© 2026
रुपन्देही ।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा सिद्धार्थ सञ्जाल रुपन्देहीले रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा युवाहरूले तीखा प्रश्नहरू सोधे भने उम्मेदवारहरूले आफ्नो एजेन्डा प्रस्तुत गर्दै जनताको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अन्तरक्रियामा विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारहरूलाई लक्षित गर्दै प्रश्न सोधिएको थियो । युवाहरूले उम्मेदवारको क्षेत्रीय प्राथमिकता, पार्टी एजेन्डा, र व्यक्तिगत प्रतिबद्धताबारे स्पष्ट उत्तर मागेका थिए ।
उम्मेदवारहरूले स्वास्थ्य सेवा सुधार, सरसफाइ व्यवस्थापन, हराभरा रूपन्देही निर्माण, र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन मुख्य प्राथमिकतामा राख्ने बताएका छन् । साथै, स्थानीय रोजगार सिर्जना, पूर्वाधार विकास, सुशासन र युवापुस्ताको सहभागिता सुनिश्चित गर्ने योजना पनि प्रस्तुत गरे ।
कार्यक्रममा सहभागी युवाहरूले विकासका योजना केवल कागजमा सीमित नरहने गरी स्पष्ट कार्ययोजनाका साथ काम गर्न आग्रह गरेका छन् । उनीहरूले समानुपातिक उम्मेदवार छनोटमा पिछडिएको, गरिब तथा जनजाति समुदायलाई पर्याप्त प्रतिनिधित्व नदिइएको विषयमा पनि आलोचना गरेका थिए ।
साथै, स्थानीय नेताहरूको राजनीतिक स्थायित्व र जनताको अपेक्षा अनुसार खरो उत्रने क्षमता जस्ता विषयमा पनि प्रश्न उठाएका थिए । उम्मेदवारहरूले जवाफमा आफ्नो योजनालाई व्यवहारमै लागू गर्ने र जनताको चाहनाअनुसार खरो उत्रने प्रतिबद्धता दोहो¥याए । कार्यक्रममा उठेका सवालहरूले युवापुस्ताको राजनीतिक सचेतना र असन्तुष्टिलाई प्रष्ट देखाएको थियो ।
कार्यक्रमले मतदाता र उम्मेदवारबीच प्रत्यक्ष संवादको वातावरण सिर्जना गरेको छ । निर्वाचन नजिकिँदै जाँदा रुपन्देही क्षेत्र नं. ३ मा राजनीतिक बहस थप चर्किँदै गएको छ र मतदाताले आफ्नो निर्णय साक्षर र जानकारीपूर्ण ढंगले लिन सक्ने अपेक्षा गरिएको छ ।