© 2026
बुटवल । रुपन्देहीको तिलोत्तमा–४ स्थित ज्ञानगंगा पाठशालाले आफ्नो वार्षिक उत्सवको अवसर पारेर पाँचौँ ज्ञानगंगा यू–१६ जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।
जिल्ला स्तरीय प्रतियोगितामा रुपन्देहीका १९ विद्यालयका खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई नगदसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रथम हुने टिमले नगद रु. १५ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो हुने टिमले नगद रु. १० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसै गरी तेस्रो हुने दुई टिमले जनही नगद रु. ४ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम पाण्डेयले खेलकुदका माध्यमबाट विद्यालय र अभिभावकबिचको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले अभिभावक दौड प्रतियोगिता आयोजना गरिएको बताए । उनले विद्यालयले सप्ताहव्यापी विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको जानकारी दिए ।
विद्यालयका प्राचार्य चन्द्र अधिकारीले विद्यार्थीहरूको व्यक्तित्व विकास तथा लुकेका प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको बताए ।
सोमबार पीजीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूका लागि खाना महोत्सव र नृत्य प्रतियोगिता आयोजना गरिएको थियो । मंगलबार अभिभावक दौड प्रतियोगिता सम्पन्न गरिएको हो ।
विद्यालयमा अध्ययनरत हरेक विद्यार्थीको सहभागितामा विविध कार्यक्रमहरू सञ्चालन गरी वार्षिक उत्सव मनाइएको प्राचार्य अधिकारीले जानकारी दिए ।