© 2026
बुटवल। रुपन्देहीमा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मध्ये १८ जनाले मात्रै छुट्टै बैंक खाता खोलेका छन्।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमा गरी १५७ जनाले उम्मेदवारी दर्ता गराएका थिए। जसमध्ये २ जनाको उम्मेदवारी फिर्ता र खारेज भएको थियो।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख कल्पना अर्यालका अनुसार सोमबारसम्म प्राप्त जानकारी अनुसार १८ जनाले मात्रै निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता सञ्चालन गरेका हुन्। उनले ९९ जनाले बैंक खाता सञ्चालनका लागि सिफारिश लगेपनि सबैले खाता खोलेको जानकारी प्राप्त नभएको बताइन्।
निर्वाचन आयोगले उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न, गराउन नहुने भनी राजनीतिक दललाई निर्देशन दिएको थियो। निर्वाचन आचारसंहितामै उक्त विषय उल्लेख गरिए पनि अधिकांश उम्मेदवारले बैङ्क खाता खोलेका छैनन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन प्रयोजनका लागि रु २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा वा खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्ने भनी आइतबार फेरि विज्ञप्तिमार्फत ध्यानाकर्षण गराइएको बताए।
आयोगले आदेश दिएमा खर्चको बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थामा रहेको खाताको विवरण तथा सक्कल बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थाको खाताको विवरण पेस गर्नुपर्ने पनि उनले जानकारी दिए।
भूगोलअनुसार उम्मेदवारले रु २५ लाखदेखि रु ३३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ।
निर्वाचन कार्यालय प्रमुख अर्यालले निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको र निर्वाचनका तयारीहरु अगाडि बढेको बताइन्।
उनले निर्वाचनमा खटिने कर्मचारीहरुको खटनपटनको तयारी भइरहेको र निर्वाचन सामग्रीहरु बुधबारदेखि निर्वाचन केन्द्रहरुमा पठाउने बताइन्।