© 2026
अस्ट्रेलिया ।
अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आयोजित यहुदी पर्वका क्रममा भएको सामूहिक गोली काण्डमा १५ जनाको ज्यान गएको घटनाका मुख्य आरोपी पहिलो पटक सोमबार अदालतमा उपस्थित भएका छन् ।
उपचारपछि अस्पतालबाट रिहा गरिएका २४ वर्षीय नविद अकरमलाई कडा सुरक्षा व्यवस्थाबिच भिडियो माध्यमबाट सुनुवाइमा सहभागी गराइएको हो ।
उनलाई हाल सिड्नीबाट करिब २०० किलोमिटर टाढा रहेको अधिकतम सुरक्षा कारागार गौलबर्न सुधार केन्द्रमा राखिएको छ । त्यहाँबाटै उनी सिड्नीको डाउनिङ केन्द्र स्थानीय अदालतमा भिडियो माध्यमबाट उपस्थित भएका थिए ।
हत्या तथा आतङ्कवादी कार्यसम्बन्धी गम्भीर अभियोग लगाइए पनि उनले हालसम्म दोषी वा निर्दोषबारे कुनै निवेदन दिएका छैनन् ।
यस पटकको संक्षिप्त सुनुवाइ मुख्यतः ‘मौन आदेश’ लाई निरन्तरता दिने विषयमा केन्द्रित थियो । उक्त आदेशले आफूलाई सार्वजनिक रूपमा चिनाउन नचाहने पीडित र जीवित बचेका व्यक्तिहरूको पहिचान गोप्य राख्ने व्यवस्था गरेको छ ।
प्रतिरक्षा पक्षका वकिलले अदालतबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै अकरमको स्वास्थ्य अवस्था अपेक्षाअनुसार रहेको र निवेदनबारे धारणा दिन अझै समय रहेको बताएका छन् ।
डिसेम्बर १४ मा समुद्र तटमा आयोजित हनुक्का उत्सवका क्रममा भएको आक्रमणमा अकरम स्वयं घाइते भएका थिए । घटनापछि प्रहरीसँगको गोली हानाहानमा उनका पिता ५० वर्षीय साजिद अकरम मारिएका थिए । अकरम आगामी अप्रिल ९ मा पुनः अदालतमा उपस्थित हुने तय भएको छ ।
यो घटना अस्ट्रेलियामा पछिल्ला २९ वर्षयताको सबैभन्दा भीषण सामूहिक गोलीकाण्ड र हालसम्मकै गम्भीर आतङ्कवादी आक्रमणमध्ये एकका रूपमा अनुसन्धान भइरहेको छ ।
प्रहरी अनुसन्धान तीन आधिकारिक छानबिन प्रक्रियामध्ये एक हो । अर्को छानबिनले कथित रूपमा इस्लामिक स्टेट समूहबाट प्रेरित भनिएको आक्रमणअघि कानुन कार्यान्वयन निकाय र गुप्तचर निकायबिचको समन्वयको समीक्षा गर्नेछ ।
यसका साथै सार्वजनिक अनुसन्धानको सर्वोच्च संरचना मानिने शाही आयोगले यहुदी विरोधी गतिविधिको प्रकृति, त्यसको फैलावट र कारणहरूका साथै बोन्डी गोलीकाण्डको समग्र पृष्ठभूमिको विस्तृत अध्ययन गर्ने अपेक्षा गरिएको छ । घटनाले राष्ट्रिय सुरक्षादेखि सामाजिक सद्भावसम्मका प्रश्नहरू एकैसाथ उठाएको विश्लेषण गरिएको छ । रासस