Butwal Today

रासस ६५औँ स्थापना दिवसः निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनमा जोड

५ फाल्गुन २०८२, मंगलवार
अ+
अ-

लुम्बिनी ।
राष्ट्रिय समाचार समिति राससको ६५ औँ वार्षिकोत्सवका अवसरमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गरी निर्वाचन आचारसंहिता र सञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । रासस लुम्बिनी प्रदेश कार्यालय बुटवलद्वारा आयोजना गरिएको अन्तरक्रियामा बुटवलस्थित कालिका–मानव ज्ञान माविमा कानुन सङ्कायमा अध्ययनरत विद्यार्थी र लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गत स्नातक कानुन सङ्कायमा अध्ययनरत विद्यार्थीको उल्लेख्य सहभागिता थियो ।

अन्तरक्रियामा कानुन विषयका विद्यार्थीले आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन र निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन सुरक्षा, सञ्चारमाध्यमको भूमिका र आचासंहिता प्रभावकारी कार्यान्वयन लगायत विषयमा खुलेर छलफल गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा निर्वाचन रूपन्देही निर्वाचन क्षेत्र नं.२ का निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले निर्वाचन आचारसंहिता र सञ्चार विषयमा कार्यपत्र प्रस्तुत गर्दैै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने सबैको जिम्मेवारी र कर्तव्य रहेको बताए। उनले राजनीतिक दल र उम्मेदवारबीच समान प्रतिस्पर्धाको वातावरण सिर्जना गराउन आचार संहिताको पूर्ण कार्यान्वयन जरुरी रहेको बताए । उनले निर्वाचन आयोग ऐन २०७३ अनुसार निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरणका लागि आचारसंहिता बनाइएको बताए । उनले निर्वाचन राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि, अन्य सम्बन्धित व्यक्ति, दलाका भ्रातृ सङ्गठन, मतदाता प्रतिनिधि र मतगणना प्रतिनिधिका लागि आचारसंहिता बनेको स्पष्ट पारे।

आचारसंहितामा कसैले पनि कसैको घरजग्गा धनीको स्वीकृतिबिना प्रयोग गरी राजनीतिक गतिविधि गर्न नहुने, कसैको चरित्र हत्या गरी प्रचारप्रसार गर्न नहुने, प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्न नहुने, निर्वाचन अघि मत सर्वेक्षण गर्न नहुने, सार्वजनिक आवागमनमा अवरोध गर्न नहुने, निर्वाचनको निष्पक्षतामा प्रतिकूल प्रभाव पार्न नपाइने र सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रकाशन गर्न नहुनेजस्ता विषय सबैले पालना गर्नुपर्ने बताए ।

निर्वाचन अधिकृत न्यौपानेले आचारसंहिता सही ढङ्गले कार्यान्वयन हँदा मतदातालाई स्वतन्त्र, निर्भय रूपमा मतदान गर्न सुनिश्चित हुने, निर्वाचनका अवधिमा शान्ति, सुरक्षा र अनुशानसन कायम राख्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । यस्तै यसबाट सरकारी स्रोतसाधनको दुरूपयोग रोक्नु, घृणात्मक अभिव्यक्ति, गलत प्रचार तथा अफवाह नियन्त्रण गर्ने, निर्वाचन प्रक्रियामा कानुनी शासन र मर्यादा कायम राख्ने मुख्य उद्देय रहेको बताए ।

उनले लोकतन्त्रलाई सुदृढ र विश्वसनीय बनाउन मद्दत हुने, आचारसंहिताको सही ढङ्गले कार्यान्वयनबाट निर्वाचन परिणामप्रति जनविश्वास बढाउने बताए । यस्तै यसले मतदाताको अधिकारको संरक्षण हुने, सुशासन र उत्तरदायित्वको भावना विकास हुने र राष्ट्रिय एकता, सामाजिक सद्भाव कायम राख्न मद्दत पुग्ने भएकाले आचारसंहिता कार्यान्वयनमा सबैले जोड दिनुपर्ने बताए । निर्वाचनका समयमा प्रचारप्रसार गर्दा जुलुस, आमसभा, कोणसभा, बैठक र भेला गर्दा सभ्य र अनुशासित तवरले स्थानीय प्रशासनको अनुमति लिएर गर्नुपर्नेलगायत व्यवस्था रहेको जानकारी दिए ।

