Butwal Today

सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

१ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-
काठमाडौँ ।
 प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनको समयमा देखापर्न सक्ने चुनौतीको समयमै सूचना सङ्कलन र सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै परिचालित हुन निर्देशन दिएका छन् ।
‘आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयवस्तुमा’ आज भर्चुअल माध्यमबाट प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उनले आसन्न निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा लिई निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन आग्रह गरे ।
“निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने एवम् अवाञ्छित गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सूचना सङ्कलनलाई उच्च प्राथमिकतामा राखी भरपर्दो सुरक्षा संयन्त्र परिचालित हुनुस्”, महानिरीक्षक कार्कीले भने । उनले जुनसुकै निर्वाचन क्षेत्रमा हुनसक्ने अनपेक्षित घटनाको सम्बोधनको लागि सूचना सङ्कलन तथा विश्लेषण एवम् पूर्व अभ्यासहरूलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरू सदैव तयारी हालतमा रहनुपर्नेमा जोड दिए ।
सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूसँग शान्ति सुरक्षाको अवस्था एवम् आसन्न निर्वाचनको तयारी लगायतका विषयवस्तुसम्बन्धी जानकारी लिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?