© 2026
‘‘रेडियोले चुनावको नतिजा भन्न थाल्यो। अधिराज्यभरको नतिजा आउन २४ घण्टा लाग्यो। बुबा कत्ति पनि हलचल नगरी घरको बार्दलीमा बसेर समाचार सुनिरहनुभएको थियो। उहाँ एकदम चिन्तित देखिन थाल्नुभयो। के गरुँ, कसो गरुँ भएर छटपटिदै हुनुहुन्थ्यो। एक्कासी केही बज्रेको आवाज आयो। बाहिर निस्केर हेर्दा त आगनमा पछारिएर फुटेको रेडियो थियो। म निकै बेरसम्म त्यो विक्षत भएको रेडियो हेरेको हेर्यै भएँ। घरका अरुले पनि दैलोमा निस्केर आश्चर्य मानेर हेरिरहे। यसरी २०५१ सालको आम निर्वाचनको नतिजा प्रशारणसँगै हाम्रो घरको रेडियो सेटले बिदा लियो।’’
कैलाश राइले लेखेको ‘एउटा रेडियोको अन्त’ शिर्षकको संस्मरणात्मक लेखको यो एउटा अंश हो । २०६२ सालमा मार्टिन चौतारीले प्रकाशन गरेको ‘रेडियोसँग हुर्कंदाः तीन पुस्ते नेपालीको अनुभव’ मा यो लेख समावेश छ।
संस्मरण लेखमा भनिएअनुसार कैलाशका बुबा राजनीतिमा निकै चासो राख्थे। २०५१ को चुनावमा आफ्नो उम्मेद्वारलाई जिताउन सक्रियतापूर्वक लागेका थिए। चुनाव सम्पन्न भएपछि नतिजाको प्रतिक्षामा भएकाले रेडियो सुनिरहेका थिए। माथि उल्लेखित यी कुराले विगतमा चुनावको बेला रेडियोको महत्व र प्रभाव कस्तो थियो भन्ने जान्न सकिन्छ। ६० को दशक अगाडि अहिले जस्तो हात हातमा मोबाइल हुँदैन थियो। पत्रिकाहरु पनि सिमित घर र कार्यालयमा पुग्थे।
शहरबजारमा समेत सबैको टेलिभिजन सेट थिएन। छिटो समाचार थाहा पाउने माध्यम रेडियो नै थियो। पञ्चायतको चुनाव र त्यसपछिका २०४८, २०५१ र २०५६ को चुनावी गतिविधि र नतिजा थाहा पाउन रेडियोकै भर पर्नुपर्दथ्यो। अझ रोचक त, गाउँमा सबैको घरमा रेडियो पनि हुँदैन थियो।
पाल्पाको सम्पदा प्रतिष्ठानको संग्रहालयमा राखिएका पूराना रेडियो सेटसहितका सामग्री । तस्वीर: सीपी खनाल
रेडियो भएको घरमा अरु छिमेकीहरु पनि झुम्मिन्थे। पाल्पाको तिनाउ गाउँपालिका (साविक दोभान गाविस) झुम्सामा त्यसबेला केही सिमित घरमा मात्र रेडियो थियो।
अहिले अधिवक्ता समेत रहेका झुम्साका महेन्द्र पाण्डेको घरमा बज्ने रेडियो सुन्न वर परका छिमेकी पनि आउने गर्दथे।
‘अरु बेला दिनभर नआउने मान्छे रेडियो नेपालको प्रशारण चुनावको बेला भने चौबिसै घण्टा बज्थ्यो। एक एक घण्टामा चुनावी नतिजाको बुलेटिन प्रसारण हुन्थ्यो।’–उनले भने–‘सबैको घरमा रेडियो हुँदैन थियो। छरछिमेक पनि जम्मा भएर चुनावको खबर सुनिन्थ्यो। चुनावमा कहाँ कसले जित्यो कसले हार्यो भन्ने चर्चा हुन्थ्यो।’
