Butwal Today

जीत हारको खेल मात्रै होइन यो निर्वाचन

६ फाल्गुन २०८२, बुधबार
अ+
अ-

एक स्वतन्त्र नागरिकका लागि मतदान केवल अधिकार मात्र होइन, लोकतान्त्रिक समाजमा परिवर्तनको सबैभन्दा शक्तिशाली अहिंसात्मक अस्त्र हो ।’

अमेरिकी राजनीतिज्ञ जोन लेविसको यो भनाइले मतदानलाई व्यक्तिगत निर्णयभन्दा माथि उठाएर नागरिक कर्तव्यको उच्चतम तहमा राखिदिन्छ । लोकतन्त्रमा मतदान केवल औपचारिक प्रक्रिया होइन, न त केही समयको लागि मात्र निभाइने जिम्मेवारी हो ।

यो विवेकशील नागरिकले आफ्नो देश, शासन प्रणाली र भविष्यप्रति दिने उत्तरदायित्व हो, जसको असर आज मात्र होइन, भोलिका पुस्तामा पनि रहिरहन्छ । सभ्य, उत्तरदायी र जनउत्तरदायी शासन प्रणालीको आधार निर्वाचन हो ।

निर्वाचनले नागरिकलाई शासकसँग प्रश्न गर्ने अधिकार दिन्छ भने शासनलाई जवाफदेही बनाउँछ । यही दुई ध्रुवीय सन्तुलनले लोकतन्त्रलाई जीवित राख्छ । आधुनिक युगमा जनताको सार्वभौम शक्ति प्रत्यक्ष रूपमा मतदानमार्फत प्रकट हुन्छ ।

यहीकारण लोकतन्त्रमा नागरिकको मत अधिकार एकमात्र अहिंसात्मक हतियार हो, जसले शासन प्रणालीमा जनताको प्रभुत्व सुनिश्चित गर्छ । निर्वाचन केवल लोकतन्त्रको सजावटी अभ्यास होइन, यसले शासनको परिष्कारको माध्यम पनि प्रस्तुत गर्दछ ।

जनताका अपेक्षा, असन्तुष्टि र प्रश्न यही प्रक्रियामा उजागर हुन्छन् । उम्मेदवार र दलहरू जनतासामु जवाफदेही बन्न बाध्य हुन्छन् । यही प्रक्रियाबाट राष्ट्रको राजनीतिक दिशा तय हुन्छ, नीति निर्माणको आधार तयार हुन्छ र आवश्यकता परे सत्ता हस्तान्तरण सम्भव हुन्छ ।

लोकतन्त्रमा नागरिकको मताधिकार एउटा सार्वभौम र अहिंसात्मक शक्ति हो, जसले राज्यलाई जनतासामु जवाफदेह बनाउँछ ।

निर्वाचनका स्वरूप फरक–फरक हुन सक्छन्, तर लक्ष्य एउटै हो–नागरिकले आफ्नो प्रतिनिधि चयन गरेर शासनमा आफ्नो उपस्थितिको अभिव्यक्ति दिनु । प्रतिनिधि चयनसँगै नागरिकले आफ्ना आवश्यकता, चाहना र प्राथमिकता राज्यसत्तासम्म पु¥याउँछन् ।

लोकतन्त्रका लागि चुनाव आत्मा हो, जसले जनता र शासकलाई जवाफदेहिताको एउटै सूत्रमा बाँध्छ । जवाफदेहिता कमजोर भयो भने लोकतन्त्र खोक्रो बनिन्छ । देश अहिले फेरि एकपटक निर्वाचनको चरणमा प्रवेश गरेको छ ।

तर यस पटकको निर्वाचन सामान्य अभ्यासभन्दा भिन्न छ । २०८२ भदौ २३ मा भएको जेनजी विद्रोह र त्यसपछिको विध्वंसले देशलाई गहिरो राजनीतिक, सामाजिक र मानसिक आघातमा पु¥यायो । त्यो समय पीडादायी मात्र होइन, हिंसात्मक पनि थियो ।

तर लोकतन्त्रमा विद्रोह आफैँमा अस्वीकार्य हुँदैन । असन्तुष्टि व्यक्त गर्ने, प्रश्न उठाउने र परिवर्तनको माग गर्ने अधिकार हरेक पुस्तासँग हुन्छ। राज्य, राजनीतिक दल र समाजले त्यस्तो आवाज सुन्नु, ग्रहण गर्नु र आवश्यक सुधारतर्फ अघि बढ्नु अनिवार्य छ ।

