© 2026
विषय प्रवेश: इन्टरनेटमा आधारित फेसबुक, मेसेञ्जर, ह्वाट्स्एप, ट्वीटर लगायतका सामाजिक सञ्जाल भनिने विद्युतीय सञ्चार माध्यमहरूको अत्यधिक प्रयोग भैरहेको छ । यी सामाजिक सञ्जालहरूमा प्रयोगकर्ता स्वयम्ले निर्माण गरेको विषयवस्तुलाई हुबहु पोस्ट गर्न सकिने ती सामग्री एकैपटक संसारभर फैलाउन सकिने र प्रापकहरूका प्रतिक्रियाहरूसमेत पढ्न, देख्न र सुन्न सकिन्छ ।
ब्यक्तिगत सूचना, विचार र सन्देशलाई विस्तार गर्ने सस्तो, छिटो र चाहेअनुसारको विषयवस्तु सम्प्रेषण गर्न सकिने भएकोले मानिसहरूले सामाजिक सञ्जाललाई सञ्चारको प्राथमिक माध्यमका रूपमा प्रयोग गर्न थालेका छन् । यी प्लेटफर्महरूको प्रयोग छोटो समयमै विश्वब्यापी भयो । करीव ७० प्रतिशत विश्व जनसंख्याले फेसबुक प्रयोग गर्दछन् । त्यस्तै ह्वाट्स् एपको मासिक प्रयोगकर्ता ३ बिलियन रहेको छ ।
यो सन्देश आदानप्रसदान गरिने मुख्य साधन हो । त्यस्तै ट्वीटर, इन्स्टाग्राम र टिकटक छोटो भिडियो सामग्रीको बजार पनि प्रभावकारी रूपमा बढेको छ ।मानिसहरूलाई भोक खटाउन सजिलो छ तर उनीहरूले सामाजिक सञ्जालको अभाव सहन सक्दैनन् ।
मानिसको जीवनको अभिन्न अङ्ग बनेको सामाजिक सञ्जालका सकारात्मक र नकारात्मक दुवै पक्षका बारेमा सचेतना र सही प्रयोगका लागि बहस गर्ने उद्देश्यकासाथ यो लेख तयार गरिएको छ ।
सामाजिक सञ्जालका सकारात्मक पक्षहरूः पछिल्ला वर्षहरूमा सूचना प्रविधि साधनहरूको सेवा, कार्यक्षमता र गुणस्तर अत्यधिक बृद्धि भएको छ । विद्युत, इन्टरनेट र कम्प्युटर, मोबाइल, ल्यापटप जगायतका ग्याजेट्हरूको प्रयोग विस्तार भएको छ ।
हरेक मानिसहरूका लागि प्रविधिको पहुँच र सञ्चालन गर्ने सिप अपरिहार्य भएको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार, यातायात, शासन, प्रशासन आदि सबै क्षेत्रमा डिजिटल प्रविधिको उपयोग बढेकोले यसको पहुँच र प्रयोगमा हरेक मानिसको ध्यान जानु स्वाभाविक हो ।
इन्टरनेट र ग्याजेट्स् प्राप्त भयो भने हरेक कार्य छिटो, गुणस्तर र सरल तरिकाले सम्पन्न गर्न सकिने भएकोले सूचना प्रविधिप्रति आकर्षण बढ्नु स्वाभाविक हो । इन्टरनेटका माध्यमबाट मोबाइल फोन वा कम्प्युटर वा ट्याबलेट आदिमा विभिन्न सामग्री उपलब्ध हुन्छन् । उदाहरणका लागि नवजात शिशुका लागि समेत ध्यान तान्ने खालका भिडियो गीतहरू पाइन्छन् ।
बालबालिकाका लागि नर्सरी राइम्स्, जनावर, चरा आदिका क्रियाकलाप छन् । यी हेरेर उनीहरू रमाउन सिक्छन् । जब बालबालिकाहरू किशोरावस्थामा पुग्छन् भिडियो गेमहरू खेल्ने, म्यूजिक भिडियोहरू हेर्ने, सामाजिक सञ्जालमा साथी बन्ने बनाउने, पठनपाठनमा एआइ साधनहरूको प्रयोग गर्ने लगायतका ब्यवहार देखाउँछन् ।
