Butwal Today

भैरहवामा विशेषज्ञ सेवा विस्तार: मानसिक स्वास्थ्यदेखि पेट–कलेजोसम्म एउटै छानामुनि

४ फाल्गुन २०८२, सोमबार
अ+
अ-

भैरहवा ।

भैरहवास्थित निजी क्षेत्रको स्वास्थ्य संस्था सिद्धार्थनगर सिटी अस्पतालले आफ्नो सेवा दायरा विस्तार गर्दै मानसिक रोग तथा पेट–कलेजो सम्बन्धी विशेषज्ञ उपचार सेवा औपचारिक रूपमा सुरु गरेको छ । सोमबार आयोजित पत्रकार भेटघाटमार्फत अस्पतालले अब स्थानीय बिरामीले आफ्नै सहरमै विशेषज्ञ सेवा पाउने जानकारी दिएको हो ।

अस्पताल व्यवस्थापनका अनुसार पछिल्लो समय मानसिक स्वास्थ्य समस्याका बिरामी उल्लेख्य रूपमा बढिरहेका छन्, तर विशेषज्ञ सेवासम्म पहुँच भने सीमित छ। यही अवस्थालाई ध्यानमा राख्दै अस्पतालले नियमित ओपीडी, २४ घण्टा भर्ना सुविधा र गोप्य परामर्श सेवासहित मानसिक स्वास्थ्य उपचार सुरु गरेको जनाएको छ ।

मानसिक स्वास्थ्य सेवामा अनुभवी मनोचिकित्सकको टोली परिचालित गरिएको छ, जसले डिप्रेसन, चिन्ता, तनाव, निद्रा समस्या, डर, व्यवहारिक असन्तुलन तथा लागू औषध दुरुपयोगजस्ता समस्यामा परामर्श, उपचार र फलो अप सेवा प्रदान गर्नेछ।

आधुनिक प्रविधिसहित पेट र कलेजो रोग उपचार

अस्पतालले पाचन प्रणाली, पेट तथा कलेजो रोगका बिरामीलाई लक्षित गर्दै इन्डोस्कोपी र कोलोनोस्कोपी जस्ता आधुनिक परीक्षण सेवा पनि सञ्चालनमा ल्याएको छ। उच्च प्रविधियुक्त उपकरणमार्फत पेट दुखाइ, ग्यास्ट्रिक, अल्सर, कलेजो समस्या, जन्डिस र आन्द्रासम्बन्धी रोगको परीक्षण तथा उपचार गरिने बताइएको छ।

विशेषज्ञ चिकित्सकको टोलीले यी सेवाहरू सञ्चालन गरिरहेको अस्पतालले जनाएको छ, जसले स्थानीय स्तरमै छिटो र प्रभावकारी उपचार सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

स्थानीयमै गुणस्तरीय उपचारको प्रतिबद्धता

अस्पताल नेतृत्वका अनुसार नयाँ सेवा विस्तारपछि बिरामीले विशेषज्ञ उपचारका लागि टाढा शहर धाउनुपर्ने बाध्यता घट्ने विश्वास गरिएको छ। बिरामी मैत्री वातावरण, गोपनीयता र सुलभ शुल्कमा उपचार उपलब्ध गराउने प्रतिबद्धता पनि अस्पतालले जनाएको छ।

अस्पतालले आगामी दिनमा पनि सेवा गुणस्तर अझ सुदृढ बनाउँदै स्थानीय समुदायलाई भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?