© 2026
गुल्मी ।
नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न भएको १३२ केभी डबल सर्किट प्रसारण लाइनको आजदेखि परीक्षण सुरु गरिएको छ ।
बुर्तिबाङ‐पौदीअमराई‐तम्घास‐सन्धिखर्क‐गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजना’अन्तर्गत निर्माण गरिएको उक्त लाइन गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानीय तह हुँदै विस्तार गरिएको हो ।
गुल्मीको रेसुङ्गा नगरपालिकाअन्तर्गत वडा नं ७ को उनाएचौरस्थित तम्घास स्वस्टेसनबाट बागलुङको ढोरपाटन नगरपालिका‐२ खल्टुबोटस्थित बुर्तिबाङ स्वस्टेसनसम्मको प्रसारण लाइनमा १३२ हजार भोल्ट क्षमताको विद्युत् परीक्षण र विद्युत् प्रवाह गरिने प्राधिकरणले जनाएको छ ।
उक्त प्रसारण लाइन आजदेखि दुई दिनसम्म परीक्षण गरेपछि मात्र नियमित सञ्चालन गरिने तयारी गरिएको विद्युत् प्राधिकरणका आयोजना प्रमुख मनोज चौधरीले जानकारी दिए ।
प्राधिकरणद्वारा गुल्मीको रेसुङ्गा नगरपालिका–३, ४ र ५, इस्मा गाउँपालिका–२ तथा मुसिकोट नगरपालिका–१, २ र ३ हुँदै बागलुङको बडिगाड गाउँपालिका–२, ५, ६ र ७ र ढोरपाटन नगरपालिका–२ बुर्तिबाङसम्म विस्तार गरिएको उनले बताए ।
प्राधिकरणले उच्च भोल्टेजका कारण हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई प्रसारण लाइनको टावरमा नचढ्न, तार वा संरचनालाई नछुन, टावर वरिपरि नजान तथा घरेलु जनावर बाहिर नछाड्न आग्रह गरेको छ ।
खतराको सङ्केत गरिएका संरचनाबाट टाढा रहन र बालबालिकालाई सचेत गराउन अनुरोध गरिएको छ । परीक्षणका क्रममा झिल्का (स्पार्क) देखिएमा वा अन्य जोखिम महसुस भएमा नजिकको प्रहरी चौकी वा प्राधिकरणको कार्यालयमा जानकारी गराउनसमेत आग्रह गरिएको छ ।
प्राधिकरणका अनुसार यस आयोजनाको निर्माण रु चार अर्ब ५० करोड भन्दा बढी लागतमा सम्पन्न भएको आयोजना प्रमुख चौधरीले जानकारी दिए । आयोजना सञ्चालनमा आएपछि गुल्मी र बागलुङ जिल्लामा विद्युत् आपूर्ति थप विश्वसनीय र सुदृढ हुने अपेक्षा गरिएको उनले बताए ।
कपिलवस्तुको मोतिपुर स्वस्टेसनबाट अर्घाखाँची हुँदै गुल्मीको उनाएचौर र मुसिकोटको पौदीअमराई भएर बुर्तिबाङसम्म विद्युत् प्रवाह हुने व्यवस्था मिलाइएको आयोजना प्रमुख चौधरीले बताए ।
यसअघि बुटवलमा रहेको स्वस्टेसनबाट लामो दूरीमा जिल्लामा विद्युत् आपूर्ति हुँदा पटक पटक सेवा अवरुद्ध हुने गरेको थियो ।
नयाँ प्रसारण लाइन र सवस्टेसन सञ्चालनमा आएसँगै ती समस्या समाधान भई जिल्लामा सहज र दीर्घकालीन रूपमा विद्युत् सेवा नियमित हुने विश्वास गरिएको छ ।
रासस