© 2026
गुल्मी ।
यस वर्ष गुल्मीमा सुन्तलाको उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस पटक जिल्लामा सुन्तलाको उत्पादनमा ३२ प्रतिशतले कमी आएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
गत वर्ष २४ करोड ५० लाख भन्दा बढीको सुन्तला उत्पादन भएकोमा यस पटक उत्पादन ३२ प्रतिशत गिरावट आएको कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टिकाराम न्यौपाने बताएका छन् ।
गुल्मी जिल्लामा यस वर्ष २० करोड ६७ लाख ८४ हजारको सुन्तला उत्पादन भएको छ । गत वर्ष सुन्तला खेतीबाट मनग्ये आम्दानी गर्दै आएका यहाँका कृषकहरूले यस पटक अपेक्षागरे अनुसार सुन्तला उत्पादन नभएको बताएका छन् ।
यहाँका कतिपय कृषकहरूले गत वर्ष दश लाख भन्दा बढीको सुन्तला बिक्री गरेका थिए । जिल्लामा सबै भन्दा बढी सुन्तला उत्पादन गरेर बिक्री गर्ने कृषकहरूमा धुर्कोट गाउँपालिका–१ नयाँगाउँका खुम बहादुर पुन र टिका हमाल त्यसैगरी वडा नं. २ अन्तर्गत पिपलधाराका बिष्णु प्रसाद खनाल लगायत छन । उनीहरूले वार्षिक दश लाख बराबरको सुन्तला बिक्रीगर्दै आएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
जिल्लामा उत्पादित सुन्तला मध्ये यस पटक दश करोड मूल्य बराबरको सुन्तला मात्र जिल्ला बाहिर निर्यात भएको कार्यालयले जनाएको छ । गुल्मीबाट गत बर्ष १३ करोड बराबरको सुन्तला जिल्ला बाहिर निर्यात भएकोे थियो ।
सुन्तलाको उत्पादन घट्नुमा बेमौसमी वर्षा, कृषकहरूले बगैंचा व्यवस्थापनमा ध्यान नदिनु, सानैमा फल झर्ने समस्या, रोग/किराको प्रकोप बढ्नु, सुन्तलालाई उचित मलखाद तथा सिँचाई नहुनुु, समयमा सुन्तलाको बोटहरू काँटछाट नगर्नु जस्ता मुख्य कारण रहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले बताएका छन् ।
गुल्मीमा कृषकहरूले परम्परागत रूपमा सुन्तला खेती गर्दैै आइरहेका छन् । परम्परागत खेतीका कारण समय समयमा सुन्तलाका फेद र जरा कुहिने समस्याका कारण सुन्तलाको उत्पादनमा कमी आउँदै जान थालेको धुर्कोट गाउँपालिकाका–२ पिपलधाराका कृषक शिवलाल खनालले बताए । सुन्तला बगैँचामा सयमै मलखादको व्यवस्थापन र सुक्ष्म तत्वको प्रयोग गर्ने हो भने उत्पादनमा बृद्धि हुने खनालको भनाइ छ ।
जिल्लामा अधिकाँश कृषकहरूले सुन्तला बगैँचामा बिजु विरुवाहरू लगाउने प्रचलन छ । यहाँका सुन्तला बगैँचाहरूमा ९५ प्रतिशत भन्दा धेरै विजु बिरुवाका बोटहरू छन् । कलमी बोटहरूले भन्दा बिजु बिरुवाहरूले लामो समयसम्म फल्दिने भएका कारण यहाँका कृषकहरूको रोजाई बिजु बिरुवामा पर्ने गरेको छ । जिल्लामा हाल ६ सय १५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुने गर्दछ । तर व्यवसायिक रूपमा सुन्तला खेती गर्ने कृषकहरूको संख्या त्यति धेरै छैन ।
जिल्लाका ९३ वडाहरू मध्ये ३६ वडामा सुन्तला जात फलफूल जोन कार्यक्रम लागु भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कृषि इन्जिनियर विष्णुप्रसाद पोख्रेलले बताए । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मार्फत जिल्लाको मदाने गाउँपालिकाको पुर्कोटदह, धुर्कोट गाउँपालिकाको पिपलधारा र सत्यवतीको लिम्घा र रेसुङ्गाको अर्खले लगायतका ठाउँमा चक्लाबन्दी गरी व्यवसायिक सुन्तला खेती गरिँदै आएको छ ।
गुल्मीको सुन्तला निकै रसिलो र स्वादिलो हुने भएका कारण बजारमा यहाँको सुन्तलाको राम्रो माग हुने गरेको हो । सुन्तला खरिद गर्नका लागि बुटवल, पाल्पा, अर्घाखाँची लगायतका जिल्लाहरूबाट व्यापारीहरू घरघरमै पुगेर एकमुष्ट रूपमा सुन्तलाको बगैँचा नै खरिद गरेर लौजाने गर्दछन् ।
सुन्तलाजात फलफूलको दिगो विकासका लागि कृषि ज्ञान केन्द्रले पनि सुन्तलाका विभिन्न जातहरू पहिचान गरी तिनको व्यवसायीकरण गर्न सुरु गरेको छ । कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मार्फत सुन्तलाको उत्पादकत्व वृद्धिका लागि बगैँचा व्यवस्थापनमा जोड दिएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मार्फत सुन्तलाको बगैचा सुधारका साथै मलखादको व्यवस्थापन, सिँचाइ र बोटहरू काँटछाँट लगायतका कार्यक्रम सञ्चालन गरिँदै आएको बताइएको छ ।
जिल्लामा धुर्कोट गाउँपालिकाको नयागाउँ, पिपलधारा, छत्रकोटको लुम्छा, श्रृङ्गा, रेसुङ्गा नगरपालिकाको भाडगाउँ, रुरुक्षेत्रको मुसिडाँडा, चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङ्कोट, गुल्मीदरबारको गौडाकोट, कालीगण्डकीको अर्बेनी, जयखानी चन्द्रकोटकोे रेमी, सत्यवती र मदानेको भनभने सुन्तलाको मुख्य पकेट क्षेत्र मानिन्छन् ।