© 2026
महेन्द्रनगर ।
आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका सात जिल्लाको कारागार सुरक्षाको जिम्मेवारी सम्हालेको छ ।
तराईको कैलाली र कञ्चनपुर सदरमुकाममा भएका जिल्ला कारगारसँगै सेनाले पहाडी जिल्ला बैतडी र बाजुराबाहेक बाँकी सात जिल्लामा रहेका कारागारको सुरक्षा जिम्मेवारी लिएको नेपाली सेनाले जनाएको छ ।
सेनाको श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेकका अनुसार वाहिनीअन्तर्गत रहेका कञ्चनपुर, डडेल्धुरा, दार्चुला र बझाङमा रहेका कारागारको सुरक्षामा सेना तैनाथ भइसकेको छ ।
बैतडीमा भने कारागार निर्माणाधीन अवस्थामा रहेकाले सेना खटिनु नपरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । त्यसै गरी नेपाली सेनाको श्री नं ५ वाहिनी अड्डाअन्तर्गतका डोटी, कैलाली र अछाममा समेत कारागार सुरक्षार्थ सेना खटिएको छ ।
सुरक्षाका दृष्टिकोणले अति संवेदनशील मानिएका कारागार तथा महत्त्वपूर्ण आयोजनामा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णयअनुरूप सेना खटिएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सागर बोहराले यहाँका सात जिल्लाका कारागार, विमानस्थल सुरक्षा र धनगढीस्थित आयल निगमको डिपोमा सेनाले सुरक्षा दिइरहेको जानकारी दिए ।
“बैतडी र बाजुराको कारागार भवन निर्माणाधीन छन्,” प्रहरी उपरीक्षक बोहराले भने, “गेटा विमानस्थल, बाजुराको कोल्टी विमानस्थल, डोटी र बझाङ विमानस्थलमा सुरक्षाका लागि सेना खटिइसकेको छ ।”
त्यसै गरी, निर्वाचन सुरक्षालाई लक्षित गरी केही सातायता नेपाली सेना सुदूरपश्चिमभर खटिएको छ । सेनाको टोलीले विभिन्न निर्वाचन क्षेत्रमा गस्तीलगायत सुरक्षा प्रबन्ध गरिरहेको सेनाले जनाएको छ । रासस