© 2026
बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले मतदातासँग भेटघाट थालेका छन्।
बुधबार उनले सैनामैना नगरपालिका अन्तर्गत विभिन्न वडाहरुमा टोलभेला गर्दै मतदाताका गुनासो सुनेका छन्। त्यसक्रममा मतदाताले राखेका सुझाव र गुनासालाई आफूले सम्बोधन गर्ने प्रतिवद्धता पनि पौडेलले व्यक्त गरेका छन् । उनले बुधबार करिव एक दर्जन स्थानमा विभिन्न टोल भेलामार्फत मतदाताको गुनासो सुनेका थिए ।
उनले बुधबार सैनामैना स्थित पर्रोहा बोलबम धाममा दर्शन गरेर प्रचार अभियानको सुरुवात गरेका थिए । त्यसपछि विभिन्न टोलमा घरदैलो तथा टोल भेला आयोजना गरिएको थियो ।
भेटघाटका क्रममा पौडेलले अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीको समस्या समाधान अन्तिम चरणमा पुग्दा विभिन्न अवरोध खडा गरिएको गुनासो गरे । “समाधानको चरणमा पुगेका कामलाई रोक्ने उद्देश्यले नयाँ सरकारले आयोग खारेज गर्यो, त्यसको विरोधमा मुद्दा परेपछि सर्वोच्चले उक्त निर्णय बदर गरेपछि अव काम अगाडि बढ्ने देखिएको छ, अब त्यसलाई निष्कर्षमा पुर्याइनेछ,” उनले भने ।
आफ्नो पहलमा सैनामैनामा प्राकृतिक चिकित्सालय, पर्रोहा परमेश्वर बोलबध धामको पुनर्निर्माण, सैनामैना चक्रपथ, नगर अस्पताल, ज्येष्ठ नागरिक मिलन केन्द्र तथा सामुदायिक विद्यालयका भवन निर्माण सम्पन्न भएको उनले स्मरण गराए । विद्यालयहरूमा आधुनिक प्रयोगशाला स्थापना गरिएको र प्रदेशस्तरीय फोहरमैला प्रशोधन केन्द्र निर्माण प्रक्रिया पनि आफ्नो नेतृत्वमा अघि बढाइएको उनले बताए ।
त्यसैगरी, सैनामैना–३ गंगानगरको लामीरह क्षेत्रमा बहुउद्देश्यीय जलाशययुक्त बाँध निर्माणका लागि वातावरणीय अध्ययन सम्पन्न भइसकेको र चाँडै ठेक्का प्रक्रिया अगाडि बढ्ने जानकारी दिए । वन संरक्षण, हरियाली प्रवद्र्धन, वन अनुसन्धान केन्द्र विकास तथा आयआर्जन वृद्धि कार्यक्रमलाई प्राथमिकतामा राखिने उनले बताए ।