Butwal Today

भैरहवास्थित शिव मन्दिरमा भक्तजनको घुइँचो

३ फाल्गुन २०८२, आइतबार
अ+
अ-

भैरहवा ।

आज महाशिवरात्रिको अवसरमा सिद्धार्थनगर नगरपालिका–८ स्थित शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । धार्मिक आस्था र श्रद्धाले भरिएको वातावरणमा हजारौँ भक्तजनले भगवान् शिवको दर्शन तथा पूजा अर्चना गरिरहेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार आज बिहान २ बजेदेखि मन्दिरको मुख्य प्रवेशद्वार खोलिएको हो, त्यसयता भक्तजनको आवागमन निरन्तर बढिरहेको छ ।

मन्दिरका पुजारी गोविन्द लामिछानेले महाशिवरात्रिको धार्मिक महत्वबारे बताउँदै भने, “भगवान् शिव सृष्टिका संहारकर्ता मात्र होइन, करुणा र पुनर्जन्मका प्रतीक पनि हुनुहुन्छ । शिवको आराधनाले मन शुद्ध हुन्छ, दुःख कष्ट कम हुन्छ र जीवनमा सकारात्मक ऊर्जा प्राप्त हुन्छ भन्ने विश्वास छ ।”

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पशुपति न्यौपानेले शिवको महिमाबारे प्रकाश पार्दै भने, “शिव अनन्त शक्ति र धैर्यका प्रतीक हुन् । उहाँले विष पिएर संसार जोगाउनुभएको कथा त्याग, सहनशीलता र मानव कल्याणको महान् सन्देश हो । महाशिवरात्रिले हामीलाई आत्म अनुशासन, भक्ति र सदाचारको बाटोमा अघि बढ्न प्रेरित गर्छ ।”

समितिका कोषाध्यक्ष विशाल चौधरीका अनुसार यस वर्ष व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ । “हामीले पहिलेभन्दा अझ व्यवस्थित रूपमा कार्यक्रम सञ्चालन गरेका छौँ । भीड व्यवस्थापन, सरसफाइ, सुरक्षा र लाइन व्यवस्थापनमा विशेष ध्यान दिएका छौँ,” उनले बताए ।

भक्तजनहरू पनि व्यवस्थापनप्रति सन्तुष्ट देखिएका छन् । दर्शन गर्न आएका एक भक्तले भने, “यस वर्ष भीड भए पनि व्यवस्थापन राम्रो छ । सहज रूपमा दर्शन गर्न पाइयो, शिवको महिमा सम्झिँदा मन शान्त हुन्छ ।” अर्का भक्तजनले भने, “मन्दिर परिसर सफा र व्यवस्थित छ । यस्तो राम्रो वातावरणमा पूजा गर्न पाउँदा आध्यात्मिक आनन्द मिल्यो ।”

यसै गरी, मन्दिर परिसरमा धार्मिक उत्सवसँगै मेला जस्तै माहोल देखिएको छ । विभिन्न खाजा–नास्ता, कस्मेटिक, लत्ताकपडा लगायतका करिब २५० वटा स्टल सञ्चालनमा छन् भने मन्दिर वरपर ५०० भन्दा बढी साना–ठुला व्यापारिक गतिविधि देखिएका छन् । यसले स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पारेको छ । व्यवस्थापन समितिका अनुसार आजको कार्यक्रमबाट करिब ९ लाख रुपैयाँ बचत हुने अनुमान गरिएको छ ।

महाशिवरात्रिको अवसरमा दिनभर भजन–कीर्तन, आरती तथा विशेष पूजा कार्यक्रम सञ्चालन भइरहेका छन् । श्रद्धा, भक्ति र सामुदायिक सहकार्यको उत्कृष्ट उदाहरण बनेको यो कार्यक्रमले धार्मिक तथा सांस्कृतिक एकतालाई थप मजबुत बनाएको स्थानीयवासीको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?