Butwal Today

शिक्षा पत्रकार समूह २७ औँ वर्षमा

५ फाल्गुन २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

शिक्षा पत्रकारहरूको संस्था शिक्षा पत्रकार समूह (इजेजी) २७औँ वर्षमा प्रवेश गरेको छ ।

स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा समूहका अध्यक्ष निर्जला कक्षपतिले समूहका उद्देश्यलाई परिपूर्ति गर्न थप सक्रिय र एकताबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले विभिन्न कारणले संस्थाभन्दा बाहिर रहेका र सदस्यता नलिएका शिक्षा पत्रकारहरूलाई समूहमा आबद्ध हुन आग्रह गरिन् ।

समूहका महासचिव रोशन गाउँलेले स्थापना दिवसमा आयोजना हुँदै आएको सम्मान–पुरस्कार वितरणलगायत कार्यक्रम आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि आयोजना गरिने जानकारी दिए ।

समूहका पूर्व अध्यक्षहरू नारायण अमृत, प्रकाश सिलवाल र तुला अधिकारीले संस्थाको स्थापना दिवसमा शुभकामना दिँदै आफ्नो उद्देश्यमा कटिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । विसं २०५६ मा पत्रकार राजन शर्माको नेतृत्वमा स्थापना भएको समूहमा हाल करिब ५० सदस्य आबद्ध रहेका छन् भने समूहको प्रदेशगत सञ्जाल पनि विस्तार गरिएको छ ।

संस्थाले ग्रामीण क्षेत्रमा शिक्षाको मूल्य वा शिक्षाको महत्वलाई प्रवर्द्धन गर्नाका साथै बालिका शिक्षा र सीमान्तकृतहरूको शिक्षामा जोड दिँदै आइएको त्यस अवसरमा जानकारी दिइयो ।

यसै गरी शिशु कक्षादेखि विश्वविद्यालय तहसम्म गुणस्तरीय र सुलभ शिक्षाका लागि वकालत, अनुसन्धान र प्रकाशनमार्फत समूहले काम गर्दै आएको पनि जानकारी दिइयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?