बाल्यावस्थादेखि नै विद्युतीय प्रविधिको सम्पर्कमा रहेका बालबालिकाहरू यी साधन सञ्चालनमा अभ्यस्त भैरहेका हुन्छन् । बालबालिकाहरूले जीवनका हरेक पक्षमा सूचना प्रविधिको प्रयोग भएको देख्छन् र उनीहरूले पनि यी साधनहरूको उपयोग गर्न चाहनु स्वाभाविक हो ।
सामाजिक सञ्जालको सबैभन्दा महत्वपूर्ण फाइदा भनेको यसले उत्कृष्ट विश्वव्यापी सञ्चारलाई सक्षम बनाएको छ । अब सामाजिक सञ्जाल मार्फत विश्वभरका प्रयोगकर्ताहरूसँग सम्पर्क गर्न सम्भव भएको छ । सामाजिक सञ्जाल मार्फत ठूलो मात्रामा जानकारी आदानप्रदान गर्न, सम्बन्ध विकास गर्न र विश्वव्यापी सम्पर्कहरू सक्षम पार्न पनि सम्भव छ ।
सामाजिक सञ्जाल नयाँ सीप र अवधारणाहरू सिक्न सहज बनाउन प्रभावकारी माध्यम साबित भएको छ । विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूले शिक्षक र विद्यार्थीहरूलाई एकसाथ ल्याएर सिकाइलाई प्रोत्साहन गर्छन् ।
सामाजिक सञ्जाल उपकरणहरूको माध्यमबाट सिकारुहरूले आफ्नै गतिमा सिक्न सक्छन् । सामाजिक सञ्जालले समग्र सिकाइ प्रक्रियामा उल्लेखनीय रूपमा लचिलोपनलाई पनि बढावा दिन्छ ।
सामाजिक सञ्जाल इन्टरनेटमा आम नागरिक र प्रियजनहरूलाई अद्यावधिक जानकारी र समाचार प्राप्त गर्न र साझा गर्नको लागि उत्तम ठाउँहरू मध्ये एक हो । धेरै कलाकारहरू र पेशेवरहरूले आफ्नो कामका टुक्राहरू (जस्तै गीत, कविता, कलात्मक उत्कृष्ट कृतिहरू, रचना) साझा गर्न सामाजिक सञ्जाल छनौट गर्छन् । त्यसकारण, सामाजिक सञ्जाल तपाईंको रचनात्मकता, पहिचान र ब्रान्डको रूपमा व्यवसाय बढाउनको लागि एक उत्कृष्ट माध्यम हो ।
सामाजिक सञ्जालका चुनौतिहरूः सामाजिक सञ्जाल प्लेटफर्महरूको सबैभन्दा सामान्य रूपमा महसुस हुने बेफाइदाहरू मध्ये एक स्क्रीन लतलाई मानिन्छ । कोभिड–१९ महामारी पछि, सामाजिक सञ्जाल लतमा वृद्धि भएको छ र मानिसहरू प्रायः समाज र प्राकृतिक संसारबाट टाढिएका छन् । डिजिटल प्रविधिको ब्यापकता बढिरहेको छ तापनि सावधानी अपनाउनुपर्ने आवश्यकता छ ।
उदाहरणका लागि मोबाइल फोनको रेडियशनका कारण उनीहरूको मस्तिष्कमा असर पर्ने, आँखा र कानमा असर गर्ने हुन्छ । त्यसैगरी विद्यार्थीहरूले मोबाइल फोनको प्रयोगका कारण मौलिक र सिर्जनात्मक सिप गुमाइरहेका हुन्छन् । किनभने उनीहरूले वेबसाइटहरूबाट सारेर गृहकार्य गर्ने, परियोजना कार्य तयार गर्ने र परीक्षामा समेत चिट चोर्ने जस्ता खराब आचरण देखाउँछन् ।
आजकल विकास भएका च्याटजिपिटि, डिपसिक लगायतका कृत्रिम बौद्धिकता साधनको प्रयोगका कारण बठन एवम् लेखन संस्कृति हराएको छ । कपि र पेस्ट संस्कृति बढेको छ । यसरी सजिलोसँग जतिसुकै जटील समस्याको पनि समाधान क्षणभरमै पाइने भएकोले मेहनत गर्ने बानी हराएको छ । ध्यान दिएर कार्यमा लाग्ने समय अवधि घटेको छ । बेचैनी र छटपटी बढेको छ । विद्यार्थीहरू मात्र होइन शिक्षकहरूसमेतले एआइबाट सार्ने र लेखाउने गरेको थाहा पाएपछि विद्यार्थीहरूले शिक्षकलाई स्रोत बताइदिन्छन्, सार्दैनन् ।
विद्यालय शिक्षाका साथै उच्च शिक्षाका प्रतिवेदन थेसिसहरू प्लेजियारिज्मका शिकार भएका छन् । डिजिटल प्रविधिको धेरै उपयोग सामाजिक सञ्जालका लागि भैरहेको छ । फेसबुक, मेसेञ्जर, ट्वीटर लगायतका सामाजिक सञ्जालको ब्यापकतासँगै विकृति र समस्याहरू पनि बढेका छन् । बालबालिकाले छद्म तरिकाले सामाजिक सञ्जाल प्रयोग गरिरहेका हुन्छन् । उदाहरणका लागि फेसबुकले नाबालकलाई स्वीकार गर्दैन । तर उमेर परिवर्तन गरेर, फोटो परिवर्तन गरेर, नाम परिवर्तन गरेर फेसबुक चलाउने गर्छन् ।
ती फेसबुकमा साथीहरू बनाउने र सञ्चार गर्ने क्रममा समस्या देखिएका छन् । कतिपय फेसबुक आइडि बद्नियतसाथ बनाउने, आफूले रोजेको साथी मात्र साथी बनाउने, सुरूमा केही सहज खालका सन्देश सम्प्रेषण गरे पनि विस्तारै सम्बन्ध बढाउने, भेट्ने, नाजायज कार्यहरू गर्ने वा आफूले उपयोग गर्न चाहेको कार्य गर्न नमानेमा फेसबुकमा भएका सन्देश सार्वजनिक गर्ने डर धम्की दिई शारीरिक यातना वा यौन शोषण गर्ने लगायतका गलत कार्य हुने गरेका छन् ।
तसर्थ आफ्ना नाबालक सन्तानलाई फेसबुक लगायतका सामाजिक सञ्जालको प्रयोग गर्न दुरुत्साहन गर्ने, प्रयोग गर्नुपरेमा सन्तानको फेसबुकमा साथी बन्ने, फोटो वा पोष्ट गरिएका सामग्री अध्ययन विश्लेषण गर्ने गर्नुपर्छ ।
सबैभन्दा मुख्य पक्ष भनेको सुरक्षित प्रयोगसम्बन्धी साइबर सेफ्टीको ज्ञान हो । उदाहरणका लागि साथी चयनमा सतर्कता अपनाउने, आफ्नो पासवर्ड कसैलाई पनि नदिने, वित्तीय कारोबार सार्वजनिक वाइफाइबाट नगर्ने, पासवर्ड परिवर्तन गरिरहने, प्रयोगपछि आइडि लगआउट गर्ने लगायतका बानी बसाउन परामर्श गरिरहनु पर्छ ।यात्रामा रहँदाको जानकारी सार्वजनिक गर्नुहुदैन ।
त्यही समयमा घरमा चोरी वा परीवारमाथि आक्रमण वा सम्पत्ति नोक्सान गर्न उद्यत समूहलाई सहयोग पुग्छ । यसैगरी इन्टरनेटका माध्यमबाट हरेक प्रकारका विषयवस्तुमा पहुँच सम्भव छ । ती सबै सामग्री बालबालिकाका लागि उपयोगी हुदैनन् ।
उदाहरणका लागि वेश्याबृत्तिमा लागेकाहरूका लागि पर्नोग्राफी र ब्लू फिल्म उपयोगी हुन सक्छ । तर विद्यालय वा उच्च शिक्षामा लागेका बालबालिका वा किशोरकिशोरीहरूले यी विषयवस्तु हेर्न लागे भने के होला ?तसर्थ उनीहरूको पहुँचमा रहेको मोबाइल वा कम्प्युटरमा कतिपय सेवा निलम्बन गरेर चलाउन दिनुपर्ने हुन्छ । आजकल मानिसहरू स्क्रिन लतमा परेका छन् ।
