© 2026
दाङ ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो पक्षमा नतिजा ल्याउनका लागि उम्मेदवारहरू प्रचारप्रसारका लागि गाउँ पुगिसकेका छन् ।
उम्मेदवार र दलका कार्यकर्ताहरू सानो समूहमा नागरिकका घरदैलोमा पुग्ने र उनीहरूका कुरा सुन्न थालेका छन् । गाउँ गाउँमा नेता पुगेको देख्दा नागरिकले आफ्ना कुरा राख्न पाएका छन् ।
दाङ निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवारहरू पनि आ–आफ्ना ‘एजेन्डा’ लिएर गाउँ–गाउँ पुगेका छन् । नेपाली काँग्रेसका उम्मेदवार दीपक गिरीले आफूले सिँचाइमन्त्री हुँदा बृहत दाङ उपत्यका सिँचाइ आयोजना ल्याउन भूमिका खेलेको कुरा बताउँदै जनतामाझ गएका छन् ।
उनले पश्चिम दाङका सडक सञ्जालमा भूमिका खेलेको र आगामी निर्वाचनमा विजयी बनाए गाउँमा अरू विकास गर्ने बताएका छन् । टरिगाउँ विमानस्थल बिस्तारका लागि पनि पहल गरिरहेको उनको भनाइ छ । घोराही–तुलसीपुर चारलेन सडक निर्माणका लागि पनि आफूले पहल गरेको उनको भनाइ छ । गिरी २०५१ सालदेखि चुनाव लड्दै आएका छन् । उनी अहिलेसम्म दुईपटक मात्रै निर्वाचित भएका छन् ।
२०७० सालको संविधानसभाको निर्वाचन र २०७९ सालको प्रतिनिधिसभा सदस्यमा गिरी निर्वाचित भएका थिए । उम्मेदवार गिरी भन्छन्, “मैले सुरु गरेका विकास आयोजनालाई निरन्तरता दिन र अधुरा काम पूरा गर्न फेरि जनताको विश्वास चाहिएको छ ।”
नेकपा (एमाले) बाट चुनावी मैदानमा घनश्याम पाण्डे पनि रहेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुखमा निर्वाचित भएका थिए । नगर प्रमुख हुँदा आफूले गरेका काम नै चुनाव जित्ने आधार रहेको पाण्डे बताउँँछन् । उनले उपमहानगरपालिकाबाट संचालन हुने गरी तुलसीपुरमा मेट्रो कलेज स्थापना गरेका छन् ।
अस्वारामा अस्पताल, तुलसीपुरमा व्यापारिक भवन निर्माण जस्ता परियोजनामा काम गरेको र अझै धेरै काम बाँकी रहेकाले यो निर्वाचनमा उमेदवार बनेको उनको भनाइ छ ।
उनले दाङको समृद्धि र विकास, किसानको हक अधिकार सुनिश्चित, स्वरोजगार सिर्जना, टरिगाउँ विमानस्थल व्यवस्थित, समृद्धि र विकासको हब, शिक्षा र स्वास्थ्य, प्रविधि, उद्यमशीलताको हबका रूपमा विकास गर्ने लक्ष्य राखेका छन् ।
उनले मेट्रो कलेज, मेट्रो अस्पताल, व्यवस्थित बसपार्क, तरकारी बजार, अटो भिलेज, टरिगाउँ विमानस्थल सञ्चालन, इन्धन डिपो, सुत्केरी भत्ता र ‘स्मार्ट छोरी’ कार्यक्रम जस्ता दीर्घकालीन र जनमुखी कामको थालनी गरेको र ती कामलाई व्यवस्थित गर्नका लागि उम्मेदवारी भएको बताएका छन् ।
सामुदायिक वन क्षेत्रका विज्ञका रूपमा परिचित पाण्डेले संयुक्त राष्ट्र सङ्घको महासभासहित विश्वका ५० भन्दा बढी देशमा सामुदायिक वन र प्राकृतिक स्रोत व्यवस्थापनका विषयमा नेपालको पक्ष प्रस्तुत गरिसकेका छन् ।
साथै उनले संसद्मा गएपछि संसदीय परम्परालाई जनतामा केन्द्रित गर्नुपर्नेमा पनि जोड दिएका छन् । निर्वाचन क्षेत्र भित्रका जनताका समस्यालाई पहिचान गरी समाधान गर्नेतर्फ संसद्लाई केन्द्रित गर्ने उनको योजना छ । २०५४ सालमा २३ वर्षको उमेरमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख भएका थिए ।
पाण्डे भन्छन्, “स्थानीय तहमा देखाएको कार्यशैली र परिणामलाई अब संघीय संसद्मा पु¥याएर दाङलाई समृद्धिको केन्द्र बनाउने मेरो प्रतिबद्धता छ ।”
लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट धनबहादुर मास्की (राजेश) प्रतिनिधि सभा सदस्यको उमेदवार बनेका छन् । उनले आफू प्रदेशको अर्थमन्त्री हुँदा तथा सांसद हुँदा तुलसीपुरका बिभिन्न खोलामा पुल निर्माण कार्य गरेको र अझै केही काम बाँकी रहेकाले जनतामाझ आएको बताएका छन् ।
गाउँका नागरिकको समस्या राम्रोसंग बुझेको र आगामी कामको बारेमा योजना लगेर गाउँ पुगेको उनको भनाइ छ । मास्कीले गाउँ–गाउँमा सडक, शिक्षा, स्वास्थ्यलगायत पूर्वाधार निर्माण गर्ने काम अघि बढाएको बताउँछन् ।
उनले दामोदर सडक स्तर वृद्धि, ग्वारखोला हाइड्याम्प, प्रादेशिक अस्पतालको स्तर वृद्धि, कृषि क्याम्पस निर्माण, तुलसीपुर–हापुरे चारलेन, राप्ती लोकमार्ग चारलेन बनाउने जस्ता एजेन्डा लिएर जनतामाझ पुगेका छन् । उनी २०७९ को निर्वाचनमा पहिलोपटक प्रदेशसभा सदस्य बनेका थिए ।
मास्की भन्छन्, “प्रदेशमा थालेका विकासका योजनालाई संघीय स्तरबाट थप स्रोत र अधिकार ल्याएर पूरा गर्ने मेरो उद्देश्य हो ।”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा रहेका कमल सुवेदी यसअघिको निर्वाचनमा पनि उम्मेदवार थिए ।
उनले सुशासन र डेलिभरीको मुद्दालाई अघि सारेका छन् । सुशाशनले मात्रै देशमा परिवर्तन हुने उनको भनाइ छ । नयाँलाई अबसर दिनुपर्ने र केही गरेर देखाउने उनको प्रतिवद्धता रहेको छ ।
युवा पुस्तालाई स्वरोजगार सिर्जना गर्ने, सुशासन कायम गर्ने, विकास निर्माणलाई तीव्रता दिने उनका एजेन्डा छन् । “पुराना शैलीभन्दा फरक पारदर्शी र जवाफदेही राजनीति मार्फत दाङमा विश्वासको नयाँ सुरुवात गर्न चाहन्छु”–सुवेदी भन्छन् ।
दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा १ लाख ५० हजार ७२० मतदाता रहेका छन् ।