Butwal Today
मुन्निलालदेखि खेलराजसम्मको नेतृत्व

बटौली बजारदेखि आधुनिक बुटवल शहरसम्म

३ फाल्गुन २०८२, आइतबार
अ+
अ-

बुटवल । कुनै बेला अहिलेको बुटवल चुरेको काखमा तिनाउ नदीको दायाँ किनारमा सानो बजारको रुपमा सिमित थियो । त्यसबेला यो बजारलाई बटौली भनिन्थ्यो ।

बटौली बजारमा पहाडी जिल्लाहरुबाट किनमेल गर्न आउँथे । बटौली विसं २०१६ साल फागुन ३ गते बुटवल खस्यौली नगरपालिकाको रुपमा नामाकरण भयो । २०१७ सालमा पञ्चायती व्यवस्था सुरु भएपछि यसलाई बुटवल खस्यौली नगरपञ्चायत नाम राखियो । २०४६ सालपछि बुटवल नगरपालिका भन्न थालियो ।

सुरुमा बुटवल नगरपालिकामा ९ वटा वडा थिए । २०४८ सालमा साविक तामनगर गाविस बुटवलमा गाभियो र वडाहरुको संख्या पनि बढ्योे । २०७१ मंसिर १६ गते साविक सेमलार र मोतीपुर गाविस समेटिएपछि भने बुटवल उपमहानगरपालिकामा स्तरोन्नति भएको हो । अहिले बुटवलमा १९ वटा वडा छन् ।

विगतमा अहिलेको मुख्य बजार भन्दा तिनाउ नदीको पश्चिमको किनारमा थियो, बटौली बजार । तिनाउ पूर्व खस्यौलीमा जंगल नै जंगल थियो । २०को दशकतिर खस्यौलीमा पनि बजार र बस्ती बस्न थाले । बजार र बस्ती फैलिएर मुलुकको पश्चिम क्षेत्रको प्रमुख शहरको रुपमा रहेको छ ।


तत्कालीन बुटवल खस्यौली नगरपालिकाको पहिलो नेतृत्व मुन्निलाल शाक्यले गरेका थिए । शाक्यपछि ओमशंकर श्रेष्ठ, परिक्षितप्रसाद लाकौल, सरस्वती प्रसाद शेरचन, हरिबहादुर सिंह, सुर्यलाल र वृजमान श्रेष्ठले प्रधानपञ्च भएर तत्कालीन नगरपञ्चायतको नेतृत्व गरे ।

मुलुकमा प्रजातन्त्रको पुनःस्थापना भएपछि सूर्यप्रसाद प्रधान, भोजप्रसाद श्रेष्ठ, पुनाराम पोखरेल र रुपसिंह थापाले नगरप्रमुखको भूमिका निर्वाह गरे । रुपसिंह थापालाई नगरप्रमुखको मान्यता भने दिइएको छैन । २०७४ सालको स्थानीय चुनावपछि शिवराज सुवेदी बुटवल उपमहानगरपालिकाको नगरप्रमुख चुनिए । २०७९ सालको चुनावबाट निर्वाचित खेलराज पाण्डेय बुटवल उपमहानगरको नगरप्रमुख छन् ।

बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वारको रुपमा पनि बुटवल रहेको छ । बुटवल र आसपासमा पनि पर्यटकहरुलाई आकर्षित गर्ने थुप्रै ठाउँ छन् । नेपालले अंग्रेजलाई पराजित गरेको जितगढी किल्ला, सेनवंशीय राजाहरुको शीतकालीन दरबार रहेको ठाउँ मणिमुकुन्द सेन उद्यान अर्थात फूलबारी पार्क, पुरानो बुटवल, रामापिथेकस पार्क, धार्मिक क्षेत्र सिद्धबाबा धाम, हिलपार्क, ग्लोबस पिस पार्क, कपरकट्टी ताल लगायत बुटवलका मुख्य पर्यटकीय स्थल हुन् ।


पछिल्लो समय बुटवलमा दुई वटा केबलकार निर्माण भएका छन् । बुटवलबाट बसन्तपुर जोड्ने लुम्बिनी केबलकार र नुवाकोट जोड्ने सिद्धार्थ केबलकारले पनि बुटलमा पर्यटक आकर्षित गरिरहेका छन् ।

शिक्षा र स्वास्थ्यमा पनि बुटवल अब्बल बन्दै गएको छ । सामुदायिक र निजी दुवै खालका विद्यालयले मुलुककै उत्कृष्ट विद्यालयको रुपमा रहेका छन् । लुम्बिनी प्रादेशिक अस्पताल मुलुककै सुविधा सम्पन्न अस्पताल बन्दै छ । पछिल्लो समय बुटवल मुलुकको महत्वपूर्ण अनि पूर्वाधारयुक्त शहरको रुपमा स्थापित भएको छ ।

यहाँका सडक ६ लेनका फराकिला छन् । मुख्य सडक मात्र नभई कालिकापथ लगायतका बाइपास सडक पनि फराकिला छन् । यहाँ अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माण सम्पन्न भइसकेको छ । अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माणको अन्तिम चरणमा रहेको छ । निजी क्षेत्रबाट पनि पूर्वाधारहरु थपिने क्रम बढेको छ ।

१९ वटा वडा रहेको उपमहानगरको क्षेत्रभित्र व्यस्त बजार क्षेत्रदेखि खुल्ला र खेतीयोग्य ठाउँहरु यहाँ छन् । पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको संगमस्थल बुटवलले आफूलाई अग्रणी नगरको रुपमा उभ्याउने तर्फ अगाडि बढिरहेको छ ।

DCIM177MEDIADJI_0427.JPG

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?