केही क्षणमात्र मोबाइल चलाउन पाएन भने ठूलो चिज गुमाएको महशूस गर्छन् ।सामाजिक सञ्जालमा अफवाह फैलाउने, तथ्यहीन सन्देश पोष्ट वा शेयर गर्ने, मेसेञ्जरमा कुनै महत्वविनाका गफगाफ गर्ने, टिकटक वा रीलजस्ता सस्तो मनोरञ्जनात्मक सामग्री बनाएर पोष्ट वा शेयर गर्ने गर्नाले आफ्नै छोराछोरीको भविष्यमाथि खेलवाड गरेको ठहर्छ ।
ध्यान दिनु महत्वपूर्ण छ कि विश्वव्यापी सुरक्षा एजेन्सीहरूले तपाईंले सामाजिक सञ्जाल प्लेटफर्महरूमा पोस्ट गर्ने सबै जानकारीहरूमा पहुँच राख्छन्। फलस्वरूप, गोपनीयता लगभग सधैं सम्झौता गरिन्छ । सामाजिक सञ्जाल सामाजिक–भावनात्मक सम्बन्धको लागि एक महत्त्वपूर्ण बाधा बनेको छ ।
साइबरबुलिङ नियमित सामाजिक सञ्जाल प्रयोगको सबैभन्दा खराब पक्षहरू मध्ये एक हो । सामाजिक सञ्जाल प्लेटफर्महरूमा अनलाइन हुने धम्की भनेको साइबरबुलिङ हो । यसले पीडितहरूलाई मनोवैज्ञानिक रूपमा विचलित गर्न वा जिस्क्याउन झूटा सामाजिक सञ्जाल खाताहरू प्रयोग गर्दछ । धम्की अपमानजनक सामग्री (जस्तै फोटो र भिडियोहरू) र अनुपयुक्त पाठ सन्देशहरू पठाएर हुन्छ ।
अर्को व्यक्तिको व्यक्तिगत जानकारीमा पहुँच प्राप्त गर्ने प्रक्रियालाई जनाउने ह्याकिङले राम्रो भन्दा हानि पु¥याउन सक्छ। त्यस्तै गरी, नक्कली समाचार सामाजिक सञ्जाल मार्फत छिटो फैलिन्छ र विभिन्न विषयहरूको ज्ञानमा विनाशकारी प्रभाव पार्न सक्छ ।
निष्कर्षः सामाजिक सञ्जाल र शिक्षाको सम्बन्ध जटील र दुवैतिर धार भएको तरबारको रूपमा रहेको हुन्छ । सामाजिक सञ्जाल एकातिर शिक्षा सामग्रीको खोजमूलक आधार हो भने सँगसँगै शिक्षाबाट विकर्षण गराउने हल्का मनोरञ्जनात्मक कुलत पनि हो ।
यसले गर्दा विद्यार्थीले सतही ध्यान मात्र दिने, एकाग्रता तोडिने र बेचैनी बढ्ने, र शिक्षार्जनका लागि हल्का सहभागिता जनाउने प्रबृत्ति बढेको छ भने सहकार्यात्मक सिकाइ, विश्व ज्ञानसञ्जालमा जोडिने अवसर, र ज्ञानमा पहुँचजस्ता अपूर्व अवसरहरू पनि प्राप्त भएका छन् । सामाजिक सञ्जाल एउटा साधन हो जस्को प्रयोग जसरी गरिन्छ यसले त्यसै प्रकारको प्रतिफल प्रदान गर्दछ ।
त्यसैले विद्यार्थीलाई सामाजिक सञ्जाल निषेध गर्नुको सट्टा अर्थपूर्ण प्राज्ञिक विकासका लागि आवश्यक समालोचकीय डिजिटल साक्षरता सिपको विकास र शिक्षा र पाठ्यक्रमका उद्देश्यलक्षित सामग्री खोजी, अभ्यास र उपयोगका लागि डिजिटल सिपको उपयोग गर्ने वानीको विकास गर्नु आवश्यक छ ।