© 2026
बर्दघाट ।
तिलोत्तमा नगरपालिकाको एक्स्ट्राटेक क्रिकेट रङ्गशालामा शुक्रबारदेखि सुरु भएको अन्डर–१९ सातौँ खड्क प्रसाद गौचन मेमोरियल एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा न्यु होराइजन स्पोर्टस क्लब विजयी भएको छ ।
होराइजनले तिलोत्तमा क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको तिलोत्तमाले निर्धारित ५० ओभरमा १४१ रनको सामान्य योगफल तयार पारेको थियो । उसका लागि सन्दीप यादवले सर्वाधिक ३५ रन बनाए । अमन बोहोराले २२ तथा लक्ष्मण कुमालले १६ रनको योगदान दिए ।
तिलोत्तमालाई कम स्कोरमा समेट्ने क्रममा होराइजनका शुभम खनालले उत्कृष्ट बलिङ गर्दै ८ ओभरमा २ मेडन राखी २० रन खर्चेर ५ विकेट लिए । दर्श सुनारले २ विकेट लिए भने फैजान मुसलमान र सुरज खड्काले समान १–१ विकेट हात पारे ।
१४२ रनको लक्ष्य पछ्याएको होराइजनले २४.५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । उसका लागि दर्श सुनारले ५६ बलमा अविजित ५२ रन बनाउँदै अर्धशतकीय पारी खेले । सचिन जी.सी. ले २१ तथा सुरज खड्काले २० रन जोडे ।
तिलोत्तमाका सागर भण्डारीले ३ विकेट लिए भने लक्ष्मण कुमालले १ विकेट लिए । उत्कृष्ट प्रदर्शन गरेका होराइजनका दर्श सुनार ‘म्यान अफ दि म्याच’ घोषित भए ।
प्रतियोगिताअन्तर्गत शनिबार वेष्टन क्रिकेट एकेडेमी र रुपन्देही क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।