Butwal Today

‘अपराध नियन्त्रण प्राथमिकतामा राख’

३ फाल्गुन २०८२, आइतबार
अ+
अ-

शनिवार नेपालमा पनि प्रणय दिवस मनाइएको छ ।

प्रणय दिवस मनाउँदै गर्दा आफ्नै घर परिवार, छरछिमेक, इष्टमित्र र दाजुभाइबाटै किशोरी, बालिका तथा महिलामाथि हिंसाका घटना बढिरहेको छ । कुनै ठुलो कारण बिना नै श्रीमानद्वारा श्रीमतीको हत्या हुने गरेको अचेल बर्गेल्ती सुन्नमा आउँछ ।

विडम्बना नेपाली समाजले त्यो सामान्य घटनाका रूपमा लिन थालेको छ । किनभने त्यो भन्दा भयानक सुनिने अपराधका घटना बढिरहेको देखिएको छ । आफ्नै आफन्तले किशोरीमाथि शारीरिक दुर्व्यवहार गर्ने गरेको कुरा साँच्चैको संवेदनशील छ ।

बालिकाहरूलाई ललाइफकाइ गरि बलात्कार गर्ने र अन्तिममा थाहा हुने डरले हत्यासम्म गर्ने गरेको कुरा धेरै सुनिने घटनामा पर्दछन् । यी उदाहरणले वास्तवमै प्रणय दिवस केवल औपचारिक मात्रै हो कि भन्ने भान पर्न थालेको छ ।

सामाजिक सञ्जालमा श्रीमानले श्रीमती र श्रीमतीले श्रीमानलाई धोका दिएको घटना त हरेक दिन जसो सुन्नमा आइरहेको छ । यस्ता घटनाबाट पुरुष पनि पीडित छन तर महिलाहरू बढी प्रताडित छन् । त्यो मात्रै होइन पछिल्लो समय मानिसमा दया, माया र करुणा हराउँदै गएको छ ।

मानिस विवेक विनाका व्यभिचारी बन्दै गएका छन् । १३ वर्षको बालकदेखि ८४ वर्षका बृद्ध समेत व्यभिचारमा संलग्न भएको समाचार हामी आफै पढ्न दिवस बन्दै गएका छौँ । मानिस यति क्रूर र निष्ठुरी बन्दै गएको छ कि मानवीय सहयोग र सद्भाव लोप भैसकेको देखिँदै छ । कञ्चनपुरकी १३ बर्षीया किशोरी निर्मला पन्तको बलात्कार प्रकरणको घटना त पुरानो भैसकेको छ ।

त्यसयता मुलुकमा ५ वटा सरकार बने तर कुनै सरकारले पनि उनको हत्याको घटनामा संलग्नमाथि कारबाही गर्न सकेन । सबै प्रमाण हुँदा पनि सरकारले यो घटनामा संलग्नमाथि कारबाही गर्ने हिम्मत देखाएनन् ।

बरु एक प्रधानमन्त्रीले यस्ता घटनाका अपराधी बिसौँ वर्षपछि पनि पत्ता लाग्ने र गृहमन्त्रीले अन्य देशको तुलनामा नेपालमा बलात्कारको घटना कम रहेको र नेपालमा मात्र यस्ता घटना नभएको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका थिए । राज्यको दायित्व अपराधीलाई सजाय दिलाउनु हो, गैर जिम्मेवार अभिव्यक्ति दिनु होइन । यस्ता अभिव्यक्तिका कारण आपराधिक मनोवृत्तिले बोलवाला पाउँछ ।

त्यसपछि बैतडीकी १७ वर्षीय किशोरी भागीरथी भट्टको बलात्कारपछि हत्याको दुर्दान्त दुखान्त घटना बाहिर आयो । बैतडी जिल्ला दोगडाकेदार गाउँपालिकामा सनातन धर्म माध्यमिक विद्यालयमा १२ कक्षामा अध्ययनरत १७ वर्षीय भागीरथी भट्टको बलात्कारपछि हत्या गरिएको थियो ।

त्यो घटनाका दोषी बल्लबल्ल सजायको भागिदार भएको छ । नेपालमा कतिपय अपराधमा राज्य–संयन्त्र अपराधी पत्ता लगाउन असफल रहँदै आएको छ । अझ कतिपयलाई राजनीतिकरण गरी शासन–संयन्त्र र राजनीतिक दलहरू अपराधीलाई संरक्षण गर्न पुग्छन् ।

कुनै पनि खाले राजनीतिक तत्त्वहरू संरक्षणमा उद्यत भएमा तिनलाई पनि दण्डित गरिनुपर्छ भन्ने विश्वव्यापी मान्यता हो तर नेपाल त्यसबाट पृथक् रहँदै आएको छ । नेपालमा कानुनले दण्डित गरेका घटनाको ढाकछोप गर्नेलाई पुरस्कृत गर्ने परम्परा छ । नेपालमा कुल बलात्कारका घटनामध्ये ५१ प्रतिशत बालिका र किशोरीहरू छन् ।

स–साना बालबालिकाहरूलाई ललाई–फकाई वा धम्की दिएर व्यभिचारीहरूले यस्ता अपराध गर्ने गरेका छन् । बालबालिकामाथिका यस्ता जघन्य अपराधमा पारिवारिक चिनजान, नजिकका आफन्त र आपराधिक मनोवृत्ति भएकाहरूबाट हुने गरेका छन् ।

यस्ता गम्भीर प्रकारका अपराधमा कारबाही नभएको खण्डमा त्यस्ता प्रवृत्ति–मनोवृत्तिका मानिसहरू हतोत्साहित हुन सक्दैनन् । फेरीपनि निर्वाचन आएको छ । विभिन्न राजनैतिक दलका नेता र उम्मेदवारहरूले विगतमा जस्तै आश्वासन दिनेछन् ।

निर्मला पन्तको हत्यारा पत्ता लगाउने बाचा गर्नेछन् । तर, अपराधमा जोडिएकाहरू न कारवाहीमा पर्छन, न सरकारले त्यो हिम्मत नै गर्दछ । अतः अव उम्मेदवारहरूले खोक्रो आश्वासन होइन, साँच्चै अपराध नियन्त्रण गर्ने बाचाकबूल गर ।

समाजलाई अपराध मनोबृत्तिबाट बचाउनेतर्फ अवको पहल जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?