© 2026
बुटवल ।
निर्वाचन नजिकिँदै गर्दा भोट माग्दै उम्मेदवारहरू मतदाताको घर दैलोमा व्यस्त छन् ।
बिहानै देखि गाउँ, टोलका घर–घरमा पुगेर भोट मागिरहने उनीहरूको लागि शिवरात्रि पर्व भने गज्जबको अवसर जु¥यो भोट माग्नको लागि । आइतबार शिवरात्रि पर्व परेकाले पूजा आराधना र भजन कीर्तनको लागि अधिकांश मतदाताहरू नजिकको शिवालयमा पुगेका थिए ।
फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाका उम्मेदवारहरू घरदैलो छाडेर त्यही पुगे ।
आफ्नो निर्वाचन क्षेत्रका शिव मन्दिरमा पहिलो प्राथमिकता दिएर दर्शनसँगै भोट माग्न पुगेका ती उम्मेदवारहरू धेरै घुइँचो र भिड हुने शिवालय छुटाएनन् । स्वतन्त्र उम्मेदवारदेखि पार्टीका हेभिवेट उम्मेदवारहरू भोट माग्दै मन्दिरमा पुगेका हुन् ।
पाल्पा क्षेत्र नं. २ का एमालेका उम्मेदवार ठाकुर गैरे सिद्ध बाबा मन्दिरमा बिहानै झुल्किए । मन्दिरमा दर्शन तथा पूजाआजा गरेपछि त्यहीँ मतदाताहरूसँग पनि भेटघाटको बहानामा भोट माग्दै गरेको देखिन्थ्यो । उनले त्यहीबाट शुभकामना सन्देश पनि दिए– “सत्य र निष्ठाको बाटोमा हिँड्न शिवरात्रि पर्वले हामी सबैलाई प्रेरणा दिने छ, सबैलाई शुभकामना छ ।”
सिद्ध बाबा मन्दिरमा पूजा आराधना गर्न नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सोम प्रसाद पाण्डे, नेपाली काँग्रेसका हिमालदत्त श्रेष्ठ, रुपन्देही क्षेत्र नं. २ का नेपाली काँग्रेसका उम्मेदवार चुन्न प्रसाद पौडेल, नेपाली कम्युनिस्ट पार्टीका सुभाष पाण्डे (बिश्वदिप) पुगेको सिद्ध बाबा धाम विकास समितिका सचिव अरबिन्द्र पाण्डेले जानकारी दिए ।
उम्मेदवारहरूले मतदाता भक्तजनहरूको मन जित्ने उद्देश्य समेत झल्किएको थियो । रुपन्देही क्षेत्र नं. २ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुभाष पाण्डे (बिश्वदिप) सैनामैना स्थित बोलबम धाममा पनि देखिए ।
उनले त्यहाँ पूजाआजा र दर्शन गर्दा भक्तालुहरूसंग भेटघाट र छलफल पनि गरे । संयोगले उनका प्रतिस्पर्धी डा. निकोलस भुसाल पनि भेटिए । दुबै उम्मेदवार एकछिन गफिएपछि आ–आफ्नो बाटो लागेका थिए ।
उम्मेदवार बिश्वदिपले बोलबम मन्दिरमा दर्शन तथा पूजा–आराधना गर्दै शिवरात्रि पर्वको शुभकामना पनि दिए । “जनताको आस्थाको पर्व भएकाले मन्दिरमा गएँ । सबैजनासंग भेट हुन पाइयो खुसी लागेको छ”–उनको भनाइ थियो ।
त्यहाँ उनी भक्तजन संग छम्छम् नाचेका थिए । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार पनि शिवालयमा देखिए । मन्दिरमा पूजाआजा गरेर भजनमा नाचेर मनोरञ्जन पनि लिए ।
महाशिवरात्रिको पावन अवसरमा उम्मेदवार चुन्न प्रसाद पौडेल भक्तजनहरूसँग भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रममा सहभागी भएको नेपाल विद्यार्थी संघका पूर्व नेता तथा निर्वाचन प्रचार प्रसारमा रहेको मुक्ति पौडेलले जानकारी दिए ।