Butwal Today
सातौँ खडक प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट

वेष्टर्नद्धारा रुपन्देही पराजित

२ फाल्गुन २०८२, शनिबार
अ+
अ-

बर्दघाट, २ फागुन ।

एक्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा जारी यू–१९ खड्क प्रसाद गौचन मेमोरियल क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न खेलमा वेष्टर्न क्रिकेट एकेडेमी विजयी भएको छ ।

रुपन्देही क्रिकेट एकेडेमीलाई २ विकेटले पराजित गर्दै वेष्टर्नले महत्वपूर्ण जित हात पारेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको रुपन्देही ३१ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १ सय २१ रनमा समेटियो । उसका लागि समिर अलीले सर्वाधिक २९ रन बनाए । अब्दुल खानले २८ तथा एजाज खानले १८ रन जोडे भने अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

रुपन्देहीलाई सस्तैमा रोक्ने क्रममा वेष्टर्नका केशव रायमाझीले ४ विकेट लिए । सागर गैरेले ३ तथा सुप्रिम कँडेलले २ विकेट हात पारे ।

१ सय २२ रनको लक्ष्य पछ्याएको वेष्टर्नले ३२ दशमलव १ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । वेष्टर्नका रिसव बेलबासेले आक्रामक ब्याटिङ गर्दै २४ बलमा सर्वाधिक ३७ रन बनाए । अस्बक खानले ३२ तथा सागर गैरेले १६ रनको योगदान दिए ।

रुपन्देहीका सुजन रानाभाटले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै १० ओभरमा ३ मेडन राखी २४ रन खर्चेर ४ विकेट लिए पनि टोलीलाई जित दिलाउन भने सकेनन् ।

८ ओभरमा २ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिएका केशव रायमाझी म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिताअन्तर्गत आइतबार न्यु होराइजन स्पोर्ट्स क्लब र पोखरा क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।

स्टार क्रिकेट एकेडेमीको आयोजनामा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले आफ्ना दिवंगत पिताको सम्झनामा हरेक वर्ष नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ उक्त प्रतियोगिता सञ्चालन गर्दै आएका छन् । हाल जारी प्रतियोगिता सातौँ संस्करणको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?