© 2026
फागुन २१ को निर्वाचन नजिक आउँदै गर्दा निर्वाचनलाई प्रभावित गर्ने प्रयास हुन थालेको छ ।
रुपन्देहीको भैरहवामा आम जनमानसलाई त्रास फैलाउने उद्देश्यले नक्कली कुकर बम राखियो । त्यसै गरी दाङको तुलसीपुरमा कुकर बम नै फेला परेको छ । कपिलवस्तुमा पनि मंगलबार कुकर बम जस्तै देखिने अज्ञात बस्तु फेला परेको छ ।
त्यसै गरी देशका विभिन्न स्थानमा नक्कली बम राखेर जनमानसलाई तर्साउने र आम निर्वाचनलाई प्रभावित गर्ने काम भइरहेको छ । यस प्रकारका घटनाले निर्वाचनलाई प्रभावित पार्न सकिन्छ कि भन्ने कुत्सित मनसाय हुन सक्छ तर मुलुक निर्वाचनमा अघि बढिसकेको र अव सुईदातामै निर्वाचन हुने भएकोले रोकिने अवस्था छैन ।
सरकारले निर्वाचनको सुरक्षा दियो भने शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुन्छ भन्ने विश्वास सिर्जना भएको छ । मुलुकमा अशान्तिको बहानामा निर्वाचन बिथोल्न र टार्न खोजिएको आभास भएको छ ।
देशका विभिन्न स्थानमा भएका घटनाले यही सङ्केत गरेका छन् । मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिलाई विश्लेषण गर्दै एक थरी निर्वाचन गर्नुहुँदैन भन्ने पक्षमा छन् भने केही शक्तिहरू निर्वाचन जसरी पनि गर्नुपर्ने तर्क गरिरहेका छन् ।
सरकार नै निर्वाचन जसरी पनि सम्पन्न गर्नेतर्फ उन्मुख भएकोले सानो तिनो घटनाले खासै फरक पर्दैन । सरकार र राजनैतिक दलहरूकै सहमति र सहकार्यमा निर्वाचन सम्पन्न हुने कुरामा विवाद छैन । तसर्थ एकआध घटनालाई लिएर वातावरणलाई उद्वेलित बनाउने काम नहोस् ।
उता निर्वाचन आयोगले मतपत्र छपाईको काम सम्पन्न गरिसकेको छ भने विभिन्न जिल्लामा पठाउने काम पनि गरिरहेको छ । राजनीतिक दलहरूले निर्वाचनलाई जसरी पनि सफल बनाउन आफ्ना नेता कार्यकर्ताहरूलाई आह्वान गरेको अवस्थाले निर्वाचनको वातावरण सिर्जना भएको छ ।
कतै छुटफुट घटनालाई देखाएर निर्वाचन स्थगित वा पछाडि धकेलिने हो कि भन्ने आशंका जनमानसमा पैदा भएको छ । तर, त्यस प्रकारका घटनाले निर्वाचन सर्दैन भन्ने कुराको मनन सवैले गर्नुपर्दछ ।
नेपालको संविधानले सबै राजनीतिक दलहरूलाई मुलुकको जुनसुकै भू–भागमा सभा, सम्मेलन र घोषित राजनीतिक कार्यक्रमहरू गर्न छुट दिएको छ । तराई, पहाड, हिमाल जहाँपनि आफ्नो एजेण्डा लिएर जान पाईन्छ । सबै क्षेत्रमा सबै विचार, समूह, वर्गका राजनीतिक दलहरूले स्वतन्त्र भएर कार्यक्रम गर्ने अधिकार छ । त्यसैलेपनि राजनीतिक दलहरू निर्वाचन सर्छ कि भनेर आत्तिनुपर्ने अवस्था छैन ।
सरकार पनि निर्वाचनको माहोल बनाएर राजनैतिक दलहरूलाई एकताबद्ध बनाएर निर्वाचनमा भाग लिने वातावरण तयार गरोस् । अस्थीरता देखाउँदै घोषित मितिको निर्वाचन बिथोल्ने प्रपञ्चलाई प्रमुख दलहरूले समयमै बुझ्नु आवश्यक छ ।
दलहरू निर्वाचनबाट त्रसित हुन थालेको आभास जनताले गर्न थाले भने त्यो अवस्थामा निर्वाचन निष्पक्ष हुन्छ भन्ने कुरा एकादेशको कथा हुनेछ । जनताको अधिकार जनतामै जाने व्यवस्थालाई धुलिमाटी बनाउन पल्केका केही शक्तिहरूले विभिन्न बहानामा निर्वाचन रोक्ने कसरत शुरु गर्न सक्छन । त्यसकारण सवै होसियार हुनुपर्ने आवश्यकता छ ।
अतः कुनैपनि बहानामा निर्वाचन टार्ने खेलबाट नेपालका राजनीतिक दलहरू मुक्त हुनुपर्छ । घोषित मितिमै निर्वाचन गराएर जनतालाई शासन गर्ने अधिकार प्रत्यायोजन नगरेसम्म संघीय गणतान्त्रिक संविधान कार्यान्वयन हुन सक्दैन । निर्वाचन टार्न वा बिथोल्न खोजिए जनताले पनि खबरदारी गर्ने कुरामा ढिलाइ गर्नुहुँदैन । विगतको भन्दा यस पटकको निर्वाचन निकै फरक छ ।
यो निर्वाच गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको उपज हो । उनीहरूको भावनाको प्रतिनिधित्व गर्ने गरि हुन लागेको यो निर्वाचन हो । आवधीक भन्दा पनि विशेष परिस्थितिमा हुन लागेको निर्वाचन भएकोले यो निर्वाचनलाई सफल बनाउनु जेनजीको भावनाको सम्मान पनि हो । अहिले निर्वाचन सफल बनाउन गाउँ–गाउँमा उत्सवकै रूपमा चुनावी प्रचारप्रसार अगाडि बढेको छ ।
निर्वाचनका लागि निर्वाचन आयोगले सबै स्थानीय तहमा कर्मचारी खटाइसकेको छ । निर्वाचनसम्बन्धी शिक्षाका कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन् । अब सरकारले निर्वाचनका लागि उचित शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्छ ।
निर्वाचनमा शान्ति सुरक्षा प्रदान गरेर निर्धक्क र भयरहित ढंगले मतदान गर्ने वातावरण सृजना गर्नुपर्छ ।