© 2026
बुटवल । महाशिवरात्री पर्वको अवसरमा पाल्पाको तिनाउ गाउँपालिका-३, दोभानस्थित सिद्धबाबा मन्दिरमा लाग्ने महाशिवरात्री मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । मन्दिर परिसरलाई आकर्षक रूपमा सजाइएको छ भने भक्तजनलाई सहज र सुरक्षित रूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
सिद्धबाबा मन्दिर विकास समितिले शनिबार पत्रकार सम्मेलन गर्दै यस वर्ष दर्शन व्यवस्थापनलाई थप व्यवस्थित बनाइएको जानकारी दिएको हो । समितिका अध्यक्ष सन्तोषकुमार शेरचनका अनुसार भक्तजनको सहजताका लागि गत वर्षझैँ यस वर्ष पनि टोकन प्रणाली लागू गरिएको छ भने निःशुल्क बस सेवासमेत सञ्चालनमा ल्याइएको छ ।
विशेषगरी वृद्धवृद्धा, गर्भवती, अशक्त तथा असहाय व्यक्तिलाई प्राथमिकताका साथ मूल मन्दिरमै पुगेर पूजाअर्चना तथा दर्शन गर्ने व्यवस्था मिलाइएको छ । दैनिक पूजापाठ सम्पन्न भएपछि बिहान ४ बजेदेखि सर्वसाधारणका लागि दर्शन खुला गरिने समितिले जनाएको छ ।
भक्तजनको सुरक्षा र व्यवस्थापनका लागि करिब ५० जना सुरक्षाकर्मी, २०० स्वयंसेवक तथा १८ वटा सिसी क्यामेरामार्फत निगरानीको व्यवस्था गरिएको छ । साथै सरसफाइ, शौचालय, खानेपानी, पार्किङ, भण्डारा तथा जुत्ताचप्पल राख्ने स्थानको पनि उचित प्रबन्ध मिलाइएको छ ।
समितिका अनुसार गत वर्ष महाशिवरात्रीमा करिब ४० हजार भक्तजनले दर्शन गरेका थिए भने यस वर्ष ६० हजारभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ । “यस वर्ष दर्शनार्थीको संख्या उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरेका छौँ,” अध्यक्ष शेरचनले बताए ।
प्रचारप्रसार संयोजक अरबिन्द पाण्डेका अनुसार यस वर्ष भक्तजनलाई सिद्धबाबा सुरुङमार्ग भित्र लाइन व्यवस्थापन गरिनेछ, जसले गर्दा राजमार्गमा सवारी आवागमन प्रभावित नहुने विश्वास गरिएको छ । विगतमा साढे तीन घण्टासम्म लाइन बस्नुपर्ने अवस्था रहे पनि यस वर्ष साढे दुई घण्टाभित्रै दर्शन गराउने लक्ष्य राखिएको छ ।
मेला संयोजक तोया लम्सालका अनुसार दर्शनार्थीको सुविधाका लागि दुई वटा निःशुल्क र नौ वटा सशुल्क बस सेवा सञ्चालन गरिएको छ । यी बसहरू बुटवलका विभिन्न स्थानहरू-योगीकुटी, कालिकानगर, राजमार्ग चौराहा, अस्पताल लाइन, देवीनगर, शान्ति चोक, मिलनचोक, ट्राफिक चोक, गोलपार्क तथा दोभान-झुम्साबाट सञ्चालन हुनेछन् ।
महाशिवरात्रीका अवसरमा शिवपूजन, रुद्राभिषेक, अखण्ड हरिकीर्तन लगायतका धार्मिक कार्यक्रमसमेत आयोजना गरिने समितिले जनाएको छ ।