Butwal Today

टी-२० विश्वकप: दीपेन्द्रको अर्धशतकमा १२ वर्षपछि नेपालको पहिलो जित

५ फाल्गुन २०८२, मंगलवार
अ+
अ-

मुम्बई । दीपेन्द्र सिंह ऐरीको आक्रमक अर्धशतकमा नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्याण्डलाई ७ विकेटले पराजित गर्दै १२ वर्षपछि विश्वकपमा पहिलो जित हात पारेको छ ।

मुम्बईको वानखेडे मैदानमा स्कटल्याण्डलाई हराउँदै यस विश्वकपमा सान्त्वना जित निकालेको नेपालले सन् २०१४ पछि टी२० विश्वकपमा पहिलो खेल जितेको हो । सन् २०१४ मा बंगलादेशमा विश्वकपमा डेब्यु गर्दा हङकङ र अफगानिस्तानलाई पराजित गरेको नेपालले त्यसयता ६ खेलमा हार व्यहोरेको थियो ।

भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा टस जितेर फील्डिङ गरेको नेपालले निर्धारित २० ओभरमा विपक्षीलाई १७० रनमा रोकेको थियो।
नेपालका लागि सोमपाल कामीले ३ अनि नन्दन यादवले २ तथा रोहित पौडेल र कुशल भुर्तेलले १-१ विकेट लिएका थिए।
लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर १७१ रन पूरा गर्यो। नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ५० रन, कुशल भुर्तेलले ४३ रन र आशिफ शेखले ३३ रन बनाए।
यसअघि विश्वकपअन्तर्गत खेलेका तीनै खेल हारेपछि नेपाल सूपर ८ मा पुग्ने सम्भावनाबाट बाहिरिइसकेको थियो।
पहिलो खेलमा इङ्ग्ल्यान्डसँग झिनो अन्तरले पराजित भए पनि प्रशंसा पाएको टीमको इटली र वेस्ट इन्डिजसँगका पछिल्ला दुई खेल अपेक्षाअनुसारका हुन सकेका थिएनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?