© 2026
देश निर्वाचनमय बनेको बेला वायु प्रदूषणको मात्रा ह्वात्तै बढ्दा वातावरणविदहरूले चिन्ता प्रकट गरेका छन् ।
स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार विगत केही दिनदेखि नेपालको एयर क्वालिटी इन्डेक्स ३३१ छ र काठमाडौं संसारकै धेरै वायु प्रदुषण भएको सहरको सूचीमा पहिलो नम्बरमा छ । धनगढी, चितवनको भरतपुर, ललितपुरको भैंसेपाटीमा सवैभन्दा बढी बायुको गुणस्तर खराव अवस्थामा पुगेको छ । एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ ।
एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो । तीन सयभन्दा माथि जानु घातक हो । विज्ञहरूले सुख्खा हिउँद, अत्याधिक डढेलो, कमजोर पश्चिमी वायु र धुँवा–धुलोले प्रदुषण बढेको भन्दै यही अवस्था रहे नेपाल अस्वस्थ देशको सूचीमा सवैभन्दा अघि हुने भन्दै चिन्ता ब्यक्त गरेका हुन ।
विज्ञहरूले वायु प्रदूषणको असरबाट जोगिन सकभर घरबाहिर ननिस्किने, निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्ने, बालबालिका र वृद्धवृद्धाको विशेष हेरचाह गर्नुपर्ने सुझाव दिएका छन् । अहिले देशका विभिन्न स्थानका नागरिकले आँखा पोल्ने, खोकी लाग्ने, नाक चिलाउने समस्या झेलिरहेका छन् । हिउँदे वर्षा समयमा नहुँदा विश्वका विभिन्न क्षेत्रमा वायु गुणस्तरमा सुधार आउन सकेको छैन ।
बायु प्रदुषणले चिन्ता थपिरहेको बेला राजधानी बाहिरका सहरहरू समेत बायु प्रदूषणको मारमा छन । बुटवल, भैरहवा, विराटनगर, बीरगञ्ज, तौलिहवा, नेपालगञ्ज, लगायतका सिमावर्ती क्षेत्रका सहरमा पनि बायु प्रदुषण बढेको देखिएको छ ।
लामो समयदेखि हिउँदे बर्षा नभएका कारण मौसम धुम्म हुने र बायु प्रदुषण बढेको मौसमबीदहरूले जनाएका छन । जसका अनुसार पछिल्ला केही महिनायता संघीय राजधानीमा सवैभन्दा बढी बाताबरण प्रदूषणको समस्या विकराल बनेको छ ।
स्मरणीय के छ भने ६ बर्षअघि पनि काठमाण्डौंका बायु प्रदुषण चिन्ताजनक अवस्थामा पुग्दा सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अन्तरिम आदेश दिदै बायु प्रदुषण घटाउने उपाय प्रयोग गर्न निर्देशन दिएको थियो । त्यही अवस्था अहिलेपनि आएको छ । बायु प्रदुषण बढाउने मूख्य कारक २० बर्ष पुराना सवारीका साधन समेत हुन ।
त्यसमाथि सडक कहिले मर्मत गर्ने र कहिले भत्काउने गर्दा समस्या दोहोरिन थालेको छ । वर्षौं पुराना सवारीसाधनका कारण समेत प्रदूषण बढिरहेको पुष्टि हुँदा पनि सरकारले पुराना सवारीलाई प्रतिबन्ध गराउन सकेको छैन । वायुमण्डलमा रहने धूलोको कणका कारण निमोनिया, खोकी, मुटु र दमको रोग संक्रमणसंगै फोक्सोको क्यान्सर बढ्ने गरेको पटकपटक विज्ञहरूले चेतावनी दिदै आएका छन् ।
चिकित्सकहरूका अनुसार नेपालमा वार्षिक १० हजार व्यक्तिको अकाल निधन वायु प्रदूषणका कारण हुँदै आएको छ । स्वच्छ वातावरणमा बाँच्न पाउनु मानिसको मौलिक हक हो । तर डब्ल्यूएचको पछिल्लो प्रतिवेदन अनुसार काठमाडौं उपत्यकाको प्रदुषण ५ गुणा बढिरहेको छ । नेपालजस्ता अल्पविकसित मुलुकहरूमा वायु प्रदूषण ‘मन्दविष’ का रूपमा फैलदै गएको देखिएको छ ।
तसर्थ बायु प्रदुषण नियन्त्रण गर्नेतर्फ सरकारले ठोस कार्यक्रम अघि बढाउनु जरुरी छ । पछिल्लोपटक काठमाण्डौं सहित देशका विभिन्न स्थानको बायु प्रदुषणले चिन्ता मात्रै उत्पन्न गरेको छैन, समयमै बायु प्रदुषण नियन्त्रण गर्ने प्रभावकारी उपायको खोजी नगर्ने हो भने भोलिको युवा पुस्ता यसको चपेटामा पर्ने निश्चित छ । फागुन २१ गतेको निर्वाचनको क्रममा अहिले दलहरूको प्रतिवद्धता आउनेक्रम जारी छ ।
दलहरूले बायु प्रदुषण नियन्त्रणलाई पनि प्राथमिकताका साथ प्रतिवद्धतामा राख्नु जरुरी छ । दलहरूको घोषणापत्रमा बायु प्रदुषण नियन्त्रणको कुरा हरेक पटक आउने गरेको छ तर निर्वाचन सकिएपछि प्रतिवद्धता बिर्सने गरिएको छ । कम्तिमा निर्वाचनपछि पनि बायु प्रदुषणलाई देशको मूख्य समस्याको रूपमा पहिचान गरि नियन्त्रणको लागि सरकारलाई दवाव सिर्जना गर्नु जरुरी छ । त्यसतर्फ ध्यान जाओस् ।