राष्ट्रिय पञ्चायतको चुनाबदेखि २०५६ सम्मका चुनाबका नतिजा रेडियोमै सुनेर थाहा पाउने गरेको पाण्डे बताउँछन्। लाहुर (भारत)बाट आएकाहरुले रेडियो लिएर आउँथे। गाउँका अरु कतिपयले लाहुरेले ल्याएको रेडियो किन्थे।

अग्रज पत्रकार तथा रेडियो लुम्बिनीका संस्थापक अध्यक्ष अर्जुन ज्ञवालीले पनि चुनावका गतिविधिहरु रेडियोबाटै थाहा पाउने गर्दथे। ‘त्यसबेला रेडियोबाट बढी चासो राखिन्थ्यो। रेडियो नेपालले सरकारको बढी पक्षपोषण गर्दथ्यो। त्यसैले दिनमा एक पटक बीबीसी पनि सुनिन्थ्यो।’–उनले भने–‘रेडियो सुन्दा गिरिजा र मनमोहनले जित्छन् नै भन्ने थियो। अरु उम्मेद्वारले कसले कति जित्छ भन्ने चासो हुन्थ्यो।’
रुपन्देहीको चुनावको नतिजा थाहा पाउन कहिले ल्याण्डलाइनबाट फोन गर्ने र मतगणना स्थलसम्म पुग्ने गरेको ज्ञवालीले सुनाए।
कान्ति माध्यमिक बुटवलका प्रधानाध्यापक गोविन्द ज्ञवालीले गुल्मीको हाल रुरु गाउँपालिका (साविक बम्घा गाविस)मा चुनाव घोषणा भएदेखि नै चासो पूर्वक रेडियो सुन्ने गरेको बताए ।
“कहाँ को कसले उम्मेद्वारी दिए। कहाँ के भइरहेको छ भन्नेदेखि लिएर कसको कति मत आयो भन्नेसम्मका कुरा थाह पाउन रेडियो नै सुन्नुपर्थ्यो।”–उनले भने–“रेडियोबाट आफ्नो पक्षकाले जितेको थाहा पाउने बित्तिकै र्याली र जुलुस निकालिहाल्थे।”
बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले गरेको फोटो तथा सञ्चार प्रदर्शनीमा राखिएको रेडियो सेटसहितका सामग्री । तस्वीर: सीपी खनाल
त्यसबेला लाहुरेहरुले जापानिज पानाशोनिक रेडियो लिएर घर आउँथे। हामीले एक हजारमा एक हजार तिरेर किन्थ्यौं। फल्नाको घर पानाशोनिक रेडियो छ भन्दा छुट्टै चर्चा हुन्थ्यो,–ज्ञवालीले सम्झे।
मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष माधब नेपालले चुनावको बेला रेडियो निकै सुन्ने गरेको बताए। “चुनावको मत गणना भइरहेको बेला कतिखेर चुनावी समाचार आउँछ भनेर पर्खेर बस्थ्यौं।”–उनले भने–“आफूले मत दिएको उम्मेद्वारले जित्दा निकै खुशी लाग्थ्यो। त्यसरी हार्दा बेस्सरी दुःखी पनि भइयो।”
५०को दशकको मध्यतिर रेडियो नेपालको एकाधिकार तोडियो। शहर बजारहरुमा एफ एम रेडियोहरु खुले। २०६४ र २०७० को चुनावको बेलाको खबर सम्बाहक एफ एम रेडियोहरु नै थिए। एफ एम रेडियोबाटै छिन छिनमा चुनावी खबर थाहा हुन्थ्यो।
टेलिभिजन हेर्नेहरुले पनि स्क्रिनमा चुनावी अपडेटहरु पाइरहन्थे। ७० को दशकसँगै हात हातमा स्मार्ट मोबाइल फोन आयो। अहिले चुनावी समाचार र नतिजा हातैमा भएको मोबाइल फोनमा हेर्न सकिन्छ । श्रोताहरु केही कम भएपनि समाजमा केही मात्रामा रेडियो प्रभाव कायमै छ।