तर त्यस विद्रोहक्रममा देखिएको अराजकता, घुसपैठ र विनाशले विद्रोहको मौलिक आत्मालाई क्षति पु¥यायो । इतिहासमा नेपालमा भएका विद्रोहहरू आ–आफ्नै प्रकृति र उद्देश्यका रहे, तर यस किसिमको विध्वंस दुर्लभ थियो ।

यसले विद्रोहको भावना गलत थियो भन्ने होइन, बरु विकृत प्रवृत्तिले त्यसलाई दिशाहीन बनायो । त्यसको मूल्य अहिले राज्यले मात्र होइन, सिङ्गो राष्ट्रले भोगिरहेको छ । यसका असर दीर्घकालीन छन् । लोकतन्त्र, नागरिक अधिकार, सामाजिक संरचना र राष्ट्रिय आत्मसम्मान सबै प्रभावित भएका छन् । कैयौँ जीवन समाप्त भए, कैयौँ अपाङ्ग जीवन बाँच्न बाध्य भए । सपना, भरोसा र भविष्य बिथोलियो ।

तर यही पीडा मात्र होइन, यही विद्रोह चेत परिवर्तनको संकेत पनि हो । भ्रष्टाचार, कुशासन र उपेक्षित आत्मसम्मानले थिचिएका नवपुस्ताको आक्रोशले राजनीतिक सोच र सामाजिक बहसलाई नयाँ मोडमा पु¥याएको छ। आज राजनीतिक संरचनामा उठिरहेका प्रश्न, व्यवस्थाप्रति बढ्दो आलोचना र सुधारको माग यही चेतनाको परिणाम हो ।

परम्परागत राजनीतिक जडता क्रमशः चिरिन थालेको छ । सत्ता केन्द्रित सोचभन्दा उत्तरदायित्वमुखी शासनको बहस तीव्र हुँदै गएको छ । यही कारण अहिले भइरहेको निर्वाचन कुनै आकस्मिक राजनीतिक खेल होइन, बरु नागरिक चेतनाको दबाबले निम्त्याएको ऐतिहासिक आवश्यकता हो । संविधानतः समय बाँकी भए पनि परिस्थिति यस्तो छ, जहाँ जनताको ताजा अभिमत लिनु अपरिहार्य बनेको छ ।

यस अर्थमा यो निर्वाचन सत्ता हस्तान्तरणभन्दा बढी राजनीतिक पुनर्संरचनाको प्रक्रिया हो । यो चुनाव कुनै दल वा व्यक्तिलाई सत्तामा पु¥याउने साधन मात्र होइन । बिथोलिएको विश्वास पुनर्निर्माण गर्ने, खरानी भएको भविष्यलाई उठाउने र राष्ट्रियता सुरक्षित गर्ने एउटा निर्णायक अवसर हो । त्यसैले यस निर्वाचनसँग केवल सत्ता र सरकारको प्रश्न जोडिएको छैन, यो हाम्रो राष्ट्रिय जीवनसँग गाँसिएको परीक्षा पनि हो ।

जेनजी विद्रोहपछि बनेको अन्तरिम सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनका अधिकांश चरण पूरा भइसकेका छन्। उम्मेदवारी दर्ता सकिएको छ र राजनीतिक दल, उम्मेदवार तथा स्वतन्त्र प्रत्याशीहरू मतदातामाझ पुगिसकेका छन्।

निर्वाचन अब केवल मिति र प्रक्रियाको विषय रहेन, यो जनविश्वास पुनः प्राप्त गर्ने चुनौती बनेको छ । निर्वाचन भोट माग्ने रमितामात्र होइन । यो जनतासँग सीधा प्रश्न सामना गर्नुपर्ने बाध्य प्रक्रिया हो। मतदाताले यसपटक केवल नारा होइन, विगतको काम, चरित्र र दृष्टिकोणको आधारमा निर्णय गर्नुपर्ने अवस्था छ।

हामीले अहिलेसम्म चुनेका प्रतिनिधिहरूले हाम्रो जीवन, समाज र देशका लागि के गरे भन्ने कठोर समीक्षा नगरी विवेकपूर्ण मतदान सम्भव हुँदैन । मतदान नागरिकको अधिकार मात्र होइन, जिम्मेवारी पनि हो। असफल नेतृत्व जन्मिनुमा केवल नेता दोषी हुँदैन, गलत छनोट गर्ने मतदाताको भूमिका पनि जोडिन्छ । त्यसको मूल्य राष्ट्र र राष्ट्रियताले लामो समयसम्म तिर्नुपर्छ ।

त्यसैले मतदान र विवेकको सम्बन्ध अन्योन्याश्रित छ । आज समय फेरिएको छ, चेतना फेरिएको छ । प्रविधिले विश्वलाई पारदर्शी बनाइदिएको छ। विशेषतः नयाँ पुस्तामा देखिएको राजनीतिक चासो, प्रश्न गर्ने संस्कृति र सक्रियता परिवर्तनको संकेत हो । राजनीतिक दल र उम्मेदवारहरूले यस चेतनालाई दबाउने होइन, सम्बोधन गर्न सक्नुपर्छ ।

यसबेला देशका संरचना मात्र होइन, समाजको आत्मा पनि घाइते छ । न्यायिक निकाय, शासकीय प्रणाली र सामाजिक भरोसा डगमगाएको अवस्थामा निर्वाचन स्वच्छ, निष्पक्ष र सभ्य रूपमा सम्पन्न हुनु नै लोकतन्त्र बच्ने एकमात्र आधार हो ।

निर्वाचन बिग्रियो भने लोकतन्त्र कमजोर हुन्छ, लोकतन्त्र कमजोर भयो भने राष्ट्रियता पनि असुरक्षित हुन्छ । महामानव बिपी कोइरालाले भनेझैँ, अधिकारविहीन जनता कहिल्यैपनि राष्ट्र निर्माणको आधार बन्न सक्दैन । बलियो नागरिक, सचेत मतदाता र जीवित लोकतन्त्रबाटै बलियो राष्ट्र जन्मिन्छ । यही कारण यो निर्वाचन नयाँ पुस्तालाई प्रजातन्त्र, नागरिक अधिकार र राष्ट्रियताको मूल्य बुझाउने ऐतिहासिक अवसर पनि हो ।

यस निर्वाचनमा सहभागिता केवल व्यक्तिगत स्वार्थको कुरा होइन। यो राष्ट्रको भविष्य, राष्ट्रिय पहिचान र लोकतन्त्रको बलियो आधारको लागि हो। राजनीतिक दल, उम्मेदवार र नागरिक सबैले यही जिम्मेवारीको गहिरो अर्थ बुझ्नुपर्छ ।

लोकतन्त्र जोगाउन, राष्ट्रियता सुरक्षित गर्न र भविष्य पुस्तालाई अधिकारपूर्ण वातावरण दिन यही मतदानको महत्त्वपूर्ण भूमिका हो । यो मतदान केवल मतपत्रमा भोट हाल्ने प्रक्रिया मात्र होइन, यो साङ्गठनिक, सामाजिक र नैतिक जिम्मेवारीको परीक्षण पनि हो।

हामीले भोट गर्दा आफूले मात्र सिफारिस गरिरहेका प्रतिनिधि होइन, हाम्रो देशको नीति, भविष्यको ढाँचा र राष्ट्रिय पहिचानमा निर्णायक भूमिका खेल्ने नेतृत्व चयन गर्दैछौं । एउटा विवेकशील मतदाता त्यो प्रतिनिधि छान्छ जसले भ्रष्टाचार, अल्पदृष्टि र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको हितलाई प्राथमिकता दिन सक्छ ।

निर्वाचन केवल सत्ता प्राप्तिको साधन होइन; यसले नेतृत्वको क्षमता, जनसेवाको प्रतिबद्धता र राष्ट्रिय विकासको दिशा परीक्षण गर्छ । हामीले भोगेका विगतका संकट, जस्तो कि जेनजी विद्रोह र त्यसपछिका विध्वंस, हामीलाई यही शिक्षा दिन्छन् कि जनताको अस्वस्थता र असन्तुष्टि नजरअन्दाज गर्दा मात्र शक्ति केन्द्रित नेतृत्व असफल हुन्छ ।

त्यसैले मतदानले केवल राजनीतिक दललाई मात्र परीक्षण गर्दैन, यो नागरिकको चेतना र विवेकको पनि परीक्षण हो। चुनावी परिणामले देखाउनेछ कि हामीले विगतबाट सिक्यौं कि होइन, र के हामीले लोकतन्त्रको संरक्षण गर्ने क्षमता राख्छौं कि छैन ।

यस मतदानले नयाँ पुस्तालाई लोकतान्त्रिक संस्कार र जिम्मेवारीको महत्व सिकाउने अवसर पनि प्रदान गर्दछ । नयाँ पुस्ताले आफ्नो अधिकारको प्रयोगमा निष्पक्ष, विवेकपूर्ण र सचेत हुन सिक्नुपर्छ । उनीहरूले बुझ्नुपर्छ कि केवल भोट हालेर आफ्नो कर्तव्य समाप्त हुँदैन; मतदानपछि प्रतिनिधिहरूको काम, नीतिगत निर्णय र जवाफदेहिताको मूल्याङ्कन गर्नु पनि हाम्रै जिम्मेवारी हो।

लोकतन्त्रको जीवन्तता केवल चुनावको दिनमा सीमित हुँदैन; यसको रक्षा निरन्तर नागरिकको नजर, प्रश्न र सचेत सक्रियतामा निर्भर गर्दछ । निर्वाचनमा सक्रिय सहभागिता नागरिकलाई आफ्नो सामाजिक जिम्मेवारी र राष्ट्रिय दायित्वको चेतना पनि दिन्छ।

जसरी हामीले विगतमा देखेका त्रुटिहरूले देशको राष्ट्रिय पहिचान, सामाजिक संरचना र न्याय प्रणालीलाई कमजोर पारेको छ, त्यस्तै समयमा प्रत्येक मतदानले देशको भविष्यलाई पुनर्निर्माण गर्ने शक्ति दिन्छ। यो केवल राजनीतिक अधिकार होइन, नागरिकको नैतिक दायित्व पनि हो, जसले राष्ट्रको दिशा निर्धारण गर्छ ।

हामीले छानेका प्रतिनिधिहरूले हाम्रो लागि कस्तो काम गरे, के कमी रह्यो र भविष्यमा सुधारको आवश्यकता छ– यी सबै मूल्याङ्कन यही निर्वाचनको माध्यमबाट सम्भव हुन्छ । विवेकपूर्ण मतदानले मात्र असली नेतृत्व परीक्षणको अवसर दिन्छ । किनकि असफल नेतृत्व केवल नेताको दोष होइन, त्यहाँ असफलताको हिस्सा हामी आम मतदाताको पनि हुन्छ ।

यही कारण मतदान र विवेकको सम्बन्ध अन्योन्याश्रित छ । यो चुनावको विशेषता केवल राजनीतिक स्थायित्वको प्रश्नमा सीमित छैन । यो राष्ट्रिय भावना, सामाजिक न्याय र प्रजातान्त्रिक मूल्य मान्यताको परीक्षण पनि हो । देशले भोगेका विगतका संकट, जनता र नवपुस्ताको योगदान, राजनीतिक संरचनामा आएको जडता र परिवर्तनको माग—यी सबै तत्व यस मतदानमा समाहित छन् ।

यसैले मतदाताले बुझ्नुपर्छ कि प्रत्येक भोट केवल सत्ता हासिल गर्न होइन, तर देशको मार्ग, लोकतन्त्रको संरचना र राष्ट्रिय पहिचानको संरक्षणमा निर्णायक छ । आजको निर्वाचनले केवल नयाँ सरकार ल्याउने मात्र होइन, देशको भविष्यको नीति, नागरिक अधिकार र राष्ट्रिय संस्कारको आधार तयार गर्ने अवसर पनि प्रदान गरेको छ । यसबाट हामीले विगतका गल्तीहरूबाट सिक्न सक्छौं, भविष्यका चुनौतीहरूको सामना गर्न सक्छौं, र नयाँ पुस्तालाई प्रजातन्त्र, न्याय र राष्ट्रियताप्रति जिम्मेवार बनाउन सक्छौं ।

यसैले मतदान केवल एक दिनको प्रक्रिया होइन, यो देशको आत्मा, भविष्य र राष्ट्रिय जीवनको पुनर्निर्माणको महत्त्वपूर्ण माध्यम हो। विवेकशील मतदाता, सचेत नागरिक र जिम्मेवार नेतृत्वको संयोजनले मात्र लोकतन्त्रलाई बलियो राख्न सक्छ, राष्ट्रिय पहिचानलाई सुरक्षित बनाउन सक्छ र देशलाई स्थायी विकासको मार्गमा अघि बढाउन सक्छ । यसैले आजको निर्वाचन कुनै क्षणिक राजनीतिक उत्सव होइन, यो राष्ट्रको सामूहिक आत्मपरीक्षणको घडी हो। हामीले विगतमा गरेको मौनता, गलत सहमति र विवेकहीन सम्झौताका परिणाम आज देशले भोगिरहेको छ ।

राजनीतिक अस्थिरता, संस्थागत अविश्वास, युवापुस्ताको निराशा र राष्ट्रिय आत्मसम्मानमा आएको क्षय यी सबैको मूल्य अब पुनः भुक्तानी गर्ने अवस्थामा हामी पुगेका छौँ। यही कारण यो निर्वाचनले केवल नयाँ प्रतिनिधि चयन गर्दैन, यसले पुराना गल्तीहरू सच्याउने अवसर पनि प्रदान गर्दछ । मतपेटिकामा हालिने एक मत केवल अंक होइन, त्यो एक चेतनाको अभिव्यक्ति हो।

त्यो मतले हामी कुन दिशामा उभिएका छौँ भन्ने स्पष्ट संकेत दिन्छ । अराजकता वा अनुशासन, स्वार्थ वा सेवा, मौनता वा उत्तरदायित्व। लोकतन्त्रमा नागरिकले बन्दुक होइन, मतपत्र प्रयोग गर्छ; र यही मतपत्र राज्यसत्ताको सबैभन्दा भयङ्कर तर सभ्य चुनौती हो। शक्ति जब विवेकशील मतदाताको हातमा पुग्छ, तब मात्रै राज्य जनताप्रति झुक्न बाध्य हुन्छ ।

आज राजनीतिक दल र उम्मेदवारहरू केवल समर्थन खोजिरहेका छैनन्, उनीहरू सार्वजनिक फैसला प्रतिक्षा गरिरहेका छन् । विगतका काम, व्यवहार र दृष्टिकोणको लेखाजोखा यही निर्वाचनबाट हुनेछ । यसपटक निर्णय भावनामा होइन, मूल्यमा आधारित हुनुपर्छ। हामीले सोध्नै पर्छ को केवल बोल्छ, र को जिम्मेवारी बोक्न सक्छ ? को शक्ति चाहन्छ, र को सेवा गर्न तयार छ ? यही प्रश्नको उत्तर मतदान हो ।

यदि यसपटक पनि हामीले सजिलो विकल्प रोज्यौँ, चिनजान, दबाब वा भयका आधारमा निर्णय ग¥यौँ भने परिवर्तन फेरि पछाडि धकेलिनेछ। लोकतन्त्र बारम्बार अवसर दिँदैन। इतिहासले केही क्षण मात्र दिन्छ, जहाँ सच्याउने मौका हुन्छ। आजको निर्वाचन त्यस्तै दुर्लभ क्षण हो । जहाँ नागरिकले आफ्ना गल्तीहरू स्वीकार गरेर भविष्यप्रति इमानदार हुन सक्छ । आज देशले स्थिरता होइन, विश्वास खोजिरहेको छ । विकासभन्दा पहिला न्याय, योजनाभन्दा पहिला इमान्दारी र नाराभन्दा पहिला उत्तरदायित्व चाहिएको छ ।

यी सबै मतपत्रमा शब्दका रूपमा लेखिएका हुँदैनन्, तर सही मतले तिनको सम्भावना खोलिदिन्छ । गलत मतले भने ती सबै ढोका बन्द गरिदिन्छ । अन्ततः लोकतन्त्र कुनै कागजी व्यवस्था होइन, यो नागरिक–राज्य सम्बन्धको नैतिक सम्झौता हो । त्यो सम्झौता सशक्त रहन्छ कि कमजोर बन्छ भन्ने निर्णय यही मतदानले गर्नेछ । बलियो राष्ट्र भाषणले होइन, विवेकशील नागरिकले बनाउँछ ।

र विवेकको सबैभन्दा औपचारिक, प्रभावकारी र शान्त अभिव्यक्ति भनेकै मतदान हो । त्यसैले यो निर्वाचन कुनै दलका लागि जित–हारको खेल मात्र होइन, यो राष्ट्रका लागि दिशा निर्धारण गर्ने मोड हो । आजको मत भोलिको इतिहास हो ।

हामीले लेख्ने इतिहास कस्तो हुने ? आत्मगौरवयुक्त कि पश्चात्तापले भरिएको ? यसको उत्तर कुनै नेतासँग छैन– यो उत्तर हामी प्रत्येक मतदाताको हातमा छ । हाम्रो मतदान हाम्रो जिम्मेवारी हो, हाम्रो आवाज हो, र हाम्रो भविष्यप्रतिको हस्ताक्षर हो।

भविष्य अन्धकारतर्फ जान्छ कि उज्यालतर्फ, त्यो निर्णय अरूले होइन–हामीले मतपेटिकामार्फत आजै गरिरहेका छौँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?