Butwal Today

बाँके निर्वाचन: नयाँ उम्मेदवारका पुरानै एजेन्डा

४ फाल्गुन २०८२, सोमबार
अ+
अ-

नेपालगन्ज  ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश उम्मेदवार नयाँ अनुहारका रूपमा देखिए पनि उनीहरूले उठाएका एजेन्डा भने विगतकै प्रतिबद्धताको पुनरावृत्तिजस्तै देखिएका छन् ।

निर्वाचन मिति नजिकिँदै जाँदा बाँकेका उम्मेदवारहरू विकास, सुशासन, रोजगारी सिर्जना र पूर्वाधार निर्माणजस्ता पुरानै मुद्दालाई प्राथमिकतामा राख्दै घरदैलो कार्यक्रममार्फत मतदातासँग पुगिरहेका छन् ।

प्रमुख राजनीतिक दलबाट उम्मेदवारी दिएका केही अनुभवी नेताबाहेक अधिकांश उम्मेदवार नयाँ अनुहारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्, जसले चुनावलाई नयाँ ऊर्जा दिएको देखिए पनि एजेन्डाको धरातल भने परिचित र पुरानै जस्तो देखिन्छ ।

निर्वाचन क्षेत्र नं. २ मा नेपाली काँग्रेसका जिल्ला सचिव सुधांशु कोइराला, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का दीपेन्द्र विष्ट र नेकपा (एमाले) का उम्मेदवार तथा पूर्व मन्त्री इश्तियाक राईबिच मुख्य प्रतिस्पर्धा देखिएको छ ।

यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विवेककुमार श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ऋषिराज देवकोटा पनि नयाँ अनुहारका रूपमा चुनावी मैदानमा देखिएका छन् । अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट राप्रपाका धवलशम्शेर राणा निर्वाचित भएका थिए ।

उनले २९ हजार ५७७ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का मोहम्मद इश्तियाक राईले २३ हजार ५२० मत प्राप्त गरेका थिए ।

मोहम्मद इश्तियाक राई अहिले पनि सोही क्षेत्रमा नेकपा एमालेका उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धामा सक्रिय छन् । एमालेका उम्मेदवार राईले यस वर्ष पनि पर्यटन प्रवर्द्धन, कृषि क्षेत्रमा आमूल परिवर्तन तथा महेन्द्र बहुमुखी क्याम्पसको स्तरोन्नतिलाई आफ्नो प्राथमिक एजेन्डाका रूपमा अघि सारेका छन् ।

उनले औद्योगिक कोरिडोर निर्माण, अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला स्थापना, सुक्खा बन्दरगाह निर्माण तथा राप्ती नदी किनारको तटबन्ध मजबुत बनाउने योजनालाई पनि आवश्यक र दीर्घकालीन विकासका आधारका रूपमा प्रस्तुत गरेका छन् ।

क्षेत्र नम्बर २ मा नयाँ अनुहारका रूपमा देखिएका नेकपाका उम्मेदवार दीपेन्द्र विष्टले नेपालगन्जको ढल व्यवस्थापनलाई दीर्घकालीन समाधानसहित अघि बढाउने, औद्योगिक ग्राम स्थापना गर्ने तथा नेपालगन्जलाई सूचना प्रविधि र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथै, उनले बढ्दो लागु औषध दुर्व्यसन नियन्त्रण गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने तथा राप्ती नदीको कटान रोक्न प्रभावकारी संयन्त्र निर्माणमा जोड दिनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

यसै गरी सोही क्षेत्रमा नयाँ अनुहार काँग्रेसका उम्मेदवार सुधांशु कोइरालाले सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र जनताको प्रत्यक्ष पहुँचमा रहेर सेवा दिने प्रतिबद्धता जनाएका छन् । उनले कृषिमा आधुनिकीकरण तथा रूपान्तरण, मलखादको दीर्घकालीन समस्या समाधान, भेरी अस्पतालमा विपन्न समुदायको स्वास्थ्य पहुँच विस्तार तथा शैक्षिक संस्थाको गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राखेका छन् ।

कोइरालाले विकास योजनालाई व्यवहारमा उतार्ने र जनताको विश्वास जित्ने अभियानमा आफू प्रतिबद्ध रहेको बताएका छन् ।

निर्वाचन क्षेत्र नं. १ मा नेपाली काँग्रेस बाँकेका सभापति नारायण गौडेल नयाँ उम्मेदवारका रूपमा देखिँदा एमालेका सूर्य ढकाल भने पुरानै र स्थापित उम्मेदवारका रूपमा मैदानमा छन् ।

उनले यसअघिको निर्वाचनमा २५ हजार २६ मत प्राप्त गरी निर्वाचित भएका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनबाट उम्मेदवार रहेका पूर्व युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) लाई पाँच हजार तीन सय ९४ मतले पराजित गर्दै ढकाल विजयी भएका थिए । यसपालि पनि ढकालले पुरानै एजेन्डालाई निरन्तरता दिँदै घरदैलो अभियान चलाइरहेका छन् ।

उनले राप्ती नदीमा पुल निर्माण, कोहलपुर–घुइँयाबारी सडक विस्तार, नरैनापुर क्षेत्रमा शिक्षा, खानेपानी तथा पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने बताउँदै आएका छन् । साथै, कोहलपुरमा सुविधा सम्पन्न बाल अस्पताल निर्माण तथा सिक्टा सिँचाइ आयोजना शीघ्र सम्पन्न गर्नुपर्ने विषयलाई उनले बारम्बार उठाइरहेका छन् ।

सोही निर्वाचन क्षेत्रमा यसअघि नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार रहेका सुरेशकुमार चौधरीले ११ हजार चार सय ६५ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका थिए । चौधरी अहिले रास्वपाको तर्फबाट सोही क्षेत्रमा उम्मेदवार बनेका छन् ।

यस्तै नेकपाबाट नरेन्द्र पाण्डे ‘जेम्स’ पनि नयाँ अनुहारका रूपमा चुनावी मैदानमा उत्रिएका छन् । क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार गौडेल, नेकपा एमालेका सूर्य ढकाल, नेकपाका पाण्डे र रास्वपाका चौधरीसँग प्रतिस्पर्धा गर्न लुम्बिनी प्रदेशकी पूर्व मन्त्री कृष्णा केसी पनि प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट चुनावी मैदानमा होमिएकी छन् ।

प्रदेशमा रहँदा ल्याएका विकास योजना र थप नयाँ कार्यक्रम अघि सार्ने प्रतिबद्धतासहित उनी घरदैलो अभियानमा सक्रिय देखिएकी छन् ।
त्यसैगरी निर्वाचन क्षेत्र नं. ३ मा कांग्रेसबाट अमरसिंह पुन, एमालेबाट सुमन मल्ल र रास्वपाबाट खगेन्द्र सुनार प्रतिस्पर्धामा छन् ।

उम्मेदवारहरूले विगतमा अधुरा रहेका विकास योजनालाई पूर्णता दिने, रोजगारी सिर्जना गर्ने तथा क्षेत्रीय विकासलाई गति दिने प्रतिबद्धता दोहोर्‍याउँदै आएका छन् । उनीहरूले पूर्वाधार विकास, कृषि आधुनिकीकरण र सामाजिक सेवाको विस्तारलाई मुख्य प्राथमिकताका रूपमा अघि सारेका छन् ।

बाँके जिल्लामा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । क्षेत्र नं. १ मा एक लाख २४ हजार ७२७, क्षेत्र नं. २ मा एक लाख आठ हजार २९० र क्षेत्र नं. ३ मा एक लाख १७ हजार ३५४ मतदाता रहेका छन् । यस निर्वाचनमा क्षेत्र नं. १ मा १४, क्षेत्र नं. २ मा २० र क्षेत्र नं. ३ मा २२ जना गरी कूल ५६ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । यसले चुनावी प्रतिस्पर्धालाई अझ रोचक र बहु आयामिक बनाएको देखिन्छ ।

आगामी निर्वाचनले नयाँ नेतृत्व चयन गर्ने भए पनि मतदाताले विगतका चुनावी वाचा कार्यान्वयन हुने अपेक्षा राखेका छन् । विकास, सुशासन, रोजगारी सिर्जना र जनजीवन सुधारका प्रतिबद्धता यस पटक व्यवहारमा कत्तिको उतारिन्छ भन्ने विषय नै मतदाताको चासोको केन्द्रमा देखिन्छ ।

नयाँ अनुहारको उपस्थितिले आशा जगाए पनि पुराना एजेण्डाले मतदातालाई कत्तिको विश्वस्त बनाउनेछन् भन्ने प्रश्नको उत्तर भने फागुन २१ को निर्वाचन परिणामले नै दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?