Butwal Today

एक लाख बढीले गरे डोलेश्वरको दर्शन

३ फाल्गुन २०८२, आइतबार
अ+
अ-

भक्तपुर ।

महाशिवरात्रि पर्वका अवसरमा आज केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा एक लाख बढीले दर्शन गरेका छन् ।सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले आज बिहान ४ बजेदेखि मन्दिरको चारै ढोका खुला गरेर मन्दिरभित्र प्रवेश गरी महादेवको शिलामै पूजा गर्ने व्यवस्था गरिएकामा रात्रि ८ बजेसम्म चारवटै ढोकाबाट प्रवेश गरी दर्शन गर्नेको भीड रहेको जानकारी दिए।

महाशिवरात्रिको दिन भक्तजनलाई पञ्चस्नान गर्ने व्यवस्था गरिएको बताउँदै उनले सहजताका लागि स्वयंसेवक परिचालन गरिएको, सुरक्षाका लागि सुरक्षाकर्मीको व्यवस्था गरिएको र स्वास्थ्य शिविरको आयोजना गरिएको बताए। महाशिवरात्रिको मेला भर्न आउने सम्पूर्ण भक्तजनलाई निःशुल्क प्रसादको व्यवस्था गरिएको जनाउँदै उहाँले दर्शनार्थीलाई लाइन बसेको आधा घण्टामै पूजा गर्ने व्यवस्था गरिएको बताए ।

शिवरात्रिका लागि यस वर्ष भारतलगायत नेपालका विभिन्न ठाउँबाट करिब ४०० जना साधुसन्त एवं बाबालाई समितिले खाने, बस्ने, धुनी बाल्नेलगायतको व्यवस्था गरेको समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो । शिवरात्रि पर्वका लागि डोलेश्वर आउने साधुसन्त र बाबाहरुमध्ये क, ख र ग वर्गमा विभाजन गरी दक्षिणा, कम्बल र धोती दिएर बिदाइ गरिने भएको छ ।

महाशिवरात्रि पर्वका अवसरमा आज सिपाडोलकै प्रसिद्ध आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको दिनभरि भीड लागेको छ । मनले चिताएको आशा पूरा गर्ने जनविश्वास रहेको आशापुरी महादेव मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको सूर्यविनायक नगरपालिका–८ सिपाडोलका वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए ।

सूर्यविनायक–१ सिरुटारस्थित गुप्तेश्वर महादेव, सोमलिङश्वर महादेव, चरखण्डीश्वर महादेव, वडा नं ५ स्थित अनन्तलिङश्वर महादेव, सुवर्णेश्वर महादेव, वडा नं १० चित्तपोल साँगास्थित अग्लो महादेवका रुपमा परिचित कैलाशनाथ महादेव, चित्तपोलकै लटरम्बेश्वर महादेव, भक्तपुरको दत्तात्रय मन्दिर, यातु महादेव मन्दिरमा पनि बिहानदेखि दर्शनार्थीको भीड लागेको छ । चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित श्रीकृष्ण वर्तेश्वर महादेव मन्दिर, नगरकोटको रत्नचुडेश्वर महादेव मन्दिरमा दर्शनार्थीको बिहानैदेखि भीड लागेको र ती मन्दिरमा सहज रुपमा दर्शनको व्यवस्था गरिएको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?