© 2026
नवलपरासी । जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाले किशोर र किशोरी मैत्री सेवा प्रवाह गरिएको दाबी गर्दै आए पनि किशोरीमा रक्त अल्पता (एनेमिया) हुने अवस्था भयावह हुँदै गइरहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको गत वर्षको तथ्याङ्क अनुसार जिल्लाका सात वटै पालिकाम मध्ये सबै भन्दा बढी रक्त अल्पता देखिएको सुस्ता गाउँपालिका भएपनि सबै पालिकामा किशोरीमा रक्तअल्पताको भयावह अवस्था देखिएको हो ।
आजका स्वस्थ बालिकाले मात्र भोलिको स्वास्थ्य नागरिक हुँदै स्वस्थ सन्तानको जन्मको परिकल्पना गर्न नसकिने अवस्थालाई चित्रित गर्दै स्थानीय सरकारको स्वास्थ्य कार्यक्रमलाई चुनौती दिइएको देखाउँछ ।
कार्यालयको तथ्याङ्क अनुसार सात वटै पालिकाका भित्रको विद्यालयहरूमा लिइएको नमुना अनुसार सुस्ता गाउँपालिकामा ७ विद्यालयका कुल ७ सय ४२ जना मध्ये १९ किशोरीलाई बचाउनु पर्ने, १ सय ४६ जनालाई उपचार गर्नुपर्ने, १ सय २९ जनामा मध्यम स्तर र १ सय ४४ जनाको अवस्था सामान्य रहेको देखिएको छ । जसको सरदर रक्तअल्पताको अवस्था ३९.६२ प्रतिशत रहेको छ ।
यसै गरी दोस्रो स्थानमा रहेको सुनवल नगरपालिका भित्रका ९ वटा विद्यालयका १ हजार ८ सय ३४ जनाको नमुना लिएकोमा १० जना बचाउनु पर्ने, ३ सय १८ जनालाई उपचार गराउनु पर्ने र ३ सय १४ जनामा मध्यम स्तरको रक्तअल्पता भेटिएको थियो भने १ हजार १ सय ९२ जनाको अवस्था सामान्य रहेको थियो । जुन प्रतिशतमा ३५ प्रतिशत देखिन्छ ।
यता बर्दघाट नगरपालिका भित्रका ५ वटा विद्यालयमा ९ सय ४२ जना किशोरीको नमुना लिइदा ५ जनालाई बचाउनु पर्ने, १ सय ३२ जनालाई उपचार, १ सय ६३ जनामा मध्यम स्तरको रतmअल्पता भएको र ६ सय ४२ जना किशोरीको सामान्य अवस्था देखिएको थियो, जुन प्रतिसतमा ३१.८४ प्रतिशत हो ।
त्यसै गरि प्रतापपुर गाउँपालिका भित्रको ६ विद्यालयका ९ सय १३ जना किशोरीको नमुना परीक्षण गर्दा ३ जनालाई बचाउनुपर्ने, ८४ जनालाई उपचार गर्नुपर्ने, १ सय ८८ जनामा मध्यम रक्तअल्पता रहेको र ६ सय ३८ जनाको अवस्था सामान्य रहेको थियो ।
जुन प्रतिसतमा ३०.१२ रहेको देखियो । पाल्हीनन्दन गाउँपालिका भित्रका ३ विद्यालयको ५ सय ४६ जनाको नमुना परीक्षण मध्ये २ जना बचाउ गर्नुपर्ने, ३९ जनाको उपचार गर्नु पर्ने, ८२ जनामा मध्यम स्तरको रतmअल्पता र ४ सय २३ जनाको अवस्था सामान्य देखिएको थियो ।
जुन सङ्ख्या २२.५२ प्रतिशत हो । यसै गरि सबै भन्दा कम रामग्राम नगरपालिकामा ५ विद्यालयका ८ सय ३० जनाको नमुना परीक्षण गर्दा ३ जनाको बचाउ गर्नु पर्ने, ३८ जनाको उपचार,१ सय ३ जनामा मध्यम स्तरको रक्तअल्पता र ६ सय ८६ को अवस्था सामान्य थियो । जुन प्रतिशतमा १७.३५ प्रतिशत हो ।
सरकारले किशोर किशोरी मैत्री स्वास्थ्य सेवा प्रवाहका लागि निर्देशिका नै जारी गरिदिएको छ । जुन सबै स्थानीय सरकारले सोही अनुसारको कार्यक्रम चलाउनु पर्ने हो, तर केही पालिकाले औपचारिक रूपमा कार्यक्रम सञ्चालन गरेको भए पनि धेरै स्वास्थ्य संस्थाहरूले त्यसलाई महत्वका साथ काम नगरिदिँदा पनि किशोरीले पाउनु पर्ने सूचना नपाउँदा आनीबानीमा सुधार नहुँदा रक्तअल्पता जस्तो बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको हो ।
