© 2026
लमही ।
दाङ क्षेत्र न. १ मा उज्यालो पार्टी नेपाल र जनता लोकतान्त्रिक पार्टी नेपालले स्वतन्त्र उम्मेदवार कुलप्रसाद केसीलाई औपचारिक रूपमा समर्थन जनाएका छन् ।
दुवै पार्टीले जारी गरेको संयुक्त तथा छुट्टाछुट्टै विज्ञप्तिमा स्वच्छ छवि, विकासमुखी सोच र जनउत्तरदायी नेतृत्वका कारण केसीलाई समर्थन गरिएको उल्लेख गरिएको छ ।
पार्टी नेताहरूले परम्परागत दलहरूको राजनीतिले जनताको अपेक्षा पूरा गर्न नसकेको निष्कर्ष निकाल्दै वैकल्पिक र स्वतन्त्र नेतृत्वको खाँचो औंल्याएका छन् ।
समर्थन घोषणा कार्यक्रममा बोल्दै लोकतान्त्रिकका अशोक कुमार यादब र नेपालका राजेन्द्र चौधरीले भने, “कुलप्रसाद केसी कुनै दलको दबाबमा नपर्ने, जनताको आवाज संसदसम्म पुर्याउन सक्ने सक्षम उम्मेदवार हुनुहुन्छ । अहिलेको अवस्थामा यस्तै नेतृत्व आवश्यक छ ।”
उता, स्वतन्त्र उम्मेदवार केसीले आफूलाई प्राप्त समर्थनप्रति आभार व्यक्त गर्दै सबै पक्षलाई समेट्ने साझा राजनीतिक एजेन्डा अघि बढाउने प्रतिबद्धता जनाए । उनले भने, “यो समर्थन केवल व्यक्तिगत होइन, परिवर्तनको पक्षमा उभिएका नागरिकहरूको समर्थन हो । म जनताको भरोसालाई कर्मले प्रमाणित गर्नेछु ।”
दुई फरक दलको समर्थनले केसीको उम्मेदवारीलाई निर्णायक मोड दिएको छ । विशेषगरी असन्तुष्ट मतदाता, युवावर्ग र वैकल्पिक राजनीतिका समर्थकहरू उनको पक्षमा आकर्षित हुने सम्भावना बढेको बताइन्छ ।
यस समर्थनसँगै चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ भने स्वतन्त्र उम्मेदवारहरूको भूमिकाबारे नयाँ बहस पनि सुरु भएको छ । लुम्बिनी प्रदेशको राजधानी देउखुरी घोषणापछि पनि अपेक्षित रूपमा संरचना निर्माण, गुरुयोजना कार्यान्वयन र दीर्घकालीन व्यवस्थापन अघि बढ्न नसकिरहेको अवस्थामा त्यसको जिम्मेवारी लिन भन्दै पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उतरेको बताए ।
दलगत स्वार्थ, नेतृत्वको दोहोरिने अभ्यास र राजधानीप्रति देखिएको उदासीनताले विकास अवरुद्ध भएको ठहर गर्दै उनले अधुरा काम पूरा गर्नु नै आफ्नो उम्मेदवारीको मूल उद्देश्य भएको बताए ।
दाङको लमहीमा सोमबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा केसीले नेपालका सात प्रदेशमध्ये लुम्बिनी प्रदेशको राजधानी नयाँ स्थानमा कायम गरी कार्यान्वयन गर्ने ऐतिहासिक निर्णय आफ्नो नेतृत्वमा भएको दाबी गरे । उनले दलका उम्मेदवारहरूले राजधानीका विषयमा टुक्रे र सतही कुरा मात्र गरिरहेको आरोप लगाउँदै समग्र गुरुयोजनाअनुसार काम अघि नबढेको बताए ।
उनले भने, ‘अहिले दलका उम्मेदवारहरू टुक्रे–टुक्रे कुरा गर्दै हिँडिरहेका छन् । राजधानी क्षेत्रको समग्र गुरुयोजनामा उल्लेख भएका विषय कार्यान्वयनमा छैनन् । राजधानी व्यवस्थापनका धेरै काम रोकिएका छन्, ती पूरा गर्नकै लागि मेरो उम्मेदवारी हो उनले भने ।
उनले यस प्रवृत्तिले जनतामा वितृष्णा बढाएको र परिवर्तनको चाहना कमजोर बनाएको तर्क गरे।
देउखुरीको भौगोलिक, सामाजिक र राजनीतिक वास्तविकता आफूले नजिकबाट बुझेको उल्लेख गर्दै केसीले देउखुरीका जनताले विकास र समृद्धि खोजिरहेको बताए । उनले ‘देउखुरी बनाउने अभियान’को नेतृत्व गर्न आफू तयार रहेको स्पष्ट पारे ।
संघीय, प्रदेश र स्थानीय सरकारका विभिन्न निर्णयविरुद्ध जेनजी आन्दोलनका क्रममा धावा बोल्ने र आगजनीसमेत भएका घटनाको स्मरण गराउँदै केसीले देउखुरीका जनताको सुझबुझका कारण लुम्बिनी प्रदेशको राजधानी जोगिएको दाबी गरे ।