© 2026
बुटवल ।
नेपाली कला क्षेत्रकी सफल गायिका एलिना चौहानले लामो समयको प्रेमपछि बिहे गरिन् । तर त्यो बिहे एक वर्ष पनि टिकेन ।
उनीहरूले सम्बन्धलाई टुङ्गाएर आ–आफ्नो बाटो लागे । यसरी छोटो समयमा नै सम्बन्ध सकिन्छ भन्ने कहीँ कतै लागेको भए सम्बन्ध जोड्ने नै थिएनन् होला । तर जीवन उनीहरूले साेंचे भन्दा फरक भयो ।
त्यसै गरी केही दिनअघि सामाजिक सञ्जालभरि योगेन्द्र भाट र रस्मी पनेरुको सम्बन्धलाई लिएर चर्चा र बहस भएको थियो । प्रेमपछिको विवाह र त्यसपछि विदेशको यात्रा, त्यहाँ पुगेपछिको सम्बन्धमा आएको दरार सामान्यतया देख्दा यस्तै देखिन्थ्यो । तर त्यसभित्रको पिडा र छटपटी धेरै छ । आफूले माया गरेर जीवन सजाउन रोजेकाहरू नै क्षणभरमा बदलिन सक्छन् ।
दुई मध्ये एकको गल्तीका कारण नै सम्बन्धमा ब्रेक लाग्छ । केही समय अगाडि रिनेस घिमिरे नामका युवाले प्रेममा धोका उपहार दियौ भन्दै आत्महत्या गरेको घटना पनि धेरैको मनबाट हट्न सकेको छैन । यी र यस्तै खालका घटनाका लागि पक्कै पनि यो दिवस होइन होला । दिवसले त माया ममता, संस्कार र सम्बन्धलाई बलियो बनाउन सक्नुपर्छ ।
अझै त्यो भन्दा पनि खतरनाक त किशोर उमेरमा हुने अन्धभक्त प्रेम जहाँ उनीहरूले माया विश्वास भन्दा पनि आकर्षणलाई मात्र देख्ने गर्दछन् । यो समयमा आफूले चाहेको कुरा प्राप्त हुन नसक्दा धेरैको ज्यान गएका उदाहरणहरू छन् ।
आफ्नो स्वार्थ पूरा गर्नका लागि पनि प्रेमको नाटक गर्नेहरू पनि धेरै छन् । खासमा प्रेम के हो ? यसको महत्त्वलाई बुझ्न र सम्मानजनक प्रेम गर्न सक्दा नै यसको अन्त्य छिटो हुन सक्छ ।
भगवानको प्रेम कथाहरू यति धेरै अमर छन् कि भगवान् कृष्णकी राधा प्रेमिका मात्रै हुन् तर पनि उनीहरूलाई राधाकृष्णको जोडी भनिन्छ । अजर र अमर प्रेमीहरूका जोडी धेरै छन् । जहाँ माया प्रेम, सद्भाव र सम्मान हुन्छ । तर आजभोलि त अरूलाई देखाउन जबरजस्ती प्रेम गर्नेहरूको सङ्ख्या धेरै हुन थालेको छ । यसले सानो शङ्का मात्रै उत्पन्न भयो भने हत्या जीवनको अन्त्य गर्न सम्म पनि पछि नपर्नेहरू छन् ।
देखावटी प्रेम सम्बन्धले पनि दिगोपन दिन सक्दैन । प्रत्येक वर्ष फेब्रुअरी १४ मा एक आपसमा प्रेम साटासाट गरेर प्रेम दिवस मनाउने चलन छ । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।
तेस्रो शताब्दीमा एक रोममा क्लोडियस नामक एक शासक थिए । उनको भनाइ थियो, ‘जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ ।’ उनले आफ्नो राज्यमा कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न नपाउने उद्घोष गरिदिए । तर, भ्यालेन्टाइनलाई क्लोडियसको कुरा मन परेन ।
उनले फरमानको विरोध मात्रै गरेनन् सन्त भ्यालेन्टाइनले सयौँ अधिकारी र सैनिकको विवाह समेत गराइदिए । यसपछि उनलाई फाँसीको सजाए सुनाएपछि उनले प्रेमपूर्वक फूल उपहार पठाएका थिए । यसै सम्झनामा मानिसहरूले प्रणय दिवस मनाउन सुरु गरेका हुन् ।
यो दिवस मनाउने प्रेमी–प्रेमीकाले एक अर्कालाई फूल, कार्ड, चकलेट उपहार साटासाट गर्ने गर्छन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसलाई आफूलाई मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने दिनका रूपमा लिने गरिन्छ ।
तर यो दिवसलाई सही रूपमा लिन नसक्दा धेरै दुर्घटनाहरू पनि आएका छन् । दिवसलाई दिवसका रूपमा मनाउँदै प्रत्येक दिनलाई प्रेम दिवस बनाउन सके समाजमा हुने हत्या हिंसा कम अवश्य हुन्छ ।