कार्यालयका सूचना अधिकारी यवदेव न्यौपानेले गत वर्षको तथ्याङ्क देखाउँदै भने,चालु आर्थिक वर्षको पनि नमुना लिइने र परीक्षण गर्ने कार्य गरिरहेको छ ।
स्वास्थ्य कार्यक्रम प्रति स्थानीय सरकार गम्भीर नहुँदा स्वास्थ्यका चुनौती थपिँदै छन् । संविधान र कानुनले स्थानीय सरकारलाई शिक्षा, स्वास्थ्य, महिला बालबालिकाका कार्यक्रम स्थानीय सरकारलाई सुम्पेको छ, तर स्थानीय सरकार आफूलाई भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्ने गर्दा जनस्वास्थ्यमा चुनौती थपिनु स्वाभाविक हो ।
सङ्घीय सरकारले नै किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९ जारी गर्दै सो सेवा प्रवाह गर्नका लागि तिन तहकै सरकारलाई निर्देशन गरेको थियो । स्वास्थ्य संस्थाहरूबाट प्रवाह हुने स्वास्थ्य सेवालाई किशोर किशोरी मैत्री बनाउन जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ६४ ले दिइएको अधिकार प्रयोग गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो निर्देशिका बनाएर जारी गरेको थियो ।
जारी निर्देशिका अनुसार किशोर किशोरी मैत्री सेवा सञ्चालन र सेवा प्रवाहको उपयुक्त प्याकेज, स्वास्थ्यकर्मीको दक्षता, उपयुक्त स्वास्थ्य संस्थाको विशेषता, भेदभाव रहित समतामूलक सेवा,तथ्याङ्क र गुणस्तर सेवा, किशोर किशोरीको सहभागिताको आधारमा विभिन्न मापदण्ड छ ।
किशोर किशोरी मैत्री सेवा अन्तरगत यौन तथा प्रजनन स्वास्थ्य सेवा, परामर्श र प्रेषण सेवा, परिवार योजना वा नियोजन सेवा, परामर्श र प्रेषण सेवा (कम्तीमा कन्डम, पिल्स, तीन महिने सुई, आकस्मिक गर्भ निरोधक साधन) को सेवा, पोषण सम्बन्धी जानकारी वार परामर्श सेवा, यौनजन्य सङ्क्रमण तथा एचआईभि नियन्त्रण,रोकथाम बारेमा जानकारी वा परामर्श र प्रेषण सेवा दिइनुपर्छ ।
प्रत्येक ६ महिनामा सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाले स्वःमूल्यांकनका लागि अनुसूची ३ बमोजिम भौतिक पूर्वाधार र संरचनामा किशोर किशोरीलाई सेवा प्रदान गर्दा अरूले देख्ने सुन्न नसक्ने गरी गोपनीयताको कायम राख्ने व्यवस्था, स्वच्छ वातावरण र विद्युत् आपूर्ति रहेको, संस्थामा नियमित विद्युत् आपूर्ति रहेको र सेवाग्राहीले पालो पर्खँदा बस्नको लागि उपयुक्त व्यवस्था भएको हुनु पर्ने उल्लेख छ ।
जिल्लामा किशोरीमा रक्तअल्पता मात्रै समस्या छैन, किशोरी आमा बन्ने सङ्ख्या पनि उल्लेख्य वृद्धि हुँदै जाँदा अर्को चुनौती पनि रहेको तथ्याङ्कले देखाएको छ ।
२०८०/०८१ मा जिल्ला भित्र कुल ४ सय जना (२० वर्ष मुनि) का किशोरी गर्भवती भएका छन् । एका तर्फ किशोरी अवस्थामै २० वर्ष मुनि नै गर्भवती हुन र अर्को तिर प्रोटोकल अनुसार गर्भवती किशोरीहरूले गर्भ परीक्षणको पहुँचमा नहुनुले चुनौती देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएका छ ।
किशोरी गर्भवती मध्ये प्रोटोकल अनुसार पहिलो पटक गर्भ जाँच गराउने सङ्ख्या २ सय ८२ रहेको छ ।
४ पटक गर्भवती जाँच सेवा लिइने क्रम घट्दै गएको पनि देखाएको छ । जसमा ४ पटक गर्भवती जाँच गराउने सङ्ख्या घटेर २ सय ४३ रहेको थियो ।