© 2026
नेपालको संविधान २०७२ ले स्वास्थ्य सेवालाई मौलिक हक अन्तर्गत समावेश गरेको छ ।
सङ्घ, प्रदेश र स्थानीय सरकारमार्फत स्वास्थ्य सेवाको पहुँच बिस्तार गर्ने नीति अघि बढाइएको छ । यही नीतिअनुरूप रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको वडा स्तरमा पनि आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू स्थापना गरिएको छ । नागरिकलाई सामान्य उपचार, खोप, मातृ तथा शिशु स्वास्थ्य, परिवार नियोजनलगायतका सेवा घरदैलो नजिकै उपलब्ध गराउने उद्देश्यले यी सेवा केन्द्रहरू स्थापना गरिएको हो । तर, यी स्वास्थ्य केन्द्रहरूमा भने अपेक्षित रूपमा सेवाग्राहीले सेवा लिएका छैनन् ।
वडा तहमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा रहेकै अवस्थामा पनि भैरहवास्थित जिल्ला अस्पताल (भीम अस्पताल) लगायत यहाँका निजी क्लिनिक तथा ठुला अस्पतालहरूमा बिरामीको भिड घट्न सकेको छैन । त्यसको साटो दैनिक सयौँ बिरामी उपचारका लागि भीम अस्पताल लगायत यहाँका ठुला अस्पताल र क्लिनिकहरूमै पुग्ने गरेका छन् । सरकारी अस्पतालमा पनि सीमित जनशक्ति र स्रोतसाधन हुँदा यहाँ बिरामीको चाप बढ्ने बित्तिकै निश्चय पनि चुनौती थपिन्छ ।
१३ वटा वडाहरू रहेको सिद्धार्थनगर नगरपालिकामा हाल ९ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा छन् । वडा नम्बर १, ३, ४, ५, ६, ७, ९, १० र ११ मा रहेका केन्द्रहरूबाट सेवा दिइँदै आएको छ । वडा नम्बर २, ८, १२ र १३ मा अझै स्वास्थ्य केन्द्र स्थापना हुन सकेका छैनन् । सञ्चालनमा रहेका ती केन्द्रबाट दैनिक औसत १५ देखि १८ जनासम्म सेवाग्राहीले सेवा लिँदै आएका छन् ।
सिद्धार्थनगर नगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख माधव प्रसाद ज्ञवालीका अनुसार आधारभूत स्वास्थ्य केन्द्रमार्फत रोकथाममूलक, प्रवद्र्धनात्मक र उपचारात्मक सेवा निःशुल्क प्रदान गरिँदै आएको छ । परिवार नियोजन, खोप, क्षयरोग, कुष्ठरोग, मलेरिया, पोषण, सुरक्षित मातृत्व, स्वास्थ्य शिक्षा तथा सामान्य उपचार सेवा यी केन्द्रका मुख्य कार्यक्रम हुन् ।
हरेक स्वास्थ्य केन्द्रमा सामान्यतया दुईजना प्राविधिक कर्मचारी (अहेब र अनमी) र एकजना कार्यालय सहयोगी गरी तीनजनाले सेवा दिइरहेका छन् । यद्यपि वडा नम्बर ५ मा भने अनमी र कार्यालय सहयोगी गरी दुईजनाले मात्र सेवा दिइरहेका छन् । ती सबै कर्मचारी अस्थायी करार दरबन्दीमा कार्यरत छन् । सार्वजनिक बिदाबाहेक बिहान १० बजेदेखि साँझ ४–५ बजेसम्म यहाँबाट सेवा प्रदान हुँदै आएको छ ।
नगरपालिकाले समुदायस्तरमै स्वास्थ्य सचेतना बढाउने उद्देश्यले आमा समूह, विद्यालय र समुदायमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रत्येक महिनाको ११ वा १२ गते नियमित खोप सेवा प्रदान हुँदै आएको छ । त्यस्तै परिवार नियोजन, क्षयरोग, कुष्ठरोग तथा सामान्य चिकित्सा सेवा दैनिकरूपमा उपलब्ध छ । मलेरिया रोगको शंका देखिएमा घरमै पुगेर सेवा दिने, समुदायलाई सचेत बनाउने कार्यक्रमसमेत सञ्चालनमा छ ।
रक्तचाप परीक्षण, शरीरको तौल नाप्ने लगायत सामान्य उपचारका लागि अस्पताल जान नपर्ने अस्पतालसम्म पुग्न नपर्ने स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ज्ञवालीले बताए । सामान्य उपचार सेवाका लागि नजिकको स्वास्थ्य केन्द्रमा पुग्न उनले आग्रह गरे । ‘वडास्तरमै पुगेर सामान्य उपचार सेवा लिन सकिए अस्पतालहरूमा बिरामीको चाप पनि घट्छ,’ उनले भने ।
पोषण कार्यक्रम अन्तर्गत ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधी वितरण, घरघरमा पुगेर तौल जाँच, (स्क्रिनिङ) अभियान सञ्चालन भइरहेको छ । सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत गर्भवती जाँच, सुत्केरीपछि तेस्रो दिन र ७ देखि १४ दिनभित्र थप एकपटक गरी जम्मा दुईपटक घरमै पुगेर आमा तथा नवजात शिशुको स्वास्थ्य परीक्षण गरिदै आएको छ । ज्वरो, रुघाखोकी, पखाला, प्रेसर जाँच, घाउचोट, दाँत दुख्ने, मुख सुन्निने जस्ता सामान्य उपचार सेवा पनि केन्द्रबाटै दिइन्छ ।
स्वास्थ्य केन्द्रमा हाल ८९ किसिमका औषधि सूचीमा रहे पनि खोप, क्षयरोग, कुष्ठरोग, मलेरिया र परिवार नियोजनबाहेकका ५१ किसिमका औषधी उपलब्ध छन् । सिद्धार्थनगरका अधिकांश वडा बजार क्षेत्रमै पर्छन् । जिल्ला सदरमुकाम भएकाले यहाँ जिल्ला अस्पताल, निजी अस्पताल तथा क्लिनिकहरूको संख्या पनि उल्लेख्य छ । विशेषज्ञ सेवा लिनुपरे सरकारी भन्दा केही खर्चिलो भए पनि ठुला अस्पतालमै जाने प्रवृत्ति छ ।
सरकारी स्वास्थ्य केन्द्रप्रति विश्वासको कमी र ‘ठूलो अस्पतालमै राम्रो उपचार हुन्छ’ भन्ने मानसिकता पनि स्वास्थ्य केन्द्र उपयोग नबढ्नुको प्रमुख कारण मानिन्छ । तथ्यांकले पनि यो कुराको पुष्टी गर्छ । नगर स्वास्थ्य प्रणालीमा डाटा इन्ट्री भएका आधारभूत स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र नगरभित्र सञ्चालित करिब ४० वटा अस्पतालबाट गत आर्थिक वर्ष २०८१/०८२ मा कुल ४ लाख ८२ हजार ८ सय ८९ जनाले स्वास्थ्य सेवा लिएका छन् । तर, तीमध्ये नगरपालिकाले सञ्चालन गरेका आधारभूत स्वास्थ्य केन्द्रबाट सेवा लिनेको संख्या २१ हजार ६ सय ९६ मात्र छ ।
स्थानीय तहले स्वास्थ्य सेवा पहुँच बिस्तारमा लगानी बढाए पनि सेवा उपयोग र विश्वास अभिवृद्धि नहुँदा ठुला अस्पतालमा बिरामीको भीड यथावत् देखिन्छ । स्वास्थ्य केन्द्रको सेवा गुणस्तर, जनशक्ति, औषधि उपलब्धता र जनविश्वास एकैसाथ सुधार नगरेसम्म ‘घर नजिकै उपचार’ को अवधारणा व्यवहारमा पूर्णरूपमा लागू हुन कठिन देखिन्छ ।
भीम अस्पतालमा दैनिक पाँच सय जनासम्म बिरामीले ओपिडी सेवा लिने गरेको अस्पताल प्रमुख डा. वर्षा थापाले जानकारी दिइन् । अस्पतालका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा यहाँबाट १ लाख २० हजार भन्दा बढीले बहिरंग (ओपीडी) सेवा लिएका थिए । त्यस्तै आ.व. २०८०/८१ मा १ लाख १२ हजार ८ सय ४५, आ.व. २०७९/८० मा मा ९० हजार र आ.व. २०७८/७९ मा ६३ हजारले ओपीडी सेवा लिएका थिए ।
विगत ४ वर्षको तथ्यांकले सेवाग्राहीको संख्या क्रमश बढेको देखिन्छ । यसले प्राथमिक तहको सेवा विस्तार भए पनि अस्पतालको भार घट्न नसकेको स्पष्ट हुन्छ । यहाँका ठुला अस्पतालहरूमा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज र सिद्धार्थनगर सिटी हस्पिटलमा पनि बिरामीको चाप नै छ । भीम अस्पतालमा आ.व. २०७७÷०७८ सालदेखि स्वास्थ्य बीमा सुरुवात गरिएको थियो ।
स्वास्थ्य बीमा, विशेषज्ञ सेवा, २४ सै घण्टा सेवा लगायतका कारण पनि अस्पतालमा सेवाग्राहीको घुँइचो हुने गरेको अस्पतालले जनाएको छ । सामान्य स्वास्थ्य उपचारका लागि पनि अस्पतालमै जानबाट रोक्नका लागि वडास्थित आधारभूत स्वास्थ्य केन्द्रहरूमा पाइने सेवाहरूको बारेमा नागरिकलाई सूचना पु¥याउनुपर्ने र सरकारी अस्पतालमा विश्वास दिलाउनका लागि सम्बन्धित निकायले बुझाउन सक्नुपर्ने अस्पताल प्रमुख डा. थापाको भनाइ छ । ‘यसो गर्न सके सामान्य उपचारकै लागि भीम अस्पतालमा आउने बिरामीले स्थानीय स्वास्थ्य केन्द्रबाट उपचार लिने अवस्था सिर्जना हुने र अस्पतालमा भीड घट्ने थियो,’ उनले भने ।
अस्पतालमा र स्वास्थ्य केन्द्रमा के का लागि जाने भन्ने सूचना सम्प्रेषण गर्न सके सेवाग्राही र सेवा प्रदायक संस्था दुवैलाई सहज हुने डा. थापाको भनाइ छ । सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.मा दैनिक १ सयजनाले ओपिडी सेवा लिने गरेको प्रबन्ध निर्देशक अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार सामान्य किसिमका बिरामीभन्दा पनि विशेषज्ञ सेवा लिनका लागि बिरामी यहाँ आउने गरेका छन् ।
जनमानसमा अझै पनि स्वास्थ्यको विषयमा अस्पतालमै जाऔं र विशेषज्ञ सेवा लिऔं भन्ने धारणाले बिरामीहरू आएको बुझिन्छ ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडा सदस्य बसन्त भट्टराईले वडामार्फत विभिन्न सचेतना कार्यक्रम गरिएको र आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट प्रदान हुने सेवाका बारेमा वडाबासीलाई जानकारी नभएको भन्ने कुरामा सत्यता नरहेको बताए । उनले वडा नम्बर ९ को ६ वटा क्षेत्रमा (प्रतिक्षेत्रमा) २–२ जनाको दरले १२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरू घरदैलोमा खटिरहेको बताए ।
ज्येष्ठ नागरिकलाई वर्षको एकपटक घरमै बसेर स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइएको उनले जानकारी दिए । समयसमयमा विभिन्न सङ्घ–संस्थाहरूले वडा स्तरमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको उनले बताए ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र सिद्धार्थनगर ९ को इञ्चार्ज सिनियर अनमी निरीक्षक सरिता पाण्डेका अनुसार औसतमा दैनिक ३५ जना सेवाग्राही यहाँ आउने गरेका छन् । यहाँबाट विशेष गरी निःशुल्क औषधी वितरण, परामर्श, रिफर, प्राथमिक उपचार सेवा, घरभेट कार्यक्रम बढी गरिएको जानकारी दिइन् ।
आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट बालबालिका खोप, परिवार योजना, गर्भवती, सुत्केरी जाँच, बालबालिकाको तौल वृद्धि अनुगमन जाँच, जेष्ठ नागरिक सेवा लगायतका सेवा उपलब्ध गराइएको सिद्धार्थनगर नगरपालिलका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताए ।
सामान्य स्वास्थ्य समस्या र परामर्शका लागि अस्पताल÷क्लिनिकमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न र वडाबासीलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको उनले बताए । उनले स्वास्थ्य केन्द्रबाट वडा/नगरबासी मात्रै नभइ अन्य पालिकाबासीले पनि सेवा लिन सक्ने बताए । आधारभूत स्वास्थ्य सम्बन्धी सम्पूर्ण सेवा केन्द्रबाटै दिने व्यवस्था रहेको उनको भनाइ छ ।
भैरहवामा अस्पतालका साथै धेरै निजी क्लिनिकहरू छन् । धेरैले छोटो समयमै परीक्षण, निजी चिकित्सकको पहुँच, सुविधा/सुविधाजनक सेवा, विदाको दिन पनि सेवा, जस्ता कारणले बिरामी निजी स्वास्थ्य संस्थामा जाने गरेका छन् । ‘छोटो समय, छिटो उपचार’ यसले पनि सरकारी अस्पतालको भीड घट्न नदिएको छ, किनकि निजी सेवाले ‘छोटो समय, छिटो उपचार’ भन्ने बुझाइ रहेको देखिन्छ ।
सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले प्राथमिक र सामान्य उपचारका लागि वडास्तरीय आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना भएको बताइन् । उनले कार्यालय समयमा मात्र सेवा प्रवाह हुने कारणले पनि बिरामी अस्पतालमा पुगेको हुन सक्ने बताइन् ।
महिला स्वास्थ्य स्वयंसेविकाहरूले आधारभूत स्वास्थ्य सेवा केन्द्रमार्फत खोप लगाउने, सुत्केरी महिलालाई परामर्श लगायतका सेवा घरघर पुगेर प्रदान गरिरहेको उनले बताइन् । सार्वजनिक विदाको दिन बन्द हुनु, खुलेको दिन पनि कार्यालय समयमा मात्र उपचार सेवा उपलब्ध हुनु, विशेषज्ञ सेवा प्रदान नहुनु, जनशक्तिको अभाव औषधिको अभाव (सरकारी नियम अनुसार टेण्डर प्रक्रिया र औषधी आउनमा ढिलाइ भएकोले कारणले समयमै स्वास्थ्य केन्द्रमा औषधि पुग्न नसक्नु) वडा स्तरमा रहेको आधारभूत स्वास्थ्य केन्द्रप्रति जनतालाई विश्वस्त नगर्नुका कारण सेवाग्राहीहरू अपेक्षित रूपमा यहाँ बिरामी पुग्न सकेका छैनन् । जसका कारण अस्पतालमा बिरामीको चाप बढ्दो क्रममा छ ।
सिद्धार्थनगर नगरपालिका–३ का गोपाल भण्डारीले वडा स्तरमा सञ्चालित आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट प्रदान हुने सेवाबारे वडा तहमा सबै नागरिकलाई जानकारी गराउनुपर्ने बताए । यसो गर्न सकिए अस्पतालमा बिरामीको चाप घट्ने भण्डारीले बताए ।