानीका मुहानको सरसफाइ गर्ने, नौ प्रकारका अन्न मिसाएर बनाइने गुथुक र खाप्से जस्ता परिकार सेवन गर्ने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने चलन रहेको छ । यस पर्वलाई पारिवारिक तथा सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने महत्वपूर्ण अवसरका रूपमा लिने गरिन्छ ।

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परा अनुयायीहरूले चन्द्रमासको गणनाअनुसार फागुन शुक्लपक्ष प्रतिपदाका दिनदेखि नयाँ वर्ष प्रारम्भ हुने विश्वासका साथ ग्याल्पो ल्होसार मनाउने गर्दछन् । स्याब्रु नृत्य, तुङ्गना (डम्याङ) को मधुर धुन तथा सामूहिक उल्लासले पर्वलाई अझ अर्थपूर्ण बनाउने गर्दछ ।
नयाँ वर्षका रूपमा मनाइने यो पर्वले समाजमा नयाँ आशा, उमङ्ग र उत्साह थप्दै आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना सुदृढ बनाउने विश्वास छ । यस अवसरमा गुम्बा दर्शन गर्ने, धर्मगुरु तथा लामाबाट आशीर्वाद लिने, खाप्से, डेशिल र गुथुक जस्ता विशेष परिकारको स्वाद लिने तथा परिवारसँग उल्लासपूर्ण समय बिताउने परम्परा रहेको छ ।
यो पर्वले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै सहकार्य र समझदारीको वातावरण सिर्जना गर्ने गर्दछ ।



