Butwal Today

बागी उम्मेदवार शर्मा र पूर्वमन्त्री उपाध्यायलाई निष्काशन गर्ने कपिलवस्तु कांग्रेसको निर्णय

५ फाल्गुन २०८२, मंगलवार
अ+
अ-

बुटवल । बागी उम्मेदवारी दिएका आशिष शर्मा, पूर्वमन्त्री दीपकुमार उपाध्यायसहित १९ जनालाई कांग्रेस कपिलवस्तुले पार्टीबाट पाँच वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको छ। शर्माले क्षेत्र नम्बर १ मा आधिकारिक उम्मेदवार अतहर कमालविरुद्ध बागी उम्मेदवारी दिएका छन्।

तौलिहवास्थित पार्टी कार्यालयमा बसेको जिल्ला कार्य समिति बैठकले अनुशासन समितिको सिफारिसका आधारमा उनीहरुलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्न कांग्रेस लुम्बिनी प्रदेशमा सिफारिस गरेको जिल्ला सचिव शक्ति सिंह ठकुरीले बताए। कारबाही सिफारिस परेकामा पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं भारतका लागी पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय पनि छन्। उपाध्याय शर्माका बुवा हुन्।

महासमिति सदस्यहरु राजेशबहादुर सिंह, कमल टण्डन, बिष्णु न्यौपाने, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अब्दुल मन्नान खाँ, जिल्ला सदस्यहरु हरिराज घिमिरे, कमलराज आचार्य, क्षेत्र नं. १ (क) का प्रदेश सभापति दुर्गा केसी, महाधिवेशन प्रतिनिधि डोलकराम घिमिरे, क्षेत्र नम्बर १ (क) प्रदेश सदस्य बिनोद घिमिरे, शुद्धोधन गाउँपालिका सभापति विश्वम्भर कुर्मी, मायादेवी गाउँपालिकाका सभापति शैलेन्द्रधर द्विवेदीलाई कारबाहीको सिफारिस गरिएको छ।

डोलकराम घिमिरे २०७९ को निर्वाचनमा कांग्रेसबाट लुम्बिनी प्रदेश सदस्यमा उम्मेदवार बनेका थिए। कारबाहीका सिफारिसमा पर्नेहरुमा बाणगंगा न.पा. ६ का बुथ ईकाई सभापति अनिल पाण्डे, क्षेत्रीय प्रतिनिधिहरु सरजुप्रसाद चौधरी, तिलकराम पाण्डे, सिडियो भन्ने परमेश्वर पाठक, चर्तुभुजीमणी त्रिपाठी र मिथीला शर्मा रहेका छन्।

पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध र अन्य उम्मेदवारलाई समर्थन गरेको प्रमाणका आधारमा जिल्ला अनुशासन समितीको फागुन ३ गतेको बैठकको सिफारिस अनुसार पार्टीको बिधानको धारा ३४ को उपधारा ४ (क) र (ख) बमोजिम पार्टीको साधारण सदस्य नरहने गरी निजहरुलाई पाँच वर्षसम्म निष्कासन गर्ने निर्णय गरिएको ठकुरीले बताए। सो निर्णय अनुमोदनका लागि पार्टीको लुम्बिनी प्रदेश कार्य समिति र केन्द्रीय अनुशासन समितिलाई सिफारिस गर्ने निर्णय भएको पार्टीका जिल्ला सचिव शक्ति सिंह ठकुरीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?