यस्तै, प्रचारप्रसारका क्रममा दलका झण्डा, साइनबोर्ड, व्यानर, पर्चा र राष्ट्रिय झण्डा, सवारीसाधनको प्रयोग आयोगले तोकेको आचारसंहिताको मापदण्ड अनुसार हुनुपर्ने बताए। निर्वाचन अधिकृत न्यौपानेले टेलिभिजन, रेडियो, पत्रपत्रिका, अनलाइन सञ्चारमाध्यमको प्रयोग गरी प्रचारप्रसार गर्दा आचारसंहिताले तोकेको मापदण्ड पूर्ण रूपले पालना गर्नुपर्ने बताए । उनले जाचबुझ वा अनुगमनका क्रममा कसैबाट आचारसंहिताको पालना नभएको वा उल्लङ्घन भएको देखिएमा त्यस्तो कार्य रोख्न वा बदर गर्न आयोगले सम्बन्धित राजनीतिक दल, उम्मेदवार, व्यक्ति तथा संस्था वा निकायलाई आदेश दिने त्यस्तो काम कारबाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल वा निकायलाई रु एक लाखसम्म जरिवाना तोक्नसक्ने व्यवस्था गरेको जानकारी दिए।

आचारसंहिताको उल्लङ्घन गरेका कारण निर्वाचन, स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट कारण र आधार खोली आयोगले उम्मेदवारीसमेत रद्द गर्नसक्ने कानुनी व्यवस्था रहेको जानकारी दिए । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारका लागि उम्मेदवारले अनिवार्य बैंक खाता खोल्नुपर्ने व्यवस्था रहेको भए पनि रूपन्देहीका केही उम्मेदवाले अझै पनि बैंक खाता खोलेको विवरण आयोगमा नबुझाएको बताए ।

कार्यक्रममा राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष बालकृष्ण चापागाइले रासस राज्यको लगानीमा सञ्चालित सञ्चारमाध्यम भए पनि यसको निष्पक्षता र विश्वसनीयताका कारण यसको महत्त्व बढ्दै गएको बताए । उनले राज्य सङ्कटमा परेका अवस्थामा राससको सूचना र सेवा थप जिम्मेवार र प्रभावकारी हुने भएकाले यसको विकासमा राज्यले थप जोड दिनुपर्ने बताए ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामराज पोखरेलले सामाजिक सञ्जालका सूचनामा भर परेर धारणा बनाउने प्रवृत्तिका कारण मुलधारका सञ्चारमाध्यममा नागरिकले भर गर्न छाडेको बताउनुभयो । उहाँले निर्वाचनका बेला आचारसंहिताविपरीत भ्रमपूर्ण सूचना दिने कारणले आममतदाता भ्रममा पर्ने गरेको बताए। नेपाल पत्रकार महासङ्घ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेले आचारसंहिता पालना गराई निर्वाचनलाई स्वच्छ, मर्यादित र निष्पक्ष बनाउने जिम्मेवारीबाट सञ्चारकर्मी पन्छिन नहुने बताउँदै आचारसंहिता कार्यान्वयन गराउने कुरामा प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय समाचार समिति रासस लुम्बिनी प्रदेश कार्यालय प्रमुख भरत केसीले कार्यक्रमबारे जानकारी दिँदै राससले पनि निर्वाचन आयोग, प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासङ्घको आचारसंहिताको अनुशरण गरेर संस्थाले आफ्ना पत्रकार तथा कर्मचारीका लागि अलग्गै आचारसंहिता बनाएर कार्यान्वयन गरेको बताए ।

अन्तरक्रियामा सहभागी विद्यार्थीहरुले निर्वाचन आयोगले आचारसंहिता बनाउने तर कार्यान्वय प्रभावकारी नदेखिएको र मिडियामा आउने भ्रामक समाचारलाई नियमन गर्ने निकाय नहुँदा आचारसंहिता कार्यान्वयन फितलो देखिएको बताए । उनीहरुले निर्वाचनका समयमा स्थानीय पालिकाका जनप्रतिनिधि आफ्ना पार्टीका उम्मेदवारको प्रचारप्रसारमा लाग्ने तर कार्यालयमा जनताका काम प्रभावित हुने गरेको गुनासो गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?