© 2026
गोरखा ।
तीन महिनापछि उत्तरी गोरखाको सामागाउँ र साम्दोका बासिन्दाले बिजुली बाल्न पाएका छन् । सामागाउँ लघुजलबिद्युत आयोजनाको उपकरण मर्मतपछि सञ्चालनमा आएको सो आयोजनाका अध्यक्ष वीरबहादुर लामाले जानकारी दिए।
हिमालपारीको सामागाउँ र साम्दोका बासिन्दाले ल्होसारमा बिजुली बत्ती बाल्न पाएपछि खुसी भएका छन् । मनास्लु क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–१ स्थित यी दुई गाउँमा हालसम्म मोटरबाटो पुगेको छैन । “धेरै सकस व्यहोरेर बल्लतल्ल आयोजना मर्मत गरियो”’, अध्यक्ष लामाले भन्नुभयो, “भारतबाट सामान झिकाएर मर्मत गर्दा समय पनि धेरै लाग्यो ।” मोटरबाटो नपुगेको सो गाउँमा हेलिकप्टरबाट उपकरण ढुवानी गरेर मर्मत गरिएको उनको भनाइ छ ।
सामागाउँका वडाअध्यक्ष कर्मा छेवाङले ल्होसारमा बत्ती बाल्न पाउँदा गाउँले रमाएको प्रतिक्रिया दिए । चुमनुब्री– १ सामागाउँ र साम्दोका करिब ३०० घरपरिवारका लागि कादुरी नामक संस्थाले पाँच वर्षअघि सामागाउँ जलबिद्युत आयोजनाबाट १०० किलोवाट क्षमताको बिद्युतउत्पादन गरेको थियो । रासस