© 2026
बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाउने भएको छ। स्थापना दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले बुटवल नगर क्षेत्रमा सप्ताहव्यापी सरसफाइ कार्यक्रम आयोजना गरेको थियो।
निर्वाचन आचारसंहिताका कारण संक्षिप्त कार्यक्रमको आयोजना गरी मनाउने नगर प्रमुख खेलराज पाण्डेयले बताए। स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले उपमहानगरपालिकाले अघिल्ला वर्षहरूमा हासिल गरेका उपलब्धिहरू समेत स्थापना दिवसको दिन सार्वजनिक गर्ने बताए।
उनका अनुसार स्थापना दिवसलाई उत्सवका रूपमा मनाउने लक्ष्यसहित “उज्यालो बुटवल” अभियान अन्तर्गत शहरका विभिन्न चोक–चोक तथा मुख्य सडकहरूमा एक हप्तासम्म सरसफाइ कार्यक्रम सञ्चालन गरी सफलतापूर्वक सम्पन्न गरिएको छ। यस अभियानले शहरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने नगरको दीर्घकालीन लक्ष्यलाई थप मजबुत बनाएको उनले बताए।
नगर प्रमुख पाण्डेले बुटवल ऐतिहासिक, सांस्कृतिक तथा सभ्यताको धरोहर बोकेको शहर भएको उल्लेख गर्दै नेपाली वीर पुर्खाहरूले जित हासिल गरेको ऐतिहासिक स्थल जितगढी किल्ला तथा पुरानो बटौली क्षेत्रका ऐतिहासिक सम्पदाहरू संरक्षणलाई प्राथमिकतामा राखिएको बताए। उनले बुटवललाई शिक्षा र स्वास्थ्य र खेल क्षेत्रको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित योजनाबद्ध रूपमा काम भइरहेको स्पष्ट पारे।
नगर प्रमुख पाण्डेले बुटवलमा रहेका धार्मिक तथा ऐतिहासिक सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गर्दै पर्यटन विकासमार्फत शहरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने तयारी भइरहेको बताए।
उज्यालो शहर निर्माण अभियान अन्तर्गत सरसफाइ, हाईमास्ट बत्ती जडान तथा पूर्वाधार विकासका कामहरू प्रभावकारी रूपमा अगाडि बढाइएको उनले जानकारी दिए। साथै, निर्वाचनको नजिकको अवस्थाका कारण विगतका वर्षहरू जस्तो भव्य रूपमा स्थापना दिवस मनाउन नसकिए पनि उपलब्धिमूलक र सन्देशमूलक कार्यक्रमहरू आयोजना गरिएको उनको भनाइ थियो।
सोहि अवसरमा उपप्रमुख साबित्रा आर्यालले शिक्षा, स्वास्थ्य, रोजगारी, महिला उद्यमशीलता तथा महिला सशक्तीकरणका क्षेत्रमा नगरपालिकाले विशेष प्राथमिकता दिँदै आएको बताइन्। महिलाहरू आर्थिक रूपमा सक्षम भए मात्रै समग्र नगर विकासको लक्ष्य हासिल गर्न सकिने भन्दै उनले महिला लक्षित कार्यक्रमहरू अझ प्रभावकारी रूपमा सञ्चालन गरिने बताइन्।
साथै, शिक्षाको गुणस्तर सुधार तथा पहुँच विस्तारलाई नगरको प्रमुख प्राथमिकतामा राखिएको उनले उल्लेख गरिन्। उपमहानगरपालिकाले पुराना ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षणलाई जोड दिँदै आवश्यक बजेट समेत व्यवस्था गरी संरक्षण तथा प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गर्दै आएको अर्यालले बताईन ।
स्थापना दिवसले बुटवलको विकास यात्रा, उपलब्धि तथा भावी योजना समीक्षा